विश्व मुख स्वास्थ्य दिवसको अवसरमा केडीसीले गर्यो जनचेतनामुलक प्रभातफेरी
महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई मुख स्वास्थ्य सम्वन्धी सचेतनामुलक तालीम
काठमाडौँ, ७ चैत । आज २० मार्च अर्थात विश्व मुख तथा दन्त स्वास्थ्य दिवस – २०२५ । नेपालमा पनि विभिन्न जनचेतनामूलक कार्यक्रम गरी मनाइएको छ ।
यता बसुन्धरास्थित कान्तिपुर डेन्टल कलेज टिचिङ्ग हस्पिटल एण्ड रिसर्च सेन्टर (केडीस) तथा कान्तिपुर स्कुल अफ डेन्टिस्ट्रीले भने संयुक्त रुपमा विशेष कार्यक्रमको आयोजना गरि यो दिवस मनाएको छ ।
यस अवसरमा बिहीबार बिहान मुख तथा दन्त स्वास्थ्यसम्बन्धी सचेतना फैलाउन र्याली आयोजना गरिएको थियो । यस्तै विद्यार्थीबीच सचेतनामुलक टिकटक प्रतियोगिता, पम्प्लेट प्रतियोगिता समेत गराईएको थियो ।
‘ह्याप्पी माउथ इज अ ह्याप्पी माइन्ड’ भन्ने नाराका साथ सुरु भएको यो कार्यक्रममा ‘सामुदायिक मुख स्वास्थ्य कार्यक्रम प्रतिवेदन’ विमोचन तथा निःशुल्क दन्त परीक्षण कार्यक्रमसमेत गरिएको छ ।
कान्तिपुर डेन्टल कलेजले हालसम्म ६३ भन्दा बढी जिल्लामा पुगेर निःशुल्क मुख तथा दन्त स्वास्थ्य शिविर सञ्चालन गरिसकेको छ । साथै, विद्यालय दन्त स्वास्थ्य शिक्षा कार्यक्रम, महिला स्वास्थ्य स्वयंसेविका, शिक्षक, सांसद, मातृ शिशु कार्यकर्ता तथा हेल्थपोस्ट प्रमुखहरूलाई अभिमुखीकरण तालिम प्रदान गर्दै आएको छ ।
कलेजका अध्यक्ष डा बुद्धिमान श्रेष्ठले मुख तथा दन्त स्वास्थ्यलाई राष्ट्रिय स्वास्थ्य नीतिमा समावेश गर्न आग्रह गरेका छन्। दन्त स्वास्थ्यको पहुँच विस्तार गर्न सरकारले ठोस नीति ल्याउनुपर्नेमा उनको विशेष जोड छ । ‘हाम्रो कलेज तथा शिक्षण अस्पतालले निरन्तरता दिइरहेको यस कार्यमा सरकारी तवरबाट नै सहयोग पाउन सके यस कार्यलाई अझै सुदृढ रुपमा देशभर सञ्चालन गर्न सकिन्थ्यो । तसर्थ यसै अवसरमा नेपालको स्वास्थ्य नीति पूर्ननिर्माण गर्दा मुख स्वास्थ्यलाई समेत ध्यान दिनको लागी अनुरोध गर्न चाहान्छु’ उनले भने ।
नेपालमा दन्त स्वास्थ्य समस्या व्यापक रहेको र अधिकांश नेपालीले दन्त उपचार सेवा नपाइरहेको तथ्यांकहरूले देखाएका छन् । विश्व स्वास्थ्य संगठनको प्रतिवेदन अनुसार संसारभरि सबैभन्दा बढी समस्या मुख तथा दन्त स्वास्थ्यको रहेको छ । नेपालमा ३५–४४ वर्ष उमेर समूहमा पाइरियाका कारण दाँत झर्ने समस्या सामान्य बनिसकेको छ । साथै, दाँतमा किरा लाग्ने, गिजाको रोग, मुखको क्यान्सरजस्ता समस्याबाट पीडित व्यक्तिको संख्या दिनप्रतिदिन बढ्दैछ ।
मुख तथा दन्त स्वास्थ्यको समस्या मुटु रोग, मधुमेह र गर्भवती महिलामा जटिलतासमेत निम्त्याउने भएकाले गर्भ जाँचका क्रममा दन्त स्वास्थ्य परीक्षण अनिवार्य गरिनुपर्ने चिकित्सकहरू बताउँछन् । नेपालमा हाल ७० प्रतिशतभन्दा बढी जनसंख्याले दन्त उपचार सेवा पाउन सकेका छैनन् ।
नेपाल मेडिकल काउन्सिलमा ४ हजार ८८३ जना दन्त चिकित्सक दर्ता भएको भए पनि त्यसमध्ये ६० प्रतिशत चिकित्सक मात्रै नेपालमै कार्यरत छन्, जसले गर्दा देशभरका करिब ३ करोड जनसंख्यालाई सेवा प्रदान गर्न चुनौतीपूर्ण भइरहेको छ । यसकारण नेपाल सरकारले प्राथमिक स्वास्थ्य केन्द्रमा दन्त चिकित्सकको दरबन्दी सिर्जना गर्नुका साथै सबै हेल्थ पोस्टमा डेन्टल हाइजेनिस्टहरूको व्यवस्था गर्नुपर्ने आवश्यकता रहेको छ ।
महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई मुख स्वास्थ्य सम्वन्धी सचेतनामुलक तालीम
यसैबीच मुख स्वास्थ्य दिवसको अवसरमा बिहीबार कान्तिपुर डेन्टल कलेज टिचिङ हस्पिटल एण्ड रिसर्च सेन्टरले टोखा नगरपालिकामा कार्यरत ९५ जना महिला स्वास्थ्य स्वयंसेविकालाई मुख तथा दन्त स्वास्थ्य सम्वन्धी सचेतनामुलक प्रशिक्षण दिएको छ ।
अस्पतालको सेमिनारहलमा चलाएको तालीममा स्वयंसेविकाहरुलाई मुख स्वास्थ्य राख्ने उपाय, मुख तथा दन्त स्वास्थ्यको महत्व लगायतका विषयमा प्रशिक्षण दिइएको थियो ।
कार्यक्रममा बोल्दै कलेजका अध्यक्ष डा बुद्धिमान श्रेष्ठले नेपालको स्वास्थ्य क्षेत्रको मुख्य मेरुदण्ड मानिने महिला स्वास्थ्य स्वयंसेविकालाई मुख तथा दन्त स्वास्थ्यबारेमा प्रशिक्षण दिने केडीसी पहिलो हो भन्दै अहिले पुन: जोडिन पाएकोमा खुशी व्यक्त गरे ।
उनले मुख तथा दन्त स्वास्थ्यका बारेमा आफू र समुदायलाई सचेत बनाउन स्वयंसेविकाहरुको भूमिका महत्वपूर्ण हुने बताए ।
सम्पर्क इमेल : [email protected]