‘हो, हामी क्षयरोग अन्त्य गर्न सक्छौं !’
राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रले विश्व क्षयरोग दिवस – २०२५ “हो ! हामी क्षयरोग अन्त्य गर्न सक्छौं । लगानीको प्रतिबद्धता र सेवा प्रवाहको सुनिश्चतता, आजको आवश्यकता।” (“Yes ! We Can End TB: Commit, Invest, Deliver”) भन्ने मूल नाराका साथ २४ मार्च, २०२५ का दिन भव्यताका साथमा मनाउन गईरहेको घोषणा गर्दछ।
यस दिवसले हामीलाई क्षयरोग महामारीको अन्त्यका लागि गरिएका प्रतिबद्धताहरु, प्रयासहरु, तथा उपलब्धीहरुलाई सम्झिने अवसर दिने गर्दछ। साथै यस रोगका कारण नेपालमा हजारौं मानिसहरु प्रभावित भईरहेका छन् भन्ने वास्तविकतालाई उजागर गर्दछ।
त्यसैगरी विश्वव्यापी रुपमा क्षयरोग अन्त्यका लागि गरिएका हाम्रो साझा तथा सामूहिक संकल्पमा राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्र कटिबद्ध रहेको जानकारी पनि गर्दछ।
क्षयरोग (टीबी) विश्वभर लाखौं मानिसलाई प्रभावित गर्ने सरुवा रोग हो र नेपालमा यो जनस्वास्थ्य समस्याको रुपमा रहिआएको छ। सन् २०२३ मा, विश्व स्वास्थ्य संगठन (WHO) का अनुसार नेपालमा अनुमानित ६८,००० नयाँ क्षयरोग प्रभावित व्यक्तिहरु थिए, जसको दर प्रति १ लाख जनसङ्ख्यामा २२९ (Incidence rate: 229 per one lakh population) थियो। त्यसैगरी क्षयरोगका कारण १६,००० व्यक्तिको मृत्यु भएको अनुमान गरिएको छ, जसको मृत्युदर प्रति १ लाख जनसङ्ख्यामा ५४ थियो।
सोही अवधिमा, राष्ट्रिय क्षयरोग कार्यक्रमले ४०,७७६ जना क्षयरोग प्रभावित व्यक्तिहरु उपचारमा दर्ता गरेको थियो, जसमा ३९% महिला र ६१% पुरुष थिए र पत्ता लागेका औषधी प्रतिरोध क्षयरोग प्रभावित व्यक्तिहरु ७५६ जना थिए। उपचारमा दर्ता भएका मध्ये ७२% फोक्सोको क्षयरोग (Pulmonary Tuberculosis) र २८% फोक्सो बाहिर अन्य अङ्गमा लाग्ने क्षयरोग (Extra-Pulmonary Tuberculosis) थिए । त्यसैगरी उपचार सफलता दर ९२% रहेको छ।
यद्यपि, यी सबै उल्लेखनीय प्रगतिहरुका बावजुद, नेपालले अझै पनि क्षयरोग अन्त्यको लागि धेरै चुनौतीहरूको सामना गरिरहेको छ। ती चुनौतीहरूमध्ये प्रमुख चुनौतीहरु यस प्रकार रहेका छन्ः
- अनुमानित क्षयरोग प्रभावित व्यक्तिहरु र उपचारको दायरामा आएका क्षयरोग प्रभावित व्यक्तिहरुको संख्यामा ठूलो अन्तर (करिब ४०% अनुमानित क्षयरोग प्रभावित व्यक्तिहरुलाई उपचारको दायरामा ल्याउन नसक्नु)
- पर्याप्त स्रोतको अभाव [राष्ट्रिय क्षयरोग कार्यक्रमको पञ्च वर्षीय क्षयरोग रणनीतिक योजना २०२१/२२ देखि २०२५/२६ का अनुसार पाँच वर्षको लागि क्षयरोग कार्यक्रमको बजेट १९२ मिलियन यूस डलर रहेकोमा ११० मिलियन मात्र अनुमानित उपलब्ध रहेको छ। (४३% बजेट अभाव रहेको छ)]
- क्षयरोगको कारणबाट अधिक आर्थिक व्ययभार पर्नु (राष्ट्रिय क्षयरोग बिरामी लागत सर्वेक्षण (TB patient cost survey), २०२४ का अनुसार नेपालमा ५१% क्षयरोग प्रभावित व्यक्तिहरु तथा उनीहरुको परिवारलाई यस रोगको कारणबाट अधिक आर्थिक व्यय भार परेको छ ।
- क्षयरोग अन्त्यका लागि सबै क्षेत्रहरुको सहकार्य नहुनु (क्षयरोग गरीबिसंग नजिकको सम्वन्ध राख्ने सन्दर्भमा यो रोगको अन्त्यका लागि स्वास्थ्य क्षेत्र सहित, स्वास्थ्य बाहेकका अन्य क्षेत्रहरु जस्तै: शिक्षा, श्रम तथा रोजगार, सामाजिक सुरक्षण लगायत अन्यको पनि महत्वपूर्ण योगदान रहनु आवश्यक छ । यसका साथै निजी क्षेत्र र समुदायको सम्लग्नता पनि मुख्य छन् ।
