दादुरा रोकथाम अभियानमा बाधक बनेको ‘एन्टी–भ्याक्स’ के हो ?
दादुरा मोर्बिलि भाइरस प्रजातिमा पर्ने एक आर.एन.ए भाइरसबाट हुने संक्रामक रोग हो । दादुरा रोग सो रोगबाट संक्रमित बिरामीको नाक तथा घाँटीबाट निस्किने तरल पदार्थको सम्पर्कमा आँउदा, हाच्छ्यूँ गर्दा र खोक्दा सर्ने गर्दछ ।
दादुराले खास गरेर कुपोषित बच्चाहरूको बढी मृत्यु गराउँछ । दादुरा रोग अतिसंक्रमित रोग भएकोले यस रोगको प्रतिरोधात्मक क्षमता कम भएका बालबलिका रोगीको सम्पर्कमा आएमा दादुरा रोगबाट संक्रमित हुन्छन् ।
सन् १९६० को अन्तसम्म पनि दादुराबाट विश्वमा वर्षेनी लाखौ मानिसहरुको मृत्यु हुने गरेको थियो । नेपाल जस्ता गरीब देशमा त झन दादुरा बालमृत्युको मुख्य कारण बनेको थियो ।
सन् १९७१ मा मौरिस हिलेमनले दादुरा, गलगाँड र रुबेला खोपहरू संयोजन गर्दै एम.एम.आर खोप विकास गरे । यो खोप लगाउन थालेपछि विश्वव्यापी दादुराबाट हुने मृत्यु ७३ प्रतिसतले घट्न पुग्यो । खोप लगाउन थालेदेखि ९७% प्रभावकारिता दर भएको एम.एम.आर खोपलाईनै सबैभन्दा प्रभावकारी खोपको रुपमा स्वीकार गरिएको छ, जसले विश्वव्यापी रूपमा अनुमानित ५ करोड ६० लाख मृत्युलाई रोकेको तथ्यांकले देखाउछ ।
विश्व स्वास्थ्य संगठनले युरोपमा पछिल्लो २५ वर्षमा सबैभन्दा धेरै दादुरा संक्रमित फेला परेको जनाएको छ । संगठनका अनुसार सन् २०२३ को तुलनामा सन् २०२४ मा युरोपमा दोब्बर दादुरा संक्रमित फेला परेका छन् । सन् २०२५ मा अमेरिकामा दादुराको पुनरागमनले जनस्वास्थ्य तथा स्वास्थ्य सेवा प्रणालीमा चुनौतीको सिर्जना गरेको छ । मार्च २०२५ सम्ममा १२ राज्यहरूमा २२२ भन्दा बढी संक्रमितहरू फेला गरेका र दुई जनाको मृत्यु भएको पुष्टि भएको छ । टेक्सास र न्यू मेक्सिको क्रमशः १९८ र ३० केसहरू सहित यसका केन्द्रबिन्दु बनेका छन् । यो पुनरुत्थानले खोपप्रतिको अविस्वास, हिच्किचाहट र घट्दो खोप दरको जनस्वास्थ्य परिणाम प्रस्तुत गरेको छ । यसको मूल कारक हो, ‘एन्टी–भ्याक्स’ ।
२० औं शताब्दीको अन्त्यतिर आधुनिक खोप विरोधी आन्दोलनले गति लियो जसको मूल कारक एन्ड्रयू वेकफिल्डको अध्ययन थियो, जसले एम.एम.आर (दादुरा, मम्प्स, रुबेला) खोपले अटिजमको खतरा निम्त्याउने कुराको झूटो दाबी गरेको थियो ।
उनले दादुराको खोपले आन्द्रामा घाउहरू गराई न्यूरोटोक्सिक प्रोटीनहरू रक्तप्रवाहमा प्रवेश गराउछ र अन्ततः मस्तिष्कमा पुगी अटिस्टिक लक्षणहरू निम्त्याउँछन् भन्ने झुठो तथ्य प्रस्तुत गरेका थिए । पत्रकार ब्रायन डियरले वेकफिल्डको अनुसन्धानमाथि दुव्र्यवहार, स्वार्थको द्वन्द्व र सम्भावित झूटको सम्भावना लगायतका मुद्दाहरू उठाएपछि मार्च ६, २००४ मा द ल्यान्सेटले लेख आंशिक रूपमा फिर्ता लिएको थियो । यस त्रुटिपूर्ण अध्ययनको अनुसन्धान पछि, फेब्रुअरी २, २०१० मा बेलायतको जनरल मेडिकल काउन्सिलले उक्त पेपरलाई पूर्ण रूपमा प्रतिबन्ध लगाइसकेको छ । हालसम्म पाँच लाखभन्दा बढी बालबालिकामा गरिएका धेरै ठूला अध्ययनहरूले एम.एम.आर खोप र अटिजम बीच सम्बन्ध नरहेको पुष्टि गरिसकेका छन् ।
