‘साँघुरो’ सरकारी अस्पतालको फराकिलो सेवा
काठमाडौँ, १० चैत । अस्पतालले सेवा दिन थालेको तीन दशक पुग्न थालेपनि भक्तपुर क्यान्सर अस्पताल सरकारी मातहतमा आएको पाँच वर्ष पुगेको छैन । तर जब सरकारी मातहतमा आयो त्यहाँको सेवा झन् लोभलाग्दो गतिमा बिस्तार भएको छ ।
सरकारले १०० शैय्या स्वीकृति दिए पनि अहिले दैनिक १३५ भन्दा बढी शैय्यामा सेवा दिई रहेको छ । यो निरन्तर थपिने क्रममा छ । ‘अहिले त शैय्या राख्ने ठाउँ नै छैन् । बिरामीको चाप निक्कै बढेको छ । हामीले ठाउँ पाउने वित्तिकै शैय्या विस्तार गर्नुपर्ने बाध्यता छ,’ अस्पतालका निमित्त कार्यकारी निर्देशक डा. उज्वल चालिसेले सुरुमै भने ।
पुरानो भवनमा प्रयोगशाला सञ्चालन भएको अस्पतालमा नयाँ भवनबाट ओपिडी, आईपीडीसहित डे कियर, प्यालेटिभ केयरका सेवाहरु दिईएको छ । परीक्षणका लागि सिटिस्क्यान तथा उपचारमै प्रयोग हुने रेडियोथेरापी तथा त्यसका लागि चाहिने बंकर पनि नयाँ भवनमा राखिएको छ । गत मंसिरबाट १४ वर्ष मुनिका बालबालिकाको क्यान्सर उपचार निशुल्क गर्ने सरकारको नीति पछि अहिले बालबालिकाको चाप असाध्यै बढेको छ ।
‘अब त यहाँ विस्तार गर्ने कुनै ठाउँ नै छैन । नयाँ तथा पुरानो भवनका छतमा पनि हामीले ट्रष्ट राखेर शैय्या विस्तार गर्दैछौँ । शैय्या विस्तार गरेर मात्रै भएन, सेवा बढ्दा, प्याथोलोजी, फार्मेसी, रेडियोलोजी लगायतका अरु सेवाको अनुपात पनि बढ्ने नै भयो । त्यसैले भर्याङ मुनिका छिडी देखि कौशी समेत बारबेर गरेर समाधानको प्रयास गरेका छौँ,’ डा. चालिसेले बताए ।
किन यस्तो चाप बढ्यो ?
‘हाम्रो सेवा प्रतिको विश्वास त होला,’ छोटोमा उनले भने ।
एक छिन पछि उनले थपे, ‘सरकारी अस्पताल हो । निजीमा भन्दा सुलभ सेवा हुने भयो । सामान्य त क्यान्सरको सबै खाले उपचार सेवा दिने धेरै सरकारी संस्था पनि छैनन् । आम नागरिकको आशाको केन्द्र भएर पनि होला ।’ उनले त्यहि निर जोडे, ‘बिरामीको चाप बढ्नाले अहिले त अस्पताल साँघुरो भएको छ, तर सेवा फराकिलो छ ।’

सरकारी बन्नु अघि यो अस्पताल अर्बुदरोग निवारण संस्था नामको गैर सरकारी संस्थाको सञ्चालनमा थियो । सो संस्थाले भक्तपुर क्यान्सर प्रोजेक्टको रुपमा २५ मंसिर २०५३ मा अघि बढाएको नयाँ परियोजनालाई केही वर्षमै अस्पतालको रुप दिईयो । पछि व्यवस्थापनमा दरार उत्पन्न हुँदा सरकारले हस्तक्षेप गरी आफू मातहत ल्याएको हो । ६ पुस २०७७ मा भक्तपुर क्यान्सर अस्पताल विकास समिति (गठन) आदेश २०७७ जारी भएपछि पूर्ण सरकारी बनेको हो ।
