वायु भित्र गुम्सिएको जनस्वास्थ्य

काठमाडौं उपत्यकासँगै नेपालको वायुप्रदूषणको अवस्था यति बेला चिन्ताजनक अवस्थामा पुगेको छ। विशेष गरि काठमाडौं उपत्यकाका बासिन्दाहरूले शारीरिक रुपमा नै असजिलो र बिरामीपनको महसुस गरिरहेका छन्।

आँखा पोल्ने, आँखा चिलाउने, बिझाउने, रातो हुने र छाला चिलाउने समस्याहरू दिनानुदिन बढिरहेका छन्। यसले दीर्घकालीन रुपमा गम्भीर खालको जनस्वास्थ्य समस्या निम्त्याउन सक्दछ।

प्रदूषण भनेको सामान्य भन्दा बढी मात्रामा मानव तथा जीवजन्तुहरूको लागि हानिकारक वातावरणीय तत्वहरुको उपस्थिति हुनु हो।यस्ता प्रदूषणका तत्वहरुमा ठोस, तरल र ग्यास तिनै प्रकारको हुनसक्छन।

पछिल्लो एक सातामा काठमाडौं उपत्यकामा बढ्दो वायु प्रदूषणका कारण जनजीवन प्रभावित बन्दै गएको देखिन्छ। विशेष गरि बालबालिकाहरु, ज्येष्ठ नागरिकहरु तथा स्वासप्रस्वासजन्य रोगबाट ग्रसित मानिसहरु वायुप्रदूषणबाट हुने असरको उच्च जोखिममा रहने गर्दछन। तथापी यो एक सातामा सबै उमेर समूहका नागरिकहरुले विभिन्न खालका स्वास्थ्य समस्याहरुको सामना गरिरहेका छन्।

वायुप्रदूषणको प्रमुख कारण स्थानीय रुपमा उत्सर्जन हुने प्रदूषणका स्रोतहरू हुन्। काठमाडौं उपत्यकाको कुल वायुप्रदूषणको करिब ६० प्रतिशत भन्दा बढी क्षेत्र सवारी साधनको धुवाँ तथा सडकबाट उत्पन्न हुने धुलोका कारण हो। पुराना तथा प्राविधिक रुपमा चलाउन नमिल्ने खालका इन्जिन भएका गाडीहरूको अत्यधिक प्रयोगले कार्बनमोनोअक्साइड र अन्य कणीय प्रदूषकहरू उत्सर्जन गर्छ।

पछिल्ला दशकहरूमा मोटरसाइकलहरूको संख्या तीव्र रूपमा वृद्धि भएको छ, जसले यो समस्या अझै बढाएको छ। अझै अस्तित्वमा रहेका परम्परागत इँटा उद्योगहरू र अन्य किसिमका घरेलु तथा साना उद्योगहरु पनि काठमाडौं उपत्यकाको प्रदूषणको ठूलो कारक हुन्। त्यसैगरि काठमाडौं उपत्यका आसपासको क्षेत्रमा रहेका जंगलहरुमा सुख्खायाममा लाग्ने डढेलोको कारण पनि वायुप्रदूषणलाई बढाईरहेको छ।

स्थानीय स्रोतहरूका अतिरिक्त, काठमाडौंको वायुप्रदूषणको अवस्थालाई क्षेत्रीय तथा अन्तरदेशीय रुपमा पनि प्रभाव पारेको पाइन्छ। विशेष गरी, भारतको इण्डो-ग्याङ्गेटिक (Indo- Gangetic) समथल भूभागमा कृषि अवशेषहरुलाई जलाइने प्रविधि र बढ्दो औद्योगिकरणको कारण पनि काठमाडौंको वायु गुणस्तरमा प्रत्यक्ष असर परेको पाइन्छ।

काठमाडौं उपत्यकाको वायुप्रदूषण किन यति बिघ्न गम्भीर छ ?

काठमाडौं उपत्यका र नेपालमा वायुप्रदूषणको स्तर अत्यधिक बढ्नुमा धेरै कारकहरू एकसाथ क्रियाशील छन्। काठमाडौं उपत्यकाको भौगोलिक बनावटको कारण प्रदूषणलाई अझै बढाउन सक्ने अनुमान गर्न सकिन्छ। चारैतिर पहाडहरूले घेरेको काठमाडौं उपत्यका कचौराको आकारमा रहेकोले यहाँको हावा प्राकृतिक रूपमा सहजै फैलिन सक्दैन जसले वायुप्रदूषणलाई बढावा दिएको पाइन्छ।

यस्तो भू-आकृति र मौसमीय प्रभावले गर्दा वायुमण्डलमा हानिकारक पदार्थहरू जम्मा हुने दर उच्च हुन्छ। यसको साथै, जाडोयाममा बारम्बार देखा पर्ने “तापमान उल्टोक्रम” (temperature inversion) को घटनाले समस्या झनै जटिल बनाउँछ।

यस अवस्थामा, जमिनको सतह नजिक हुने चिसो हावालाई माथिल्लो सतहमा हुने तातो हावाको तह (layer) ले छोप्छ जसको कारण वायुमण्डलको मिश्रण अवरुद्ध हुन्छ र प्रदूषणका कणहरू हावामा धेरै समय रहिरहन्छन्।

काठमाडौं उपत्यकाको वायुप्रदूषण मौसमअनुसार फरक फरक देखिन्छ। प्रदूषणको स्तर सामान्यतया डिसेम्बर-जनवरी देखि मार्च-अप्रिल महिनामा उच्च हुन्छ भने मनसुन याममा वर्षाले वायुमण्डलका प्रदूषणका तत्त्वहरूलाई सफा गरिदिने भएकोले हावाको गुणस्तरमा सुधार आउँछ।

तर, बदलिंदो मौसम प्रणाली, बढ्दो सहरीकरण तथा औद्योगिकरण, लामो समयसम्म रहने सुख्खा मौसम र वर्षाको कमीका कारण हावाको सापेक्षिक आर्द्रता कम हुनुले प्रदूषणको स्तर झन् खराब हुने सम्भावना बढेर जान्छ।अहिले यहि कारणले गर्दा उपत्यकामा समस्या देखिएको छ।

काठमाडौं उपत्यका र विश्वका अन्य अति प्रदुषित सहरहरुको तुलना:

नेपालमा मात्रै नभएर विश्वव्यापी रूपमा वायुप्रदूषण सम्बन्धी तथ्यांकहरू चिन्ताजनक अवस्थामा छन्। वायुप्रदूषणका कारण प्रत्येक वर्ष अनुमानित रूपमा करिब ७ मिलियन मानिसहरूको मृत्यु हुने गरेको छ।

विश्वभर १० मध्ये ९ जना मानिस प्रदूषित स्वास फेरिरहेको तथ्यांकले देखाएको छ। सन् २०२४ को पछिल्लो तथ्यांक अनुसार विश्वका केवल ४% भन्दा कम राष्ट्रहरूले WHO को हावाको गुणस्तर मापदण्ड पूरा गरेका छन्। लामो समयसम्म लगातार वायुप्रदूषणको सम्पर्कमा रहिरहँदा करिब ३ देखि ५ वर्षसम्म औसत आयु घटेको कुरा तथ्यांकले देखाएका छन् भने वायुप्रदूषणको असर चुरोट सेवनको भन्दा पनि गम्भीर देखिएको छ। यी तथ्यांकहरूले नेपाल र विश्वभरि वायुप्रदूषणले सिर्जना गरेको गम्भीर जनस्वास्थ्य संकटलाई स्पष्ट रूपमा चित्रण गर्छ।

काठमाडौंको वायुप्रदूषणको गम्भीरता बुझ्नका लागि यसलाई विश्वका अन्य अति प्रदूषित सहरहरूसँग तुलना गर्नु आवश्यक छ। हालैका विभिन्न रिपोर्टहरूका अनुसार, २०२४ / २०२५ मा विश्वभरका सबैभन्दा प्रदूषित सहरहरूमा भारतका बर्नीहाट, दिल्ली, मुल्लानपुर, फरीदाबाद, पाकिस्तानका लाहोर र डेरा इस्माइल खान, काजाखस्तानको कारागान्डा, बांग्लादेशको ढाका तथा चाडको एनडी जामेना सहरहरू उच्च स्थानमा छन्।

काठमाडौं उपत्यका विश्वका सबैभन्दा प्रदूषित सहरहरूको सूचीमा बारम्बार समावेश हुने गरेको छ । प्रदूषण अत्यधिक बढ्ने दिनहरूमा काठमाडौं विश्वकै सबैभन्दा प्रदूषित सहरको स्थानमा समेत पुग्ने गरेको छ। उदाहरणका लागि, बढी वायुप्रदूषणको मात्रा २७, मार्च २०२१ को बिहान ९:४५ बजे ३६६ माइक्रोग्राम प्रति घनमिटर मापन भएको थियो।

विभिन्न वायु गुणस्तर निगरानी केन्द्रहरूले संकलन गरेको पछिल्लो एक हप्ताको काठमाडौं उपत्यकाको विभिन्न स्थानको वायु गुणस्तर सूचांक (AQI) र त्यसको अवस्था:

बीबीसीले प्रस्तुत गरेको यहि अप्रिल ४ गतेको Nepal Air Quality Monitoring को अनुसार नेपालको पछिल्लो वायुप्रदूषणको अवस्था:

अहिले काठमाडौं उपत्यकाको हावा स्वास्थ्यलाई अत्यन्तै असर गर्ने खालको देखिएको छ।खुल्ला आँखा र मास्क बिना बाहिर सडकमा निस्किन सक्ने अवस्था छैन।दैनिक कार्यालय जान आउन देखि तरकारी बजारसम्म किनमेल गर्न जान नसक्ने परिस्थिति देखिएकोछ।

खुल्ला वातावरणमा निस्किने बित्तिकै आँखा पोल्ने, चिलाउने, रातो हुने तथा घाँटी खसखस गर्ने , खोकी लाग्ने, स्वास फेर्न गाह्रो हुने, टाउको दुखेको अनुभव हुने जस्ता समस्याहरु देखिन थालेका छन्। तसर्थ तत्काल प्रदूषण संकटकाल घोषणा गरि सुरक्षाका उपायहरु अवलम्बन गर्नु पर्ने देखिन्छ।

वायुप्रदूषणको कारण स्वास्थ्यमा अल्पकालीन तथा दीर्घकालीन दुवै खालका समस्याहरु देखिन्छन।

अल्पकालीन रुपामा वायुप्रदूषणले जनस्वास्थ्यमा पार्ने असरहरु:
१. स्वासप्रश्वास सम्बन्धी समस्या:
• खोकी लाग्ने
• स्वास फेर्न गाह्रो हुने
• छातीमा चाप महसुस हुने
२. आँखामा जलन र चिलाउने समस्या:
• आँखा रातो हुने
• आँखाबाट पानी बग्ने
• आँखा चिलाउने, पोल्ने
३. घाँटी दुख्ने र चिलाउने
• बोल्दा वा निल्दा असजिलो महसुस हुने
• घाँटी सुक्खा हुने
४. टाउको दुख्ने र थकान महसुस हुने
• उच्च प्रदूषण हुँदा मस्तिष्कमा अक्सिजनको कम आपूर्ति भएर टाउको दुख्ने
५. एलर्जी र छालामा असर
• छाला चिलाउने
• छाला रातो हुने
६. दम(Asthma) तथा COPD भएका व्यक्तिहरूमा विभिन्न समस्याहरु देखिनु,

दीर्घकालीन रुपमा वायुप्रदूषणले जनस्वास्थ्यमा पार्ने असरहरु:
वायुप्रदूषणको लामो समयसम्मको प्रभाव तत्कालको असहजतालाई मात्र सीमित नराखी, जनस्वास्थ्यमा गम्भीर दीर्घकालीन जोखिम निम्त्याउने खालको हुन्छ। PM2.5 र PM10 जस्ता सूक्ष्म कणीय प्रदूषकहरू श्वासप्रश्वास प्रणाली, रक्तसञ्चार प्रणाली, तथा अन्य शारीरिक कार्यप्रणालीहरूमा दीर्घकालीन असर पार्न सक्छन्।