आजका दिनमा, खोप विरोधी अभियानहरू विश्वव्यापी जनस्वास्थ्य चुनौतिको रुपमा खडा भएका छन् , जसले अहिले दादुरा तथा अन्य रोकथाम गर्न सकिने रोगको प्रकोप विस्तारमा योगदान पुर्याएको छ । वेकफिल्डको दाबीलाइ, सेलिब्रेटीहरू र सामाजिक सञ्जालहरूले थप बढावा दिए, जसले गर्दा २०१० को दशकमा खोप दरमा गिरावट आयो र दादुराको पुनरागमन भयो । अहिले पनि समयसमयमा फेसबुक र युट्युब जस्ता डिजिटल प्लेटफर्महरूमा “भ्याक्सिन च्वाइस क्यानडा“ र “फ्रीडम एन्जल्स“ जस्ता आन्दोलनहरू ट्रेन्ड बनिरहेका देखिन्छन् , यसले खोप विरुद्ध भ्रम छर्न सघाईरहेको छ ।
सन् २०२० देखि केहि समय कोरोनाको कारण दादुरा बिरुद्धको खोप कार्यक्रम केहि प्रभावित समेत भएको थियो ।
विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले दादुरा बिरुद्धको खोप लगाउने दर ७०% भन्दा कम रह्यो भने वार्षिक ५,००,००० भन्दा बढीको मृत्यु हुने अनुमान गरेको छ । यसबाट सबैभन्दा बढी गरीब र विकासोन्मुख देशहरु प्रभावित हुनेछन् । यसत देशका बालबालिकाहरु न्यून पोषणबाट ग्रस्त छन् । उनिहरुको रोग प्रतिरोधात्मक क्षमता कम हुने भएकोले दादुराजस्ता रोगको खतरा खतरा अझै बढ्दै जान्छ । दादुराको लागि प्रतिरोधात्मक क्षमता कायम गर्नका लागि कम्तिमा ९५% खोप दर आवश्यक पर्ने भएकोले उच्च खोप पहुँच तथा सुनिश्चितता हुनु आवश्यक छ ।
नेपालले संगठित खोप अस्वीकार अभियानहरूको अनुभव गरेको त छैन, तर खोपप्रति हिचकिचाहट चिन्ताको विषय बनेको छ ।
२०२२ मा गरिएको एक अध्ययन अनुसार नेपाली जनसंख्यामा कोभिड–१९ बिरुद्धको खोप नलगाएका मानिसहरु मध्ये मात्र ९२.२% सहभागीहरूले खोप प्राप्त गर्न इच्छा व्यक्त गरेको देखाएको छ, जसले केहि जनमानस माझ खोप हिचकिचाहट कायम रहेको संकेत गर्दछ । कोभिड–१९ महामारीको समयमा पनि धेरै खोपका बारेमा गलत सूचना सामाजिक संजाल मा चर्चाका बिषय बन्ने गर्दथे ।
भौगोलिक चुनौतीहरू, दुर्गम क्षेत्रहरूमा कम स्वास्थ्य सेवा पहुँच र विद्यमान खोप हिचकिचाहटले नेपाललाई अझ ठूलो जोखिममा राखेको छ ।
यदि संयुक्त राज्य अमेरिका जस्तो उच्च विकसित , उन्नत स्वास्थ्य सेवा प्रणाली भई खोपहरूमा प्रयाप्त पहुँच भएको देशमा दादुराको पुनरुत्थान हुन सक्छ भने, भोलिका दिनमा नेपाल येस्ता रोगको जोखिममा नपर्ला भन्न सकिन्न। यसका लागि टेलीमेडिसिन र डिजिटल ट्र्याकिंग- हट्स्पोट म्यपिंग जस्ता आधुनिक प्रबिधि अपनाउनुका साथै जनमानस माझ अन्तरक्रिया मार्फत सचेतना फैलाउनु आवश्यक देखिएको छ ।
#कंडेल महाराजगञ्ज मेडिकल क्याम्पसमा बिएस्सी एमएलटी अध्ययनरत छन् ।
सम्पर्क इमेल : [email protected]