स्वास्थ्य बीमा सहित स्वास्थ्यका कार्यक्रमका लागि झण्डै चार अर्ब रुपैयाँ निकासा
काठमाडौँ, २१ फागुन । सरकारले स्वास्थ्य बीमाको भुक्तानीसहित स्वास्थ्यसँग सम्बन्धित कार्यक्रमहरूका लागि थप तीन अर्ब ८४ करोड रुपैयाँ निकासा गरेको छ । स्वास्थ्य मन्त्रालयको मागका आधारमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले उक्त रकम निकासा गर्ने निर्णय गरेका हुन् ।
त्यसो त सरकारले चालु आर्थिक वर्षको बजेटमा स्वास्थ्य बीमाका लागि साढे ७ अर्ब बजेट विनियोजन गरेको थियो । तर उक्त रकमले अघिल्लो वर्षको बक्यौता तिर्न पनि नपुगेको स्वास्थ्य बीमा बोर्डले बताउने गरेको थियो ।
यता स्वास्थ्य मन्त्री प्रदीप पौडेलले पनि रकम अभावमा स्वास्थ्य बीमा कार्यक्रमको भुक्तानी गर्न नसकिएको बताउँदै आएका थिए ।
अर्थ मन्त्रालय स्रोतका अनुसार निकासा भएको रकममध्ये स्वास्थ्य बीमा बोर्डलाई तीन अर्ब रुपैयाँ, ज्येष्ठ नागरिकको उपचारलगायतका लागि ६० करोड रुपैयाँ र मुटु रोगका बिरामीलाई निःशुल्क उपचारका लागि सहिद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रलाई २४ करोड रुपैयाँ रहेको छ ।
स्वास्थ्य बीमा बोर्डका निमित्त कार्यकारी निर्देशक डा. सरोज शर्माले सरकारले तीन अर्ब ८४ करोड रकम भुक्तानी दिएको जानकारी दिँदै असारसम्मको भुक्तानी तत्काल अस्पतालहरूलाई वितरण गरिने जानकारी दिए ।
‘यो रकम अब छिटै नै स्वास्थ्य बीमामा आवद्ध भई सेवा दिएका सरकारी, सामुदायिक तथा निजी अस्पतालहरुमा वितरण गर्ने योजना छ,’ डा शर्माले भने । उनले स्वास्थ्य बीमाका लागि बार्षिक १६ अर्ब बढी रकम आवश्यक भएको समेत बताए ।
स्वास्थ्य बीमा बापातको रकम सोधभर्ना सेवा प्रदायक अस्पतालहरुले दिने कतिपय सेवामा समेत प्रभाव परेको छ ।
सम्पर्क इमेल : [email protected]