जाजरकोट आयुर्वेद स्वास्थ्य केन्द्रमा नि:शुल्क शल्यक्रिया शिविर सम्पन्न

जाजरकोट, २३ फागुन । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र, खलंगा जाजरकोटमा पाँच दिने निशुल्क शल्यक्रिया शिविर सम्पन्न भएको छ । गत १८ देखि २२ फागुनसम्म सञ्चालित उक्त शिविरमा विशेषगरी मलद्वार सम्बन्धी बिरामीहरुको स्क्रिनिंग र शल्यक्रिया गरिएको छ ।

शिविरमा कूल ३०९ जना बिरामीहरुको चेकजाँचका साथै १२ जना बिरामीको सफल शल्यक्रिया गरिएको स्वास्थ्य केन्द्रका प्रमुख डा। सुदर्शन पोख्रेलले जानकारी दिए । शिविरमा १७२ जना महिला तथा १३७ जना पुरुष बिरामीहरुको स्क्रिनिंग भएको छ ।

प्रदेश आयुर्वेद अस्पताल तथा अनुसन्धान केन्द्र, सुर्खेतका कन्सल्टेन्ट आयुर्वेद सर्जन डा. सरोज मणि पोख्रेलको नेतृत्वमा आयुर्वेद चिकित्सक डा. दिपेन्द्र रानाभाट सहितको टोलीले शल्यक्रिया गरेको हो ।

शिविरमा जाजरकोट जिल्ला स्थित भेरी नगरपालिका, नलगाड नगरपालिका, छेडागाड नगरपालिका, जुनिचांदे गाउँपालिका, बारेकोट गाउँपालिका र कुशे गाउँपालिकाका बिरामीले लाभ लिएका छन् । चेकजाँचका क्रममा जाजरकोट जिल्लामा मलद्वार सम्बन्धी प्रायः सम्पूर्ण रोगहरु व्याप्त रहेको पाइएको छ।

शिविरमा अर्श (पायल्स), भगन्दर (फिस्टुला), परिकर्तिका (फिसर), गुदभ्रंश (रेक्टल प्रोल्याप्स), गुदमांसग्रन्थि (रेक्टल पोलिप), गुदसंकोच (एनल स्ट्रिक्चर) का बिरामीको संख्या उल्लेख्य रहेको पाइएको छ । शिविरमा ५ वर्ष उमेरका बच्चादेखि ७८ वर्ष उमेरका वृद्दसम्ममा मलद्वार सम्बन्धि रोग रहेको देखिएको छ ।

शल्यक्रिया शिविरमा १ जना अर्श, २ जना गुदभ्रंश, ३ जना भगन्दर, ६ जना परिकर्तिका गरी कूल १२ जना बिरामीको सफल शल्यक्रिया गरिएको डा. पोख्रेलले जानकारी दिए । उनका अनुसार शल्यक्रिया गरिनेमा ७ जना महिला एवं ५ जना पुरुष रहेका छन् । यस शिविरपछि पनि यसै केन्द्रबाट सामान्य मलद्वार सम्बन्धि समस्या को उपचार एवं शल्यक्रिया गरिने कुरा प्रमुख डा. पोख्रेलले जानकारी दिए ।

आम जनमानसले विशेषगरी मलद्वार सम्बन्धी रोगहरुको शल्यक्रियामा आयुर्वेदप्रति विश्वास गरेको पाइन्छ । साथै रोगको पुनरावृत्ति दर पनि एकदमै न्यून रहेको पाइन्छ । आफ्नै ठाउँमा यस्तो खालको बिशेषज्ञ शिविर सम्पन्न हुँदा र त्यसबाट आफू लाभान्वित हुन पाउँदा निकै खुसी भएको बिरामीहरु बताउँछन् । ‘हामी सुर्खेत अथवा नेपालगन्ज जानपरेको भए हाम्रो समय र पैसा दुवैको धेरै खर्च हुनेथियो, यहाँ चेकजाँच र जरुरी शल्यक्रियाको व्यवस्था हुँदा हामीलाई निकै नै सजिलो भयो,’  एकजना शल्यक्रिया गराएका बिरामी बताउँछन् ।

यस शिविरमा उपस्थित बिरामीहरुको रोगको अनुपात हेर्दा जिल्ला तहमा समेत बिशेषज्ञ आयुर्वेद शल्य चिकित्सकको आवश्यकता रहेको निष्कर्ष पाउन सकिन्छ । हाल नेपालमा जम्मा १७ जना विशेषज्ञ आयुर्वेद शल्य चिकित्सक रहेका छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *