महाराजगञ्ज नर्सिङ क्याम्पसमा नेविसंघकी पोखरेल बिजयी, एक भोटको अन्तर
काठमाडौँ, ६ चैत । त्रिभुवन विश्वविद्यालय महाराजगन्ज नर्सिङ क्याम्पस स्वतन्त्र विद्यार्थी युनियन (स्वविय)को सभापति पदमा नेपाल विद्यार्थी संघ (नेविसंघ)की विन्दु पोखरेल निर्वाचित भएकी छन् ।
एमाले निकटको अनेरास्ववियुबाट सोही पदकी उम्मेद्धार मनकुमारी बुढालाई एक मतले पछि पार्दै पोखरेल विजयी भएकी हुन् ।
निर्वाचन समितिका अनुसार पोखरेलले २६० मत प्राप्त गर्दा बुढाले २५९ मत प्राप्त गरिन। सो क्याम्पसमा सचिव तथा कोषाध्यक्ष पदमा पनि नेविसंघकै उम्मेद्धार विजयी भएको बताइएको छ । एक जना सदस्य पदमा मात्रै अनेरास्ववियुको उम्मेद्धार निर्वाचित भएको बुझिएको छ ।
यता अनेरास्ववियुले भने मतगणनामा धाँधली भएको भएको भन्दै मतगणना नै बहिस्कार गरेको छ । उसले समानुपातिक मतगणना समेत बहिस्कार गरेको जनाएको छ ।
‘दुवै जनाको २५९-२५९ मत आएको थियो । निर्वाचन समितिले नेविसंघको एक मत बढी देखाएर जवरजस्ती निर्वाचित गराएको हो,’ अनेरास्ववियु नेता तथा निवर्तमान स्ववियु अध्यक्ष नोबिना बस्नेतले भनिन्।
यसअघि महाराजगञ्ज नर्सिङ क्याम्पसमा लामो समय देखि अनेरास्ववियुले जित्दै आएको थियो ।
सम्पर्क इमेल : [email protected]