यी चुनौतीहरुलाई समाधान गर्न राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रले निरन्तर आफ्ना प्रयासहरुलाई परिस्कृत गर्दै लगेको छ ।
नेपालभरी क्षयरोग उपचारका सेवाहरु ६२४१ स्वास्थ्यसंस्थाहरु र निदानका सेवाहरु ८०० वटा स्वास्थ्यसंस्थाहरुमा निःशुल्क उपलब्ध छन्। साथै क्षयरोगको द्रुत परीक्षण (Rapid diagnostic test) सेवाको पहुँच ६७ जिल्लाहरुका ११७ स्वास्थ्य संस्थाहरुमा पुगेको छ।
यो परीक्षणबाट क्षयरोग प्रभावित व्यक्तिहरुको औषधी प्रतिरोधको अवस्था थाहा पाउन सकिन्छ। औषधी प्रतिरोधी क्षयरोगका बिरामीहरुको उपचार सेवा २९ वटा उपचार केन्द्रहरु र ९८ उपचार उप- केन्द्रहरुबाट प्रदान गरिदै आएको छ। साथै औषधी प्रतिरोधी बिरामीहरुको लागि ईन्जेक्सन रहीत छोटो अवधिको, ६ महिने उपचार रेजिमेन उपलब्ध गराएको छ।
त्यसैगरी संघीय संरचनालाई ध्यानमा राखी नेपालले नवीनतम प्रयासको रुपमा स्थानीयतहहरुको नेतृत्व, उत्तरदायित्व र अपनत्व विकास गरी क्षयरोग अन्त्यका लागि भएका प्रयासहरुलाई दिगो रुपमा गति दिनको लागि “क्षयरोग मुक्त नेपाल अभियान” १४९ स्थानीयतहहरुमा विस्तार गरेको छ र एआई जडीत डिजिटल एक्सरे मेसिनद्धारा समुदायमा क्षयरोग बिरामीको सक्रिय खोजपड्ताल गर्ने कार्यको शुरुवात गरेको छ।
राष्ट्रिय क्षयरोग छैठौं औषधी प्रतिरोध सर्वेक्षण (National Anti-TB Drug Resistance Survey) र पहिलो क्षयरोग बिरामी लागत सर्वेक्षण (National TB Patient Cost Survey) जस्ता महत्वपूर्ण अध्ययनहरु पनि सम्पन्न भएका छन्। यसबाहेक, प्रत्येक वर्ष क्षयरोग रोकथाम, निदान. र उपचारसम्बन्धी सीप अभिवृद्धि तालिमहरू पनि सञ्चालन गरिएका छन्। तथापी यी प्रयासहरू प्रभावकारी भए तापनि, क्षयरोग अन्त्यको लक्ष्य प्राप्तिको लागि सुधार गर्न धेरै नै बाँकी छ।
हामीले आगामी दिनहरुमा, यिनै चुनौतीहरु र प्रयासहरुलाई मध्येनजर गर्दै हामीले एक्सरेद्धारा क्षयरोग प्रभावित व्यक्तिहरुको पहिचान कार्यमा वृद्धि गर्ने, आवश्यक श्रोत तथा साधनहरु जुटाउन तथा परिचालनको लागि स्थानीयतहलाई नेतृत्वदायी भूमिका दिने, एकीकृत सेवाहरु प्रदान गर्ने, स्वास्थ्य प्रणालीलाई सुदृढ गरी गुणस्तरीय उपचार सेवाहरु सुनिश्चित गर्नुका साथै निजी क्षेत्रको संलग्नतालाई सुदृढीकरण गर्ने र क्षयरोग प्रभावित व्यक्तिहरुलाई सामाजिक सुरक्षण प्रदान गर्नको लागि सम्बन्धित क्षेत्रसँग समन्वय तथा सहकार्य बढाउनु आगामी प्राथमिकतामा विशेष पर्दछन्।
आजको दिन, हामी नेपालमा क्षयरोग अन्त्य गर्ने दृढ संकल्पका साथ एकताबद्ध छौं। म, यस दिवसको अवसरमा सबै सरोकारवालाहरू, स्वास्थ्यकर्मीहरू, साझेदारहरू, नागरिक समाज, र सञ्चारमाध्यमहरूलाई क्षयरोग विरुद्धको अभियानमा निरन्तर सहयोगका लागि धन्यवाद दिन चाहन्छु । संयुक्त प्रयास मार्फत हामी यी चुनौतीहरु पार गर्न सक्छौँ । र सन् २०३० सम्ममा क्षयरोग महामारीको अन्त्य र सन् २०५० सम्ममा क्षयरोग मुक्त नेपाल हासिल गर्ने हाम्रो लक्ष्यतर्फ अगाडी बढ्न सक्नेछौँ ।
#डा. तिवारी राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रका निर्देशक हुन् ।
सम्पर्क इमेल : [email protected]