प्यारेन्टल तथा इन्जेक्टेबल औषधी पनि उत्पादन गर्दै म्याग्नस फर्मा

एक अर्व बढी लगानीमा अत्याधुनिक प्लान्ट निर्माण हुँदै

वीरगञ्ज, २० फागुन । नेपालको औषधी उद्योगको क्षेत्रमा बेग्लै पहिचान बनाएको म्याग्नस फर्माले प्यारेन्टल तथा इन्जेक्टेबल औषधी उत्पादन गर्ने भएको छ। म्याग्नसले आफ्नो उत्पादनका लागि मुख्य उद्योग रहेको वीरगञ्जमा नयाँ अत्याधुनिक प्यारेन्टल प्लान्ट निर्माण गरिरहेको छ ।

वीरगञ्जमा आज आयोजित पत्रकार सम्मेलनमा म्याग्नसका प्रबन्ध निर्देशक सुधीरप्रकाश मास्केले प्लान्ट निर्माणको काम अन्तिम चरणमा पुगेको भन्दै आगामी बैशाख देखि प्यारेन्टल तथा इन्जेक्टेबल औषधीहरु उत्पादन सुरु हुने जानकारी दिए । उनले नयाँ प्लान्टबाट थेराप्युटिक सेगमेन्टका विभिन्न औषधीहरु उत्पादन गर्ने लक्ष्य लिइएको बताए ।

मास्केका अनुसार नयाँ प्लान्टबाट अब क्रिटिकल केयर, पेन मेनेजमेन्ट, न्युरो, साइक्याट्री, अप्थाल्मिक, ईएनटी र एनेस्थेसिया सम्वन्धी उपचारमा प्रयोग हुने प्यारेन्टल तथा इन्जेक्टेबल औषधीहरु उत्पादन हुने छन् ।

मास्केका अनुसार नयाँ प्लान्टका लागि म्याग्नसले एक सय करोड बढी लगानी गरेको छ ।

‘औषधी उत्पादन आफैमा सम्वेदनशील कुरा हो । अझ त्यसमा पनि प्यारेन्टल तथा इन्जेक्टेवल औषधी उत्पादन अझ बढी सम्वेदनशील भयो । यसको गुणस्तरका लागि मापदण्ड, मेसिन तथा उपकरणहरु पनि महंगो हुने हुँदा लगानी बढेको बताए । हामी गुणस्तरमा कुनै सम्झौँता गर्दैनौँ, हाम्रो योजना अन्तराष्ट्रिय बजारमा प्रवेश गर्ने पनि छ । यसैले पनि हाम्रो प्लान्ट कुनै पनि कोणबाट विश्वस्तरीय छ,’ उनले थपे ।

सो क्रममा उनले विश्व स्वास्थ्य संगठनको कुशल औषधि उत्पादन अभ्यास तथा विभिन्न अन्तराष्ट्रिय मापदण्ड अनुसार अत्याधुनिक प्यारेन्टेरल प्लान्ट (स्टेराइल प्लान्ट) निर्माणको काम अन्तिम चरणमा पुगेको बताए ।

म्याग्नसले पत्रकार सम्मेलनअघि सञ्चारकर्मीहरुलाई उक्त नयाँ प्लान्ट भ्रमण गराएको थियो। सो क्रममा प्लान्टमा प्रयोग भएका प्रविधि, उत्पादन पद्धति र प्रणालीबारे जानकारी दिइएको थियो।

फर्माको क्वालिटी विभागका कमलेश कुमार यादवका अनुसार यो त्यस्तो विशेष प्रकारको उत्पादन प्लान्ट हो, जहाँ कुनै पनि प्रकारको जीवाणु, किटाणु, भाइरस तथा त्यसको अवयव रहित औषधी बनाउने प्रक्रिया हो।

उनले भने, ‘यो सिधै ब्लडमा जान भएकाले ब्लड जस्तै शुद्ध बनाउनुपर्छ। हामीले नेपालमा पहिलोपटक यस्ता औषधी बनाउने प्रयास गरेका छौं।’

कम्पनीकी चिफ एक्जुक्युटिभ मञ्जुली श्रेष्ठले म्याग्नस तीव्र गतिमा विकास भएको कम्पनी रहेको बताउँदै नयाँ बेञ्चमार्क तय गर्दै अघि बढिरहेको बताइन्। उनले भनिन्, ‘म्याग्नस फर्मा सन् २००७ मा स्थापना भएर सन् २००९ देखि औषधि उत्पादन गर्न सुरु गरेको कम्पनी हो। बिगत १६ वर्षको अवधिमा म्याग्नस फर्मा देशकै एक प्रमुख प्रतिष्ठित औषधि उत्पादकका रुपमा स्थापित छ । हामीले ५ वटा औषधिहरु नेपाली बजारमानै पहिलोपटक र ३४ भन्दा बढी प्रकारका औषधिहरु पहिलो पटक नेपालमा उत्पादन गरेका छौं।’

फर्माका अध्यक्ष सन्दिप तुल्सियानले म्याग्नस फर्माले अहिलेसम्म २०७ प्रकारका ओएसडी औषधीहरु ल्याइसकेको तथा यसको गुणस्तरीयता