१. श्वासप्रश्वाससम्बन्धी रोगहरू:
लामो समयसम्म प्रदूषित हावा सास फेर्दा फोक्सोको सूक्ष्म तन्तुमा पुगेर जलन उत्पन्न गर्छ, जसले दम, दीर्घकालीन ब्रोंकाइटिस, र क्रोनिक अब्स्ट्रक्टिभ पल्मोनरी डिजिज (COPD) जस्ता समस्याहरू निम्त्याउँछ।

वायुप्रदूषण लामो समयको सम्पर्कमा रहेकाहरूमा फोक्सोको क्यान्सर हुने सम्भावना पनि उच्च हुने कुरा अध्ययन देखाएको छ। विशेष गरी, बालबालिकाहरूमा फोक्सो सम्बन्धी रोगहरु हुने, उनीहरूलाई दम तथा COPD को जोखिम बढ्ने साथै, ब्रोंकाइटिस र निमोनियाजस्ता श्वासप्रश्वास संक्रमणहरू वायुप्रदूषणका कारण तीव्र रूपमा फैलिने देखिएको छ।
२. रक्तसञ्चार प्रणाली र अन्य रोगहरू:
वायुप्रदूषणले रक्तसञ्चार प्रणालीमा गम्भीर असर पार्न सक्छ। प्रदूषित हावामा लामो समयसम्म सम्पर्कमा रहिरहँदा हृदयघात, स्ट्रोक, तथा मुटुको Arrhythmia जस्ता रोगहरुको जोखिम बढ्छ।

PM 2.5 जस्ता सूक्ष्म कणहरूले रक्तनलीहरूमा फोहोर जम्मा गराउने (atherosclerosis) भएकाले मुटु सम्बन्धी रोगको सम्भावना उच्च हुन्छ।यसका अतिरिक्त, वायुप्रदूषणले उच्च रक्तचाप तथा टाइप २ मधुमेहको कारण बन्न सक्ने कुरा पनि अध्ययनहरुले देखाएका छन्।
३. अन्य प्रणालीगत असरहरू:
वायुप्रदूषणका कारण कम तौलको शिशु जन्मिने, बालबालिकाहरुको संज्ञानात्मक (Cognitive) विकासमा समस्या आउनु, तथा शरीरको रोगसँग लड्ने प्रतिरोधात्मक क्षमता कम हुनुजस्ता समस्याहरू देखापर्न सक्छन्।

त्यस्तै हालैका अनुसन्धानहरूका अनुसार, वायु प्रदूषणको लामो समयसम्मको सम्पर्कले न्युरोलोजिकल समस्या निम्त्याउने सम्भावना देखाउनुको साथै अल्जाइमर्स, पार्किन्सन्स, स्ट्रोक, तथा डिमेन्सिया जस्ता रोगहरू पनि सम्बन्धित देखिएका छन्।

यो विषम परिस्थितिमा सकेसम्मका सावधानीहरु अपनाउनु बुद्धिमानी हुन्छ। जसको कारण केहि हदसम्म भएपनि स्वास्थ्यजन्य जोखिमबाट जोगिन सकिन्छ। तसर्थ तल उल्लेखित उपायहरु अपनाउन सकिन्छ:

घरभित्र र कार्यालयमा अपनाउनुपर्ने सुरक्षाका उपायहरू :
• उच्च प्रदूषण हुने समयमा झ्याल ढोका बन्द राख्ने: प्रदूषण उच्च भएको समयमा झ्याल ढोका बन्द राख्दा बाहिरी प्रदूषण भित्र पस्नबाट जोगिन गई थोरै मात्रामा भए पनि सजिलो हुन सक्छ।
• धूमपान नगर्ने: घरभित्र चुरोट वा अन्य धूमपान नगर्ने।
• पटक-पटक सफा पानीले आँखा पखाल्ने।
• प्रशस्त झोलिलो पदार्थको सेवन गर्ने।
• बालबालिका, जेष्ठ नागरिक तथा स्वासप्रस्वासजन्य रोग भएका व्यक्तिहरुको विशेष हेरचार गर्ने।
• घरभित्र वा कार्यालयमा बस्दा सबै शरीर ढाक्ने फुल लुगा लगाउने।
• एयर प्युरिफायरको प्रयोग: सक्ने अवस्थामा HEPA फिल्टर भएको एयर प्युरिफायरको प्रयोग गर्ने जसले घर तथा कार्यालय भित्रको हावालाई शुद्ध गर्न मद्दत गर्छ।

बाहिर निस्किँदा अपनाउनुपर्ने सुरक्षाका उपायहरू:
• मास्कको प्रयोग: सकेसम्म N95 वा सो सरहको मास्कको प्रयोग गर्ने जसले फाइन पार्टिकुलेट म्याटर (PM2.5) स्वासप्रस्वास प्रणाली प्रवेश गर्नबाट बचाउन मद्दत गर्दछ।
• उच्च प्रदूषण हुने समयमा बाहिर ननिस्कने: बिहान र साँझको समयमा प्रदूषण बढी हुने भएकाले त्यस समयमा बाहिर ननिस्कनु उचित हुन्छ।
• अनावश्यक रुपमा बाहिर निस्किन बन्द गर्ने।
• बाहिर निस्किन पर्ने भएमा चस्मा र मास्कको उचित रुपमा प्रयोग गर्ने।
• बाहिर निस्किदा सबै शरीर ढाक्ने फुल लुगा लगाउने।

सरकारी तवरबाट चाल्नुपर्ने कदमहरू:
नेपालमा वायुप्रदूषण नियन्त्रण गर्न सरकारको महत्वपूर्ण भूमिका रहन्छ। यसका लागि नीति सुधार, दिगो पूर्वाधारमा लगानी, तथा जनचेतना वृद्धिमा ध्यान दिन आवश्यक छ।

तत्काल चाल्नुपर्ने कदमहरु:
• उच्च सवारीसाधन प्रयोगमा रोक लगाउन जोरबिजोर प्रणालीको लागु गर्ने,
• प्रदूषण संकटकाल घोषणा गरि केहि दिनको लागि कार्वन उत्सर्जन गर्ने कलकारखानाहरु वा उद्योगहरु बन्द गर्न निर्देशन दिने,
• विद्यालय वा शैक्षिक संस्थाहरु बन्द गर्ने,
• जंगलहरुमा लागेको डढेलो नियन्त्रणको लागि आवश्यक कदम चाल्ने,
• सरकारी निकायहरुमा समेत बिदा दिने,
• जनस्वास्थ्य प्रवर्द्धनका अन्य कदमहरु चल्ने,
• जनमानसमा सूचना तथा बच्ने उपायहरुबारे जानकारी गराउने,
• निर्माणाधीन सडकहरु तथा निर्माणका कार्यहरुलाई केहि समयको लागि रोक्ने,
• ट्रीपर लगायतका सवारीसाधनहरु प्रयोगमा निश्चित समयका लागि रोक लगाउने,

दीर्घकालीन रुपमा चाल्नुपर्ने कदमहरु:

क) सवारीसाधन र उद्योगहरूको उत्सर्जन नियन्त्रण:

• सवारीसाधन तथा उद्योगका लागि कार्बन उत्सर्जन मापदण्ड कडाईका साथ लागू गर्ने।
• प्रयोगमा रहेका सवारीसाधनहरूको इन्धन गुणस्तर सुधार गर्नका लागि नियमित परीक्षण मापदण्ड कडाइका साथ लागू गर्ने।
• विद्युतीय सवारीसाधनलाई प्रवर्द्धन गर्न कानुनी व्यवस्था र प्रोत्साहन कार्यक्रम ल्याउने।
• खुला फोहोर जलाउने तथा निर्माण कार्यहरूबाट निस्कने धुलो नियन्त्रण गर्न कडा नियम बनाउनु।
• धुलो र धुवाँ नियन्त्रणको निर्माणाधीन सडकहरु तथा निर्माणका कार्यहरुलाई सुरक्षित र छिटो चारितो बनाउने

ख) सार्वजनिक यातायात प्रणाली सुधार:

• सार्वजनिक बसहरू विस्तार तथा आधुनिकीकरण गर्ने।
• जनघनत्व बढी भएका सहरी क्षेत्रहरुमा सार्वजनिक बसहरूको विस्तार गरि प्रवर्द्धन गर्नुको साथै निजि सवारीसाधन कम प्रयोग गर्न प्रोत्साहन गर्ने।
• पैदलयात्री तथा साइकल यातायात प्रवर्द्धन गर्न छुट्टै लेन निर्माण गर्ने परियोजना ल्याउने।

ग) जनचेतना वृद्धि र हरियाली विस्तार:

• हावा प्रदूषणको कारण, असर, र समाधानबारे व्यापक जनचेतना अभियान सञ्चालन गर्ने।
• फोहोर व्यवस्थापन सुधार गर्दै रिसाइक्लिङ प्रवर्द्धन गर्ने।
• हरियाली विस्तार गर्न वृक्षरोपण तथा शहरी हरियाली पूर्वाधारमा लगानी गर्नु।
• वनमा हुने डढेलो नियन्त्रणका लागि उचित व्यवस्थापन रणनीति अवलम्बन गर्नु।

घ) अन्तराष्ट्रिय समन्वय

नेपालमा वायुप्रदूषणको समस्यालाई अन्तरदेशीय रुपमा पनि प्रभाव पर्ने भएकाले छिमेकी राष्ट्रहरू सहित ठुलो मात्रामा कार्वन उत्सर्जन गर्ने राष्ट्रहरुसँग सहकार्य र समन्वय गरी प्रदूषण नियन्त्रण रणनीति बनाउन र त्यसको आवश्यक कार्यान्वयनमा निरन्तर लाग्ने।

निष्कर्ष:
काठमाडौं उपत्यका लगायत देशभर वायुप्रदूषण गम्भीर जनस्वास्थ्य संकटको रुपमा देखिएको छ। भौगोलिक, मौसमी, तथा मानवनिर्मित कारकहरूको संयोजनले गर्दा नेपालमा वायु गुणस्तर बारम्बार खतराजनक तहमा पुग्ने गरेको छ।

दीर्घकालीन रूपमा, वायुप्रदूषणले श्वासप्रश्वास तथा मुटुरोग, मधुमेह, क्यान्सर तथा अन्य स्वास्थ्य समस्या निम्त्याउनुका साथै औसत आयुमा समेत प्रभाव पर्ने कुरा अध्ययनहरुले देखाएका छन् ।

तसर्थ नेपालको संविधानत मौलिक हकको रुपमा रहेको स्वच्छ खानेपानी तथा सरसफाईमा प्रत्येक नागरिकको पहुँच हुने कुराको सुनिश्चित गर्न व्यक्तिगत रूपमा सुरक्षाका उपायहरू अपनाउन सकिन्छ, तर सरकारले प्रभावकारी नीति र कार्यहरू लागू नगरेसम्म यो समस्याको समाधान सम्भव छैन।

“स्वच्छ हावा: स्वस्थ नेपाल” को परिकल्पनालाई व्यवहारमा उतार्न, आजैदेखि कदम चालौँ!

सन्दर्भस्रोतहरु :
 विश्व स्वास्थ्य सङ्गठन (WHO): Air Pollution Data
 विभिन्न समाचार स्रोत (काठमाडौंको AQI र जंगल डढेलोसम्बन्धी जानकारी)
 नेपाल सरकारका स्वास्थ्य र वातावरणसम्बन्धी प्रतिवेदनहरू
 बीबीसी नेपाली
 विभिन्न Scientific Journals

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

One thought on “वायु भित्र गुम्सिएको जनस्वास्थ्य

Leave a Reply

Your email address will not be published. Required fields are marked *