युएसएआईडीको सहयोग रोकिदा गम्भीर असर परेको स्वास्थ्यको कार्यक्रमहरु के के छन् ? खोजी गर्दै सरकार
काठमाडौँ, ४ चैत । डोनाल्ट ट्रप्प राष्ट्रपति नबनेको भए अमेरिकाको अन्तराष्ट्रिय सहयोग एजेन्सीको रुपमा परिचित ‘युएसएआईडी’ पक्कै पनि यसरी बन्द हुने थिएन । नेपालले पनि पूर्व सम्झौँता अनुसार नै यसपटक ५ मिलियन अमेरिकी डलर सहित आगामी ५ वर्षसम्म २५ मिलियन डलर सहयोग पाउने थियो ।
त्यसबाट यसअघि नै कार्ययोजना बनेका र सञ्चालनमा रहेका कार्यक्रमले निरन्तरता पाउने थियो । तर दोस्रो कार्यकालको नेतृत्व गर्न आएका ट्रम्पले आश्चर्यजनक रुपमा सहयोग रकम रोके । रोके मात्रै होइन उनले युएसएआईडीलाई नै बन्द गरिदिए । यसबाट नेपाल सरकारले सुरु गरेका वा गर्ने तरखरमा रहेका कतिपय कार्यक्रम रोकिने अवस्थामा पुगेको छ ।
हुन पनि सरकारको रातो कितावमा युएसएआईडीबाट आउने स्रोतको सुनिश्चितता गरेर स्वास्थ्यका लागि यो वर्ष ५ मिलियनको बजेट तोकेको थियो । सोही अनुसार स्वास्थ्यले कार्यक्रम अघि बढाउदै थियो । तर अहिले एक्कासी रोकिएपछि कतिपय महत्वपूर्ण कार्यक्रमलाई समेत असर पुगेको चर्चा चल्न थालेको छ ।
स्वास्थ्यका अधिकारीहरुले अहिले दिनहु जसो अर्थ मन्त्रालयमा गएर अमेरिकी सहयोग रोकिदा पर्ने असर बारेमा कुरा गर्दै बजेटको माग गरिरहेका छन् । विभिन्न चरण र विकल्प समेत हेरेर छलफल भइरहेको छ ।
स्वास्थ्य मन्त्रालयका स्वास्थ्य समन्वय महाशाखा प्रमुख डा भीम सापकोटाले अगाडी थपे, ‘अब पाँच मिलियन डलरको परिपूर्ति गर्न आवश्यक छ कि छैन्, प्राथमिकता के के हुन भनेर घनिभुत छलफल भइरहेको छ ।’
गत साता मात्रै स्वास्थ्य र अर्थका अधिकारीहरु बसेर युएसएआईडीको सहयोगमा सञ्चालित स्वास्थ्यको कार्यक्रमको प्राथमिकता र आवश्यकता निर्धारण गरेका थिए । उनीहरुले ती कार्यक्रमहरुलाई रेड, यलो र ग्रीन जोनमा राखेर आवश्यकता निर्धारण गरेका थिए ।
‘युएसएआईडीको सहयोग रोकिदा कुन कुन कार्यक्रमलाई एकदम ‘ह्याम्पर’ भयो भनेर हामीले कार्यक्रमहरुलाई रेड, यलो र ग्रीन जोनमा छुट्याएका छौँ,’ डा. सापकोटाले भने ।
उनका अनुसार ‘रेड जोन’मा परेका कार्यक्रमहरु नगरे पनि वा स्थगित गरे पनि केही फरक पर्दैन भन्ने खालका छन् ।
‘यलो जोन’मा परेकाहरु यदि स्रोत जुटाई गर्न सके राम्रो हुन्थ्यो भन्ने खालका राखिएका छन् ।
‘ग्रीन जोन’मा भने जसरी पनि गर्नै पर्ने कार्यक्रमहरु राखिएका छन् । डा सापकोटा भन्छन्, ‘ग्रीन जोनमा परेका कार्यक्रमहरु ऋण खोजेर पनि गर्नुपर्छ भन्ने हो ।’
मन्त्रालयले अहिले युएसएआईडीको सहयोगमा चल्ने कार्यक्रमहरुलाई तीन प्राथमिकतामा राखेको बताए पनि कुन कुन कार्यक्रम गर्नै पर्ने अर्थात ‘ग्रीन जोन’मा राखिएका छन् भनेर सुनाएको छैन। ‘अहिले हामी यसमै काम गरिरहेका छौँ । पछि त सार्वजनिक भइहाल्छ,’ डा. सापकोटाले भने ।
नेपालमा युएसएआईडीका २६ वटा कार्यक्रम थिए ।
सम्पर्क इमेल : [email protected]