नेपालमा १ देखि ९ बर्ष उमेर समूहका ५१ प्रतिशत बालबालिकाहरुमा दाँत किराले खाने समस्या
काठमाडौँ, ७ चैत । आज २० मार्च अर्थात विश्व मुख स्वास्थ्य दिवस । ‘स्वस्थ्य मुख, सकारात्मक सोच” भन्ने नाराका सहित नेपालमा पनि यो दिवस मनाईदै छ ।
पछिल्लो समय मुख सम्बन्धी रोगको उपचारमा सुधार भएता पनि दाँत किराले खाने रोग, गिजा सम्बन्धी रोग, मुख र ओेठको अर्वुद्ध रोग (क्यान्सर) विकसित र अल्पविकसित देशहरुमा जनस्वास्थ्य समस्याको रुपमा रहेको छ ।
विश्व स्वास्थ्य संगठनको अध्ययन (सन् २०१९) अनुसार नेपालमा १ देखि ९ बर्ष उमेर समूहका करिब ५१.२ प्रतिशत बालबालिकाहरु दाँत किराले खाने रोग र १५ बर्ष भन्दा माथिको उमेर समूहका करिब १४.८ प्रतिशत जटिल प्रकृतिका गिजा रोगबाट प्रभावित रहेको देखिएको छ ।
नेपालमै प्रति एक लाख जनसंख्यामा लगभग ३.४ व्यक्तिहरु ओठ र मुखको क्यान्सरबाट प्रभावित छन् । मुख स्वास्थ्य सम्बन्धी उच्च तथा मध्यम स्तरको उपचार सेवाको विस्तारमा उल्लेखनीय प्रगति हुँदै गईरहेको छ । तसर्थ स्वास्थ्यमा सर्वव्यापी पहुँचलाई कार्यान्वयन गर्नका लागि मुख स्वास्थ्य क्षेत्रमा व्यापक सुधारको खाँचो देखिन्छ ।
अधिकांश दुर्गम स्थानीय तहहरुमा मुख स्वास्थ्य सेवाको पहुँच पर्याप्त नहुनु, आवश्यकता अनुसार उपलब्ध मुख स्वास्थ्य जनशक्तिको समतामुलक वितरण हुन नसक्नु, अनुसन्धानबाट प्राप्त तथ्य अनुसार नीति योजना निर्माण तथा कार्यान्वयन नहुनु, आधुनिकीकरण संगै नेपालीहरुको आहारमा आएको परिवर्तनले गर्दा मुख स्वास्थ्य सम्बन्धी समस्याहरु बढिरहेको बताइएको छ ।
यस्तै मुख स्वास्थ्य सेवामा सरकारी लगानी वृद्घि गर्दै सेवाग्राही मैत्री गुणस्तरीय सेवा सुनिश्चित गर्नु र देश भरी सञ्चालित सेवाहरुको प्रभावकारी नियमन गर्नु, सामाजिक आर्थिक रुपले कमजोर रहेका जनसमुदायमा हालको उपलब्ध श्रोत साधनबाट आधारभूत मुख स्वास्थ्य सेवा पुर्याउनु, मुख स्वास्थ्य सेवालाई समतामुलक र उपयुक्त स्रोत साधन सहित सेवालाई व्यवस्थित गर्नु ठूलो चुनौती रहेको छ ।
यसैगरी बढ्दै गएको दाँत तथा मुख स्वास्थ्य सम्बन्धी शिक्षण संस्थाहरुको गुणस्तर सुनिश्चित गर्नु, मुख स्वास्थ्य सेवाको सुधारका लागि अनुगमन प्रणाली सुदृढ गर्नु पनि चुनौती रहेको बताइएको छ ।
नीतिगत व्यवस्था के छ ?
जनस्वास्थ्य नियमावली २०७७ को अनुसूची १ मा आधारभूत स्वास्थ्य सेवामा मुख स्वास्थ्य समावेश भै आईसकेको परिस्थितिमा संघ, प्रदेश र स्थानीय तहबीचको सम्मन्वय र सहकार्यबाट मुख स्वास्थ्य सञ्जाललाई स्थानीय तहसम्म विस्तार गर्न सकिने अवस्था छ ।
प्रायः नेपालीहरुका लागि मुख स्वास्थ्य सम्बन्धी रोगहरुको समयमा उपचार नहुँदा महंगो भएको र सिमान्तकृत तथा कम आय हुने जनसंख्याको लागि सामाजिक सुरक्षा कार्यक्रम र स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गत मुख स्वास्थ्य सेवाको विकास र विस्तार गर्न सकिन्छ ।
त्यसो त नेपाल सरकारको राष्ट्रिय मुख स्वास्थ्य रणनीति (२०८१–२०८७)को दीर्घकालीन सोच पनि “स्वास्थ्य मुख, सुन्दर शरीर’’ भन्ने राखिएको छ ।
यसको लक्ष्य मुख स्वास्थ्यको प्रवद्र्धन र मुख स्वास्थ्य सम्बन्धी जनचेतना अभिवृद्घि, रोगहरुको रोकथाम, नियन्त्रण, उपचारको विकास र पूर्नस्थापना गर्दै प्रत्येक नागरिकमा गुणस्तरीय मुख स्वास्थ्य सेवाको समतामुलक र सर्वसुलभ पहुँच सुनिश्चित गर्र्नेे हो ।
सम्पर्क इमेल : [email protected]