रोटरीको अगुवाईमा रुपन्देहीको तिलोत्तमा भयो बहु विशेषज्ञ बृहत निशुल्क स्वास्थ्य शिविर
बुटवल, १९ चैत । रुपन्देहीको तिलोत्तमा नगरपालिका १६ जुडास्थित कोटहीमाई मिसुजु आधारभूत विद्यालयमा तीन दिनसम्म बहु विशेषज्ञ बृहत निशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ ।
गत १४ देखि १६ चैतसम्म चलेको उक्त शिविरमा एक हजार ३९५ जनाको स्वास्थ्य परीक्षण तथा उपचार भएको छ ।
रोटरी क्लव अफ काठमाडौँ नर्थ आरआई डिस्ट्रिक ३२९२ आयोजक बनेको उक्त शिविरमा कान्तिपुर डेन्टल कलेज (केडीसी) टिचिङ हस्पिटल सहआयोजक भएको थियो । तर शिविरमा अरु थुप्रै संस्थाहरु सहयोगीको रुपमा आवद्ध थिए ।
रोटरी क्लव अफ म्याथुज आरआई डिस्ट्रिक ७६८० युएसए, रोटरी क्लव अफ भैरहवा, देवदह मेडिकल कलेज, बीएम फाउण्डेशन, कान्तिपुर इन्टिच्युट अफ हेल्थ साइन्सेज पोखरा सहयोगी संस्थाको रुपमा जोडिएको आयोजक संस्था रोटरी क्लव अफ काठमाडौँ नर्थका पास्ट प्रेसिडेन्ट डा. बुद्धिमान श्रेष्ठले बताए । उनले शिविरका लागि यी संस्थाहरुबाट चिकित्सक तथा अन्य स्वास्थ्यकर्मीहरुको टोली खटिएको जानकारी दिए ।
शिविरका लागि सात विदेशी सहित ४२ जनाको टोली खटिएको थियो ।
‘स्कुलले विद्यार्थीसंगै स्थानीय सर्व साधारणलाई स्वास्थ्य परीक्षण, उपचार साथै स्वास्थ्य सचेतना बढाउनका लागि यो कार्यक्रमको आयोजना गरिएको हो,’ डा. श्रेष्ठले उल्लेख गरे ।
तीन दिने शिविरका लागि अमेरिकाबाट न्युरोलोजिष्ट, न्युरो सर्जन साथै दुई जना डेन्टल डाक्टर र तीन जना डेन्टल असिस्टेन्ट आएका थिए । यस्तै केडीसी काठमाडौँबाट तीन जना डेन्टल डाक्टर, दुई जना डेन्टल हाइजिनिष्ट, तीन जना फार्मासिस्ट र एक जना पब्लिक हेल्थ अफिसर सहित अरु तीन जना अप्राविधिकको टोली खटिएको थियो ।
कान्तिपुर इन्स्टिच्युट अफ हेल्थ साइन्सेज पोखराबाट ६ जना डेन्टल हाइजिनिष्ट, कान्तिपुर डेन्टल सेन्टर भलवारीबाट एक जना डेन्टल डाक्टर र दुई असिस्टेन्ट, यस्तै देवदह मेडिकल कलेजबाट जनरल फिजिसिन, हाडजोर्नी, स्त्रीरोग विशेषज्ञ लगायतका चिकित्सक टोली खटिएको थियो । कुल मिलाएर ४२ जनाको टोली थियो ।
परीक्षणमा मुख तथा दन्त स्वास्थ्य, आँखा स्वास्थ्य, बालरोग, हाडजोर्नी तथा नसा, पेट, छाती, प्रसूति तथा स्त्री रोग, छाला तथा यौन रोग लगायतका परीक्षण भएको थियो ।
शिविरमा आएका सर्वसाधारणहरुले पनि सबै खाले रोगको परीक्षण र आवश्यकताका आधारमा उपचार गराएका थिए ।
सो क्रममा मुख तथा दन्त स्वास्थ्य अनि नसर्ने रोगबारे सचेतना कार्यक्रम समेत सञ्चालन गरिएको शिविरको संयोजनमा खटिएकी पब्लिक हेल्थ अफिसर स्वेच्छा मरासिनीले बताईन् ।
यस्तै उच्च रक्तचाप तथा मधुमेह परीक्षण गरिएको शिविरमा सो विद्यालयका छात्रछात्रालाई निशुल्क रुपमा टुथब्रस र बिरामीहरुलाई औषधी वितरण गरिएको थियो । ‘कुल मिलाएर करीव चार लाख जतिको औषधी हामीले वितरण गरेका छौँ,’ डा. श्रेष्ठले भने ।
रोटरी क्लव अफ काठमाडौँ नर्थले रोटरी क्लव अफ म्याथुजसंग मिलेर यस्तो बहुविशेषज्ञ शिविर गरेको यो तेस्रो पटक हो ।
‘यस अघि २०१९ मा र अहिले गरी तिलोत्तमाको सो विद्यालयमा दुई पटक र बीचमा नुवाकोटको गेर्खुटारमा अर्को शिविर गरेका थियौँ,’ रोटरी क्लव अफ म्याथुजको मानार्थ सदस्य समेत रहेका डा श्रेष्ठले भने ।
शिविरका लागि आएका रोटरी क्लव अफ म्याथुजबाट आएका रोटरियनहरु डा राफेल बेलट्राम, माइकल रुशो, मार्टिन म्याक्लेनरी, एलन मोसेली सेवाको प्रभावकारिता देखेर दंग परेका थिए । उनीहरुले यस्ता कार्यक्रम आवश्यक परेमा आफूहरु सहयोगका लागि तत्पर रहेको उल्लेख गरे ।
सम्पर्क इमेल : [email protected]