चिकित्सा शिक्षामा अन्योल : सिट घटाएर सुरु गरिएको ‘पीजी’को ‘म्याचिङ’ तत्काल रोक्न विद्यार्थीहरुको माग
काठमाडौँ, १८ चैत । चिकित्सा शिक्षा आयोगले निजी मेडिकल तथा डेन्टल कलेजहरुको सिट संख्या घटाएर म्याचिङ प्रक्रिया अघि बढाएपछि पीजी पढ्न प्रवेश परीक्षामा सहभागी विद्यार्थीहरु आन्दोलित भएका छन् । उनीहरुले चिकित्सा शिक्षा आयोगलाई अहिलेको म्याचिङ प्रक्रिया तत्काल रोक्न र नमिलेका विषयको निरुपण गर्नका लागि १८ औँ बैठक तत्काल बोलाउन माग गरेका छन् ।
निजी मेडिकल तथा डेन्टल कलेजसंगहरुको टकराव पछि आयोगले उनीहरुलाई दिने भनिएको सिट संख्या घटाएर ६७० मा झारेको छ । आयोगले गत १४ चैतबाट सोही घटाइएको सिटमै म्याचिङ प्रक्रिया अघि बढाएको छ ।
यसअघि आयोगले १७ औँ बैठकले थप गरेको २३१ सहित ५ फागुनमा यस शैक्षिक सत्रका लागि भन्दै एक हजार ४९६ सिट तोकिएको बताएको थियो । बढेको सिट पछि पढ्न पाउने आशामा २६ माघमा प्रवेश परीक्षा दिई उत्तीर्ण विद्यार्थीहरु आयोगको पछिल्लो निर्णयले स्तव्ध भएको बताएका छन् ।
सोमबार राजधानीमा पत्रकार सम्मेलन गर्दै उनीहरुले आफूहरुको माग सम्वोधन नगरेमा कडा आन्दोलनमा उत्रिने चेतावनी दिएका छन् ।
‘गत १३ मंसिरमा आयोगले सिट संख्या नतोकी एमडी/एमएस/ एमडीएसको प्रवेश परीक्षाको लागि सूचना जारी गरेको थियो । आयोगको यो कदम गलत थियो । हामीले सर्बोच्च अदालतमा सिट खुलाउन रिट दायर गर्यौँ, त्यसपछि आयोगले सर्बोच्चलाई एक हजार ३४१ सिट सिट भएको विवरण पठायो । हामीले त्यसलाई आधार मानेर २६ माघमा परीक्षामा सहभागी भयौँ । पछि १७ औँ बैठकले सिट संख्या अझ बृद्धि गर्यो र १ हजार ४९६ पुर्यायो । हामी थप खुशी भयौँ तर गत १४ चैतमा घटाएर ६७० मा झारियो । यसले त ८०० भन्दा बढी परीक्षार्थी पढाईबाट बन्चित हुने देखियो । यो हामीप्रतिको सबैभन्दा ठूलो अन्याय हो । तसर्थ हामी यसको बिरोधमा उत्रिएका हौँ,’ परीक्षार्थी डा. अभिषेककुमार झाले भने ।
अर्का परीक्षार्थी डा. अनिलकुमार साहले पीजी पढ्ने आशामा रहेका प्रवेश परीक्षा उत्तीर्ण डाक्टरहरुलाई स्तव्ध पार्ने गरी आयोगको कदम अघि बढेको भन्दै उनले चिकित्सा शिक्षासंग सम्वद्ध व्यक्ति समूह तथा संस्थाहरुले यस कदमको विरोध गर्नुपर्ने बताए । उनले आयोगको यो निर्णयले स्वदेशमै चिकित्सा शिक्षा पढ्न पाउने अधिकार बन्चित गर्न खोजिएको आरोप लगाए ।
‘निर्वाह भत्ता प्रकरणले सबै प्रक्रिया विथोलियो नि ? भन्ने एक प्रश्नको जवाफमा उनले आफुहरुको लागि समय महत्वपूर्ण हुने भन्दै यो विषय निर्वाह भत्ता भन्दा कैयौँ गुना ठूलो भएको बताए ।
‘हामीलाई कम्तिमा एक वर्ष पछि धकेलिदै छ, त्यसपछिको परिस्थिति पनि थाहा छैन । त्यसैले हामीले नमिलेको चिज तत्काल बैठक राखि मिलाऔँ । ५ फागुनमा तोकिएको सबै सिटमा एकैपटक म्याचिङ गरौँ भन्ने हो । सरकारी निजी सबैका लागि सिट तोकिनु पर्छ र प्रवेश परीक्षा पास भएका तोकिएको पूर्ण सिट भित्र हामीले म्याचिङमा जान पाउनु पर्छ’ उनले भने ।
‘खासमा आयोगको १६ औँ बैठकको निर्णय अनुसार निजी मेडिकल कलेजले ४८ हजार ७३७ रुपैयाँ निर्वाह भत्ता दिन सक्दैनौँ भनेपछि यहाँ समस्या भएको हो होइन र ?’ भन्ने अर्को एक प्रश्नमा डा अमृत भुसालले भने, ‘एउटा बैठकको निर्णय कार्यान्वयन गर्न सक्दैनौँ भन्छ भने अर्को बैठक राखेर समाधानका विकल्पहरु पनि हेर्नु पर्छ । हामी विद्यार्थीको माग, आयोग र निजी मेडिकल कलेजबीचको जो लफडा छ त्यसलाई सुल्झाउन १८ औँ बैठक तत्काल राख, त्यसबाट सुल्झाउ र पूर्ण सिटमा म्याचिङ खुलाइयोस भन्ने हो ।’
पत्रकार सम्मेलनमा परीक्षार्थी चिकित्सकहरुले चिकित्सा शिक्षा आयोगका उपाध्यक्षले आफ्ना मागका विषयमा सकारात्मक नदेखिएको भन्दै चिकित्सकहरु सडक र कानूनी लडाईमा पुन उत्रिनुपर्ने अवस्थामा ल्याउन खोजिएको बताए ।
उनीहरुले आयोगपछि नेपाल चिकित्सक संघका अधिकारीहरुलाई आफ्ना गुनासो पोखेको भन्दै अब आयोगसंग प्रत्यक्ष तथा परोक्ष जोडिएका व्यक्ति तथा संस्थालाई भेटेर ध्यानाकर्षण गराउने समेत जानकारी दिए ।
सम्पर्क इमेल : [email protected]