यूएसएडलाई ‘पुनर्गठन’ गर्ने योजनामा ट्रम्प प्रशासन

अमेरिकी विदेशमन्त्री मार्को रुबियोले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “आज विदेश मन्त्रालय र अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग ९यूएसएड०ले सन् २०२५ को जुलाई १ सम्ममा विभागलाई यूएसएडका केही कार्यहरू पुनः समेट्ने गरी पुनर्गठन गर्ने आफ्नो आशयबारे कंग्रेसलाई सूचित गरेका छन् ।”
विदेश मन्त्रालयले प्रशासनको प्राथमिकतासँग मेल नखाने यूएसएडका बाँकी काम बन्द गर्ने योजना बनाएको छ । उनले भने, “दुर्भाग्यवश यूएसएडका कार्यक्रममा लाभ धेरै कम थियो र लागत धेरै उच्च थियो । संस्था धेरैपहिले नै आफ्नो मूल अभियानबाट पछि हटेको थियो ।”
गएको जनवरीमा पदभार ग्रहण गरेपछि रिपब्लिकन राष्ट्रपति ट्रम्पले ९० दिनका निम्ति अमेरिकी वैदेशिक सहायता रोक्का गर्ने कार्यकारी आदेशमा हस्ताक्षर गरेका थिए ।
त्यसपछि यूएसएआइडीका विभिन्न कार्यक्रममा नाटकीय कटौती गरियो । र, महत्त्वपूर्ण मानवीय सहायताका निम्ति केही छुट दिइयो ।
सन् १९६१ मा अमेरिकी कंग्रेस (संसद्)ले सिर्जना गरेको स्वतन्त्र एजेन्सीमाथि सहायता रोक्काले स्तब्ध र निराश बनाएको छ ।
विदेश सम्बन्धसम्बन्धी समितिमा सिनेटका डेमोक्र्याट सांसदहरूले यो कदमको निन्दा गर्दै एक विज्ञप्तिमा भनेका छन्, “पुनर्गठनले यूएसएडका कुनै पनि कार्यक्रम कार्यान्वयन गर्न असम्भव मात्र बनाउने छैन, विदेश विभागमाथि थोपरिएको बोझले यसको मूल मिसनमा विशेष व्यवधान निम्त्याउनेछ ।”
विज्ञप्तिमा अगाडि भनिएको छ, “यो प्रस्ताव गैरकानुनी, खतरनाक र गलत छ ।”
बन्द हुनुअघि यूएसएडले करिब ४३ अर्ब अमेरिकी डलरको वार्षिक बजेट व्यवस्थापन गरेको थियो । त्यो विश्वको मानवीय सहायताको ४० प्रतिशतभन्दा बढी हो । ट्रम्पले पदभार ग्रहण गरेलगत्तै त्यहाँका अधिकांश कर्मचारीलाई प्रशासनिक बिदामा राखिएको थियो ।
यूएसएडका कर्मचारीलाई शुक्रबार एक पत्रमार्फत कानुनले आवश्यक नपरेका सबै रोजगारी हटाउने योजनाबारे जानकारी गराइएको विभिन्न अमेरिकी सञ्चार संस्थाले जनाएका छन् ।
पत्रमा स्वतन्त्र निकाय यूएसएडका कार्यवाहक प्रमुख जेरेमी लेविनले अमेरिकी विदेश मन्त्रालयले आउँदा महिनामा यूएसएडका अधिकांश स्वतन्त्र कार्य बन्द गर्ने योजना बनाएको बताएका छन् । रासस/एएफपी
सम्पर्क इमेल : [email protected]