‘सरकारी भए पनि हामी ठूलो परियोजनाका लागि बाहेक सरकारको उती सारो मुख ताक्दैनौँ । कर्मचारीका लागि हामी आफै कमाउँछौँ । साना तिना मेसिन उपकरण देखि सेवा विस्तारका काममा हाम्रो आफ्नै स्रोत परिचालन गर्ने गरेका छौँ । तर सरकारी अस्पताल भएकोले केन्द्रले पनि धेरथोर बजेट दिने गरेको छ,’ डा. चालिसेले अस्पताल आत्मनिर्भरतामा अघि बढेको सुनाए ।
‘दैनिक औषत ६- ७ वटा सर्जरी हुन्छ । लिनियाक र भावाटोनबाट रेडियोथेरापीको काम भइरहेको छ । पहिले रेडियो थेरापीका लागि तीन महिनासम्म पालो कुर्नु पर्दथ्यो तर अहिले तीन साता पछाडी जानु पर्दैन,’ उनले अर्को सकारात्मक पाटो औल्याएँ ।
‘धेरै सरकारी अस्पतालका फार्मेसीमा आवश्यक औषधी नपाउने समस्या छ । तर भक्तपुर क्यान्सर अस्पतालमा सो समस्या पनि निकै नै कम छ । हामीकहाँ भएको फार्मेसीमा कम्तीमा ९० प्रतिशत औषधी पाइन्छ नै । बाँकी १० प्रतिशतमा नेपालमा दर्ता नभएका र दर्ता भएर पनि नेपाल नल्याइएका औषधीहरु हुन सक्छन्,’ उनले दावी गर्दै भने ।
त्यसो त भक्तपुर क्यान्सर अस्पताल आफैमा ठूलो साइजको अस्पताल होइन तर यसले वीरगञ्जको नारायणी अस्पताल र बिराटनगरको कोशी अस्पतालमा क्यान्सर सेवा विस्तार गर्ने गरी जिम्मा लिएको छ । जिम्मा लिएको मात्रै होईन सेवा दिन थालिसकेको छ ।
डा. चालिसे भक्तपुर क्यान्सर अस्पतालले यहि अवस्थामा रहेर बिरामीको चाप धान्न नसक्ने बताउँछन् । त्यसैले जतिसक्यो छिटो अस्पतालको सेवा विस्तार गर्ने योजनामा उनी छन् । ‘हामीले कम्तिमा ३०० बेडको अस्पताल बनाउनै पर्छ । तर यहाँ अहिले त्यो सम्भव छैन । त्यसैले हामीले जग्गा खोजी गरेका छौँ । र ४५ रोपनी जग्गा लगभग टुंगो लागि सकेको पनि छ,’ डा. चालिसेले अगाडी थपे, हातै लागिसकेको अवस्था त होइन तर चांगुनारायणमा ४५ रोपनी दिने कार्यपालिकाले निर्णय गरेको छ । यसमा केही थपेर ५० रोपनी पुर्याईदिने समेत नगरपालिकाबाट आश्वासन आएको छ । हामी यसमा निकै नै आशावादी छौँ । जति हो छिटो यो परियोजना अघि बढाउन चाहन्छौँ ।’
‘अस्पतालमा आएको भीडले क्यान्सर रोग डरलाग्दो गरी बढेको संकेत गर्दछ हो ?’ अन्तिम प्रश्नमा उनले त्यसलाई पूर्ण स्वीकार भने गरेनन् ।
‘रोग त पहिले पनि थियो, पहिचान कम थियो होला,’ जवाफको क्रममा उनले अगाडी थपे, ‘अहिले केही खानपान, जीवनशैलीका कारण रोग लाग्ने दर बढेको हो संगसंगै पहिचान र उपचारको पहुँचमा नागरिकहरु अस्पतालसम्म आईपुग्न थालेका हुन् ।’
उनले अन्तिममा खानपान, शारीरिक व्यायम संगै क्यान्सर स्क्रिनिङमा पनि व्यक्ति स्वयंले ध्यान दिनु पर्ने सुझाव दिए ।
‘सरकारले गर्ने काम त यी र यी बाहेक अझै धेरै छ,’ उनले भने ।
सम्पर्क इमेल : [email protected]