नेपालमा क्षयरोग उपचार सफलता दर ९२ प्रतिशत, तर उपचारमै ठूलो हिस्सा नआउँदा समस्या
काठमाडौँ, १० चैत । नेपालमा क्षयरोगको उपचारमा सफलता दर ९२ प्रतिशत भन्दा माथि छ । तर संक्रमितहरुको ठूलो हिस्सा उपचारको दायरामा नआउँदा समस्या बढेको छ ।
विश्व क्षयरोग दिवस-२०२५ को पूर्व सन्ध्या पारेर राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रले आजको गरेको पत्रकार सम्मेलनमा निर्देशक डा. श्रीराम तिवारीले सफलता र चुनौतीको विवरण पेश गर्दै लक्ष्य प्राप्तिमा निरन्तर प्रयासरत रहेको बताए ।
विश्व स्वास्थ्य संगठनको पछिल्लो प्रतिवेदनका अनुसार नेपालमा ६८ हजार नयाँ क्षयरोगी छन् । ‘राष्ट्रिय क्षयरोग कार्यक्रममा समेटिएकाको संख्या भने ४० हजार ७७६ मात्रै रहेको छ । नभेटिएका वा उपचारको पहुँचमा नपुगेका २७ हजार २२४ जना (४० प्रतिशत) लाई ल्याउन अहिलेको मुख्य चुनौती हो,’ कार्यक्रममा निर्देशक डा तिवारीले भने ।
हुन पनि बार्षिक रुपमा ६८ हजार नयाँ केश थपिदा सो अवधीमा क्षयरोगबाट मृत्यु हुनेको संख्या १६ हजार बढी छ । यो भयावह अवस्थालाई रोक्न, नयाँ संक्रमित र त्यसबाट मृत्यु हुनेक्रमलाई न्युनिकरण गर्न केन्द्रले हरसम्भव प्रयास गरिरहेको समेत सुनाए ।
‘पर्याप्त बजेट छैन् । सन् २०२१ देखि २०२६ गरी पाँच वर्षका लागि क्षयरोग कार्यक्रमको बजेट १९२ मिलियन अमेरिकी डलर रहेको भनिएपनि ११० मिलियन डलर मात्रै उपलव्ध छ । अर्थात ४३ प्रतिशत बजेट अझै अभाव देखिन्छ,’ डा तिवारीले अगाडी थपे, ‘क्षयरोग प्रभावित ५१ प्रतिशत नागरिकलाई यस रोगको कारण ठूलो आर्थिक भार खेप्नु परेको छ । यसले लक्ष्यप्राप्तीमा समस्या सिर्जना गरेको हो ।’
कार्यक्रममा अस्पतालका डा नविनप्रकाश साहले भने सेन्टरले अभावका वावजुत सेन्टरले धेरै कामहरु अघि बढाई रहेको बताए ।
‘उपचारका लागि स्वास्थ्य संस्था थपिएका छन्, उपचारको पहुँच बृद्धि भएको छ । परीक्षण गर्ने विधिहरु थपिएका छन् । तीन तहका सरकारबीच समन्वय गरेर कार्यक्रमहरु अघि बढ्दैछ । यसले पक्कै पनि नतिजा राम्रो दिनेछ,’ उनले भने ।
नेपालले सन् २०३० सम्ममा क्षयरोग महामारीको अन्त्य र २०५० सम्म क्षयरोग मुक्त नेपाल हासिल गर्ने लक्ष्य लिएको छ ।
सम्पर्क इमेल : [email protected]