क्यान्सर रोगको उपचारमा प्रयोग हुने ‘केमो’ नि:शुल्क उपलब्ध गराउने तयारीमा सरकार

पक्षघातमा प्रयोग हुने ८०० भाइल एल्टीप्लेस २० एमजी औषधी सरकारलाई हस्तान्तरण

काठमाडौँ, ७ चैत । नेपाललाई लामो समय देखि औषधी तथा उपकरणमा सहयोग गर्दै अमेरिकी च्यारिटि संस्था डाइरेक्ट रिलिफले अब क्यान्सर रोगको औषधी समेत सहयोग गर्ने भएको छ । सो संस्थाले क्यान्सर रोगको उपचारमा प्रयोग हुने ‘केमो’ (औषधी) निशुल्क उपलव्ध गराउने तयारी गरेको हो ।

पछिल्लो पटक डाइरेक्ट रिलिफले नेपालमा पक्षघातका बिरामीलाई प्रयोग हुने एल्टीप्लेस २० एमजी को ८०० भाइल औषधी सहयोग गरेको छ । बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका भएको सोही औषधी हस्तान्तरण कार्यक्रममा स्वास्थ्य मन्त्री प्रदीप पौडेलले क्यान्सर रोगबिरुद्ध प्रयोग हुने महंगा औषधी (केमो) पनि निशुल्क आउने बताएका हुन । उनले ती औषधी पनि डाइरेक्ट रिलिफबाट सहयोग हुने बताए ।

‘स्ट्रोकमा प्रयोग हुने यी औषधीसंगै हामीले क्यान्सरमा प्रयोग हुने केमो (औषधी) पनि निशुल्क प्राप्त हुने गरी डाइरेक्ट रिलिफसंग सम्झौँता गरिसकेका छौँ । औषधी भने आउन बाँकी नै छ । केही समय पछि आउँछ नै,’ पत्रकार सम्मेलनमा मन्त्री पौडेलले भने, ‘आम सर्वसाधारण, गरीब नेपालीलाई उपचारको सहज पहुँचका लागि महंगो पर्ने औषधीहरुलाई च्यारिटेवल संस्थासंग समन्वय गरेर व्यवस्था मिलाउँदै छौँ । यसले आम नागरिकलाई पक्कै पनि राहत हुने छ भन्ने विश्वास लिएको छु ।’

पक्षघातका बिरामीलाई प्रयोग हुने ८०० भाइल एल्टीप्लेस २० एमजी औषधी हस्तान्तरण

यसैबीच डाइरेक्ट रिलिफले पठाएको ८०० भाइल एल्टीप्लेस – २० एमजी औषधी नेपालमा उसको कार्यक्रम संयोजन गर्ने संस्था वान हार्ट वर्ल्डवाइडले सरकारलाई बुझाएको छ ।

बिहीबार स्वास्थ्य मन्त्री पौडेलको उपस्थितिमा वान हार्ट वर्ल्डवाइडका नेपाल निर्देशक सूर्य भट्टले स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखाका निर्देशक डा पवनजंग रायमाझीलाई हस्तान्तरण गरे ।

त्यसअघि बोल्दै भट्टले सन् २०१५ देखि डाइरेक्ट रिलिफसंग सहकार्य र समन्वय गर्दै आफ्नो संस्था अघि बढेको भन्दै नेपालमा स्वास्थ्य उपकरण, पूर्वाधार तथा औषधी क्षेत्रमा डाइरेक्ट रिलिफको ठूलो सहयोग भएको बताए । उनले आवश्यकता अनुसार स्वास्थ्यमा थप सहयोग पनि हुने जानकारी दिए ।

स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखाका प्रमुख डा रायमाझीले पहिलो चरणमा न्युरोलोजीमा डीएम गरेका चिकित्सक भएका तीनवटा सरकारी संस्थामा यो औषधी पठाउन लागेको बताए । उनले पहिलो चरणमा वीर अस्पताल, त्रिवि शिक्षण (टिचिङ) अस्पताल र भरतपुर अस्पतालमा पठाउन लागिएको बताए ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका डा गुणनिधि शर्माले मस्तिष्कको रक्तनलीमा रगत जमेर हुने पक्षघातमा साढे ४ घण्टा भित्र यो औषधी दिन सकिएमा बिरामीलाई तत्काल सुधार आउने विभिन्न अनुसन्धानले पुष्टि गरेको बताए ।

स्वास्थ्य मन्त्री पौडेलले भने पहिलो चरणमा तीनवटा अस्पतालमा यसको वितरण भए पनि क्रमश प्रदेश तहमा रहेका संघीय अस्पतालहरुमा उपलव्ध हुने गरी व्यवस्था मिलाउने जानकारी दिए । मन्त्री पौडेलले समयमै उपचार पाए ज्यान जोगाउन सकिने भए पनि आर्थिक अभावमा कतिपय नागरिकको ज्यान गएकाले महँगो औषधी सहयोग प्राप्त गरेर उपलब्ध गराइन लागिएको बताए ।

‘निकै महँगो औषधी किनेर दिन गाह्रो परेको थियो,’ उनले भने, ‘कसरी उपलब्ध गराउन सकिन्छ भनेर पहल गरेका थियौं । अहिले औषधी उपलब्ध भएको छ ।’

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *