छ वर्ष देखि आफूलाई शुन्य बेरुजुमा उभ्याई रहेको बर्दिया अस्पताल
दाङ, १७ चैत । नेपालमा ‘सरकारी कार्यालय वा संस्था अनि बेरुजु’ जोडिएरै आउने शब्द जस्तो लाग्छ । प्राय, सबै सरकारी कार्यालय तथा संस्थाहरुमा धेरै-थोरै बेरुजु देखिन्छ नै । अझ भनौ, धेरै – थोरै बेरुजु देखिनु सरकारी संस्थाहरुको पहिचान नै हो जस्तो लाग्छ ।
तर, लुम्बिनी प्रदेशमा रहेको एउटा सरकारी संस्था भने यस्तो पहिचानबाट अलग देखिन्छ ।
अहिले मात्रै होेईने छ वर्ष पहिले देखि नै ।
लुम्बिनी प्रदेशमा रहेको बर्दिया अस्पताल, गुलरियाले पछिल्लो छ आर्थिक वर्ष देखि लगातार शुन्य बेरुजु कायम गर्न सफल भएको छ ।
न्युनतम सेवा मापदण्डको मूल्यांकनमा सधै जसो प्रथम हुने पहिचान बनाएको यो अस्पताल यसपटक पनि बेरुजु शुन्य गरेर सम्मानित भएको छ ।
अस्पतालका मेडिकल सुपरीटेन्डेन्ट डा. सुवास पाण्डेय प्रदेश अन्तर्गतका १४ वटा अस्पताल मध्ये यसपटक शुन्य बेरुजुमा आफूहरु मात्रै रहेको बताउँछन् । उनका अनुसार शुन्य बेरुजुमा बर्दिया अस्पतालले अहिले मात्रै होईन, आर्थिक वर्ष २०७५/०७६ देखि नै सफलता पाउँदै आएको छ ।
नेतृत्वबाट हुने ‘कुशल व्यवस्थापन, टिम वर्क’ले लगातार यो सफलता पाएको उनी बताउँछन् ।
लुम्बिनी प्रदेश सरकार स्थापना भए देखि (आर्थिक वर्ष २०७५/०७६ देखि आर्थिक वर्ष २०८०/०८१ सम्म) हालसम्म आर्थिक सुशासन कायय राख्दै कार्यालयलाई शुन्य बेरुजु कायम राख्न सफल भएको भन्दै प्रदेश सरकार स्वास्थ्य मन्त्रालयले शनिबार बर्दिया अस्पताललाई विशेष सम्मान गरेको छ ।
प्रदेश राजधानी दाङमा भएको स्वास्थ्य कार्यालय तथा संस्थाहरुकोे आर्थिक सुशासनका लागि बेरुजुको समीक्षा गोष्ठी तथा शुन्य बेरुजु प्रोत्साहन कार्यक्रममा बर्दिया अस्पताललाई सम्मान गरिएको हो ।
सो अवसरमा बोल्दै स्वास्थ्य मन्त्री खेमबहादुर सारुले हरेक कार्यालय सफल हुनका लागि योजना बनाउने, काम गर्ने र निगरानी बढाउन जरुरी रहेको बताएका छन् ।शुन्य बेरुजु भएका कार्यालयहरूको अनुभव आदानप्रदान गर्ने र सोही अनुसार कार्ययोजना निर्माण गरेर अघि बढ्न जोड दिइएको छ ।
लुम्बिनी प्रदेशको स्वास्थ्य मन्त्रालय मातहतका सबै अस्पताल, स्वास्थ्य निर्देशनालय तथा स्वास्थ्य कार्यालयका प्रमुखहरूको सहभागिता रहेको कार्यक्रममा प्रमुख सचिव बाबुराम अधिकारी, स्वास्थ्य सचिव दुर्गा लक्ष्मी श्रेष्ठलगायतले आर्थिक सुशासन, पारदर्शिता र जवाफदेहिताको आवश्यकता र महत्वलाई जोड दिएका थिए ।
सम्पर्क इमेल : [email protected]