हेटौंडा अस्पतालमा सुरु भयो मुटु रोग सम्बन्धी विशेषज्ञ सेवा
हेटौंडा, २७ फागुन । मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौंडा अस्पतालमा मुटु रोग सम्बन्धी विशषेज्ञ सेवा सुरु भएको छ ।
त्रिवि शिक्षण अस्पतालमा अध्ययनरत मुटु रोग विशेषज्ञ डाक्टर विकेश श्रेष्ठलाई सरकारले दुई वर्षका लागि खटाएपछि उपचार सेवा सुरु गरिएको अस्पतालले जानकारी दिएको छ ।
यसअघि मुटु रोगको उपचारका लागि स्वास्थ्य उपकरण उपलब्ध भइसके पनि चिकित्सक नपाउँदा अस्पतालले उपचार सेवा दिन सकेको थिएन ।
मंगलबार एक समारोहकाबीच बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले हेटौँडा अस्पतालमा थपिएको मुटु रोग सम्बन्धी सेवाको शुभारम्भ गरेका छन् । सो अवसरमा
मुख्यमन्त्री लामाले नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको बताए ।
उनले प्रदेश सरकारले हेटौंडा अस्पतालसहित प्रदेशका १३ अस्पतालको सेवालाई उन्नत बनाउन विशेष प्राविधिक र जनशक्ति व्यवस्थापनमा जोड दिइरहेको बताए ।
चिकित्सकको अभावमा यसअघि मुटु सम्बन्धी सामान्य प्रकारका बिरामीले पनि उपचार पाउन नसक्ने अवस्था थियो । जसकारण बिरामीलाई उपचारका लागि चितवन वा काठमाडौं जानुपर्ने बाध्यता थियो ।
अस्पताल व्यवस्थापन समितिले ३ पटकसम्म र प्रदेश सरकारले १ पटक चिकित्सकका लागि आवेदन खुलाउँदा चिकित्सकहरूले आवेदन नै नदिएको अस्पताल व्यवस्थापन समिति सदस्य उत्सव चौलागाईंले जानकारी दिए ।
समितिले एक वर्षअघि तेस्रो पटक खुलाएको आवेदनमा माल्दिभ्सका एक चिकित्सकले इच्छा देखाएका थिए । त्यो आवेदन रद्द भएपछि अस्पतालले चिकित्सक पाउन नसकेको सदस्य चौलागाईंले बताए ।
अस्पतालले ओपीडी, ईको, टीएमटी, हल्टर, एबीपी र इसिजी सेवा प्रदान गर्नेछ । स्वास्थ्य उपकरण र जनशक्ति अभावका कारण मुटु रोग सम्बन्धी शल्यक्रिया भने अस्पतालमा उपलब्ध हुन नसक्ने जनाइएको छ ।
प्रदेशका स्वास्थ्यमन्त्री किरण थापा मगरले अस्पतालमा कार्डियो सेवा र शल्यक्रियाका लागि क्याथ ल्याबको दीर्घकालीन सञ्चालनका लागि दातृ संस्थासँग साझेदारी गर्ने तयारी पनि गरिरहेको उल्लेख गरे ।
मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डाक्टर प्रदीप ज्ञवालीले अस्पतालको सेवा विस्तारमा निरन्तरता र सुधार महत्त्वपूर्ण भएको बताए ।
ज्ञवालीले उनले अस्पतालका विशेषज्ञ डाक्टरलाई २ वर्षसम्म टिकाउन नीतिगत रुपमा काम गर्न आवश्यक रहेको बताएका छन् ।
सम्पर्क इमेल : [email protected]