उद्योगको पत्र पछि चिकित्सक संघले भन्यो, ‘सतप्रतिशत चित्र छाप्ने निर्देशिका कार्यान्वयन गर्नै पर्छ’
काठमाडौँ, २६ चैत । सुर्तीजन्य पदार्थको प्याकेटमा सत प्रतिशत भागमा चेतावनीमुलक स्वास्थ्य सन्देशयुक्त चित्र राख्ने निर्देशिका कार्यान्वयनमा पुनरावलोकन गर्नु भन्दै उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रालयले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई पत्र काटेको प्रति नेपाल चिकित्सक संघले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
संघका महासचिव डा सञ्जीव तिवारीले आज विज्ञप्ती जारी गर्दै उद्योग मन्त्रालयको पत्र प्रति गम्भीर ध्यानाकर्षण भएको बताएका हुन् ।
धूमपान तथा सुर्तीजन्य पदार्थको उपभोगले मुटुरोग, दम, मुख तथा फोक्सोको क्यान्सर जस्ता गम्भीर स्वास्थ्य समस्या उत्पन्न भई नेपालमा बर्षेनी हजारौँको संख्यामा ज्यान जाने गरेको तथ्य सार्वजनिक भईरहेको छ भन्दै विज्ञप्तीमा यसको प्रयोगलाई रोकी जोखिम घटाउने कदमको रुपमा आएको नयाँ निर्देशिका कार्यान्वयन गर्न माग गरिएको छ ।
संघले नेपालमा सुर्तीजन्य पदार्थमा लाग्ने कर दक्षिण एशियामै सबैभन्दा न्युन रहेको भन्दै यसमा बृद्धि गर्दै त्यसबाट आएको रकम स्वास्थ्य क्षेत्रको विकासमा उपयोग गर्न समेत सरकारलाई अनुरोध गरेको छ ।
उद्योग मन्त्रालयले गत १७ चैतमा स्वास्थ्यलाई पत्र लेखेर सत प्रतिशत चित्र छाप्ने व्यवस्था कार्यान्वयन गर्ने प्रक्रियालाई पुनरावलोकन गर्न भनेको थियो । सुर्तीजन्य पदार्थ नियन्त्रण सम्वन्धी अन्तर्राष्ट्रिय अभिसन्धी (एफसीटीसी)को हस्ताक्षरकर्ता तथा आफ्नै कानूनले समेत निषेध गरेको कुरालाई वेवास्ता गर्दै उद्योगले गैरकानूनी रुपमा स्वास्थ्यलाई पत्र काटेको हो ।
उद्योगको यो कदमको स्वास्थ्य सरोकारवाहरुले विरोध गर्दै आएका छन् ।
सम्पर्क इमेल : [email protected]