अङ्ग प्रत्यारोपित व्यक्ति र स्वास्थ्यकर्मीबीचको मैत्रीपूर्ण फुटवल:

दुई जना मन्त्रीले नेतृत्वको गरेको टीमलाई मिर्गौला प्रत्यारोपितको टीमले बराबरीमा रोक्यो

काठमाडौँ, २७ फागुन । विश्व मिर्गौला दिवसको अघिल्लो दिन आज मिर्गौला प्रत्यारोपित व्यक्तिहरुको समूह र स्वास्थ्यकर्मीहरुको समूहबीच मैत्रीपूर्ण फुटवल खेलको आयोजना भएको छ ।

शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको अगुवाईमा भएको प्रतियोगितामा स्वास्थ्यकर्मी समूहको नेतृत्व युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले र स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले गरेका थिए । यता प्रत्यारोपित समूहको नेतृत्व मिर्गौला प्रत्यारोपित व्यक्ति झङ्क रावलले गरेका थिए ।

लगनखेलस्थित नेपाली सेनाको खेल मैदानमा विहान साढे ९ बजे सुरु भएको ४० मिनेटको मैत्रीपूर्ण खेलमा दुबै समूहले समान २ – २ गोल गरेका थिए ।

मैत्रीपूर्ण खेलमा आयोजकले दुबै टोलीलाई बिजेता घोषणा गरेपछि दुबै टोलीले संयुक्त रुपमा कप उचालेका थिए ।

अघिल्ला खेलहरुमा प्रत्यारोपित हावि हुने गर्दथे ।

तर यसपटक स्वास्थ्यकर्मीको टोलीको खेलमा सुधार देखिएको छ ।

खेलपछि आयोजित कार्यक्रममा स्वास्थ्य मन्त्री प्रदीप पौडेलले प्रत्यारोपणमा सरकारले सक्दो सहयोग गरिरहेको भन्दै प्रत्यारोपण गर्ने अवस्था आउन नदिन आग्रह गरे । उनले सचेतना बढाउनु पर्ने साथी हरेक व्यक्तिले खानपान, जीवनशैली परिवर्तन, नियमित व्यायाम साथै नियमित स्वास्थ्य जाँच गर्नपर्ने बताए । उनले यसका लागि प्रत्यारोपण केन्द्र जस्ता अस्पतालहरुले भूमिका खेल्न सक्ने बताए ।

सो अवसरमा बोल्दै प्रत्यारोपण केन्द्रका निर्देशक डा पुकारचन्द्र श्रेष्ठले अङ्ग प्रत्यारोपण गरेका व्यक्ति पनि नगरेकाहरु भन्दा कम छैनन् भन्ने सन्देश दिनका लागि खेलकुद प्रतियोगिता आयोजना हुँदै आएको बताए । ‘हामीले खेल मार्फत अङ्ग फेल भएका व्यक्तिहरुलाई प्रत्यारोपणका लागि प्रोत्साहन गरेका हौँ। सचेतना जगाएका हौँ,’ उनले भने ।

डा श्रेष्ठका अनुसार प्रत्येक १० जना मध्ये एक जनालाई मिर्गौला रोग लाग्ने गर्दछ । पछिल्लो समय मिर्गौला रोगको प्रकोप पनि बढी रहेको छ । उनले यस अवसरमा रोगको समयमै पहिचान र उपचार तथा रोकथामका महत्वपूर्ण उपायबारे सबैलाई सचेत गराउन कार्यक्रमको आयोजना गरिएको बताए ।

सो अवसरमा लोकप्रिय गायक प्रकाश सपुतले सांगितिक प्रस्तुति दिएका थिए ।

कार्यक्रममा मिर्गौला प्रत्यारोपित समाजको तर्फबाट प्रत्यारोपणविज्ञ समेत रहेका डा पुकारचन्द्र श्रेष्ठलाई सम्मान गरिएको थियो ।

विश्व मृगौला दिवस प्रत्येक बर्ष अंग्रेजी क्यालेन्डर अनुसार मार्च महिनाको दोस्रो बिहीबार मनाइन्छ । यसपटक बिहीबारका दिन होली पर्व परेकोले अघिल्लो दिन नै विविध कार्यक्रम गरी यो दिवस मनाइएको हो ।

खासगरी अङ्ग प्रत्यारोपण गरेका व्यक्तिहरु पनि अरु व्यक्ति सरह जीवन यापन गर्न सक्छन उनीहरु पनि हरेक क्षेत्रमा सक्षम र सबल रुपमा कार्य गर्न सक्छन भन्ने जनचेतना जगाउने उद्देश्यले दिवस मनाउने गरिन्छ । यस पटक विश्व मिर्गौला दिवसको नारा “मिर्गौला स्वास्थ्य बारे शुरुमै थाहा पाउँ” भन्ने रहेको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *