जलनपीडितको उपचार तथा पुनःस्थापनाका लागि सरकार संवेदनशील छ: प्रधानमन्त्री ओली

काठमाडौँ, ७ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले जलनपीडितहरूको उपचार तथा पुनःस्थापनाका सम्बन्धमा सरकार संवेदनशील रहेको बताएका छन्।

बिहीबारको प्रतिनिधिसभाको बैठकमा सांसदहरूसँगको प्रश्नोत्तर कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।

जलन पीडित र जलनका घाइतेहरुको उपचार र क्षतिपूर्तिको सन्दर्भ आफू व्यक्तिगत रुपमा समेत गम्भिर रहेको उनको भनाइ छ।

प्रधानमन्त्री ओलीले भने, ‘जलनपीडित र जलनका घाइतेहरूको सन्दर्भमा अथवा क्षतिपूर्तिको सन्दर्भमा म गम्भीर छु। जलन पीडित र पुनःस्थापनाका सम्बन्धमा सरकार संवेदनशील छ। तेजाव र अन्य रसायनिक घातक पदार्थ नियमन ऐन, २०७९ ले यस सम्बन्धमा पर्याप्त व्यवस्था गरेको जानकारी दिन चाहन्छु। जलनपीडितहरूको उपचार र पुनःस्थापनाका सन्दर्भमा सदनमा दर्ता भएको निजी विधेयकको छलफलका क्रममा सरकारले आफ्नो धारणा विस्तृत रूपमा राख्नेछ।’

उनले जलन अस्पतालहरूको विस्तार र स्तरोन्नति गर्नका लागि समेत सरकार काम गरिरहेको जानकारी दिए ।

त्यस्तै, प्रधानमन्त्री ओलीले मातृशिशुको स्वास्थ्य अवस्था सुधार गर्न सरकारले सङ्घ, प्रदेश र स्थानीय तहका अस्पताल एवं स्वास्थ्य संस्थाहरूबाट विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको बताएका छन् ।

प्रधानमन्त्रीले लुम्बिनी प्रदेशमा सुविधासम्पन्न ‘बर्थिङ’ हस्पिटल निर्माण गर्नका लागि नेपाल सरकार, थाइल्याण्ड अन्तरराष्ट्रिय सहयोग नियोग र युएनएफपिए नेपालको सहकार्यमा सम्भाव्यता अध्ययन भइरहेको जानकारी दिए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *