राजावादीको प्रदर्शन उग्र बनेपछि काठमाडौँका विभिन्न क्षेत्रमा कर्फ्यु आदेश
काठमाडौँ, १५ चैत । राजावादी आन्दोलन उग्र बनेपछि काठमाडौँका केही ठाउँमा कर्फ्यु लगाइएको छ। व्यक्तिका घर, पसल, सञ्चार गृह र सरकारी सम्पत्तिमा आगजनी बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले तीनकुने क्षेत्रमा कर्फ्यु लगाएको छ ।
जिप्रकाका अनुसार कर्फ्यु गौशाला, एयरपोर्ट, तिनकुने हुँदै कोटेश्वर सम्म, कोटेश्वर देखि जडिबुटी पुलसम्म, कोटेश्वरबाट बालकुमारी पुलसम्म, बानेश्वर चोकदेखि शंखमुल पुलसम्म, गौशाला हुँदै पुरानोबानेश्वर देखि नयाँ बानेश्वरसम्म लगाइएको छ ।
प्रदर्शनमा आएका व्यक्तिहरुले सुरक्षाकर्मी र दमकलमाथि नै आक्रमण गर्ने क्रम बढेपछि स्थिति नियन्त्रणमा लिन कर्फ्यु लगाउने निर्णय गरिएको जनाइएको छ ।
प्रदर्शनकारीले कोटेश्वरको भाटभटेनी, तिनकुनेको कान्तिपुर टेलिभिजन, अन्नपूर्ण पोष्ट कार्यालय लगायतका कार्यालयहरुमा तोडफोड, लुटपाट तथा आगाजनीको गरेका छन् । यस्र्तै जडिबुटीको सञ्चो कार्यालयमा पनि तोडफोड तथा त्यहाँ रहेका सवारी साधनमा क्षति पुराएका छन् ।
राजावादी समूहले काठमाडौंको आलोकनगरस्थित नेकपा एकीकृत समाजवादीको कार्यालयमा तोडफोड गरेको छ । प्रदर्शनकारीहरुले पेरिसडाँडामा रहेको माओवादी पार्टी कार्यालयमा समेत आक्रमण र तोडफोडको प्रयास गरेका थिए ।
राजावादी समूहको आन्दोलनको नेतृत्व मेडिकल व्यवसायी दुर्गा प्रसाईंको नेतृत्वमा भएको छ ।
सम्पर्क इमेल : [email protected]