स्वास्थ्यमा रिक्त भएको दुई अतिरिक्त स्वास्थ्य सचिवका लागि बढुवा प्रक्रिया अघि बढ्यो

काठमाडौँ, ६ चैत । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा रिक्त रहेको दुई अतिरिक्त स्वास्थ्य सचिव पदका लागि बढुवा प्रक्रिया अघि बढेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बढुवा समितिले बुधबार सूचना प्रकाशित गर्दै योग्यता पुगेका कर्मचारीलाई आजको १५ दिन भित्र आफ्नो विवरण दर्ता गर्न आव्हान गरेको छ ।

गत १२ फागुनका दिन स्वास्थ्य सचिवबाट डा रोशन पोखरेल र अतिरिक्त स्वास्थ्य सचिवबाट डा दीपेन्द्ररमण सिंह अवकाशमा गएपछि स्वास्थ्य सेवाको अधिकृत १२ औं तहमा दुईवटा दरबन्दी खाली भएको हो ।

बढुवा समितिले स्वास्थ्य सेवा ऐन २०५३ को दफा २५(२) बमोजिम कार्यसम्पादन क्षमताको आधारमा बढुवा सिफारिस गर्ने बताएको छ । उसले २०८१ असार मसान्तसम्म ५ वर्ष सेवा अवधी पुरा भएका एघारौँ तहका अधिकृत कर्मचारीले १२ औँ तहमा बढुवाका लागि प्रतिस्पर्धा गर्न सक्ने भनेको छ ।

‘मन्त्रालयको वेवसाइटमा रहेको बढुवा सम्बन्धि व्यक्तिगत विवरण फारम डाउनलोड गरी उक्त विवरण सम्वन्धित निकायबाट प्रमाणित गराई आजको १५ दिन भित्र मन्त्रायको कर्मचारी प्रशासन शाखामा दर्ता गर्न गत ३ चैतको निर्णय अनुसार यो सूचना प्रकाशित गरिएको छ,’ सूचनामा भनिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा स्वास्थ्य सेवाको १२ औँ तहको अधिकृत पदमा सचिव सहित पाँच जना रहने व्यवस्था छ ।

पछिल्लो १२ औँ तहका तीन जना अधिकृतमा स्वास्थ्य सचिव बनेका डा विकास देवकोटा, अतिरिक्त सचिव डा संगीता मिश्रा र स्वास्थ्य सेवा विभागका महानिर्देशक डा टंकप्रसाद बाराकोटी रहेका छन् ।

स्वास्थ्य सचिव बाहेक १२ औँ तहको अधिकृतको दरबन्दी मन्त्रालयमा दुईवटा अतिरिक्त स्वास्थ्य सचिव पद, स्वास्थ्य सेवा विभागमा महानिर्देशक पद र वीर अस्पतालको प्रमुख हुने व्यवस्था छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *