गर्भवती महिला र नवजात शिशुमा देखिने कुपोषण हटाउने कार्यमा सघाउन अमेरिकी संस्था समक्ष नेपालको प्रस्ताव
काठमाडौं, १४ चैत । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले नेपालका गर्भवती महिला तथा नवजात शिशुमा देखिएको कुपोषणमा कमी ल्याउनका लागि एक अमेरिकी परोपकारी संस्थासँग सहकार्यका लागि प्रस्ताव गरेका छन् ।
पोषणसम्बन्धी विश्व सम्मेलनमा भाग लिन फ्रान्सको राजधानी पेरिस पुगेका स्वास्थ्य मन्त्री पौडेलले अमेरिकी सहायता संस्था एलेनर क्रुक फाउण्डेसनका प्रमुख कार्यकारी तथा अनुसन्धान निर्देशक विलियम मुरसँग यस्तो प्रस्ताव गरेका हुन् ।
पेरिसस्थित नेपाली दूतावासमा भएको बार्ता पछि फाउण्डेशनले सकारात्मक प्रतिक्रिया दिएको बताइएको छ ।
नेपालमा अहिले गर्भवती महिलाहरुलाई आइरन चक्की दिइन्छ । तर त्यसमा आइरन र फोलिक एसिड भए पनि अन्य विभिन्न १५ तत्व अभाव रहेको विज्ञहरुले बताउने गरेका छन् । गर्भवती महिला तथा नवजात शिशु दुवैमा कुपोषणमा भएको कमी हटाउन खुवाइने आइरन चक्कीको साटो कमी देखिएका १५ वटै तत्वको मिश्रण दिने सरकारको तयारी छ ।
‘आर्थिक अभावमा मातृ शिशु स्वास्थ्य हेरचाह कमजोर नहोस् भन्नका लागि हामीले श्रोतको पहिचानका लागि प्रयास गरिरहेका छौं,’ मन्त्री पौडेलले भने, ‘यो वार्ता त्यसैको एक कडी हो । छलफलबाट हामी उत्साही छौं ।’
केही महिनाभित्रै सहकार्य गर्न सकिने गरी खाका बनेको भ्रमणमा सहभागी परिवार कल्याण महाशाखा प्रमुख डा. विवेककुमार लालले बताए । उनले भने, नेपालको मातृ शिशु कुपोषण सुधारमा सकारात्मक पहल भएको छ ।
नेपालमा कुपोषणका कारण हुने मातृ शिशु मृत्युदर कम गर्न गर्भवती महिलालाई दिइने पोषक तत्वको भूमिका महत्वपूर्ण हुने भएकाले यसमा हुने सुधारले महत्वपूर्ण अर्थ राख्ने डांक्टर लालले बताए ।
सम्पर्क इमेल : [email protected]