वीर अस्पतालको निर्देशकमा डा. दिलिप शर्मा नियुक्त

काठमाडौँ, २७ फागुन । वीर अस्पतालको निर्देशक डा दिलिप शर्मा नियुक्त भएका छन् । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)को उपकुलपति प्राडा भुपेन्द्रकुमार बस्नेतको सिफारिसमा न्याम्सका सहकुलपति समेत रहेका स्वास्थ्य मन्त्री प्रदीप पौडेलले उनलाई दुई वर्षका लागि वीरको निर्देशक पदमा नियुक्त गरेका हुन् ।

गत शुक्रबार मात्रै उपकुलपति प्राडा बस्नेतले डा शर्मा सहित डा अनुपमा कार्की र डा समाज गौतम गरी तीन जनाको नाम निर्देशक पदका लागि सिफारिस गरेका थिए । मन्त्री पौडेलले पहिलो नम्बरमा सिफारिसमा परेका डा. शर्मालाई निर्देशक बनाउने निर्णय गरेका हुन् ।

डा. शर्माले आजै पत्र बुझेर जिम्मेवारी सम्हाल्ने तयारी गरेका छन् ।

‘मन्त्रालयबाट नियुक्ती पत्र लिनका लागि बोलाउनु भएको छ । सम्भवत आज पत्र बुझ्छु र जिम्मेवारी सम्हाल्छु,’ डा. शर्माले छोटो प्रतिक्रिया दिदै भने ।

यसअघि वीरको निर्देशक डा. सन्तोष पौडेल थिए । उनको दुई वर्षे कार्यकाल गत ४ फागुनमा सकिएपछि डा. समाज गौतमले निमित्त निर्देशकको जिम्मेवारी सम्हालेका थिए ।

नव नियुक्त डा शर्मासंग यसअघि चिकित्सा शिक्षा आयोगको निर्देशक, नेपाल मेडिकल काउन्सिलको रजिष्ट्रार जस्ता पदमा रहेर प्रशासनिक जिम्मेवारी सम्हालेको अनुभव समेत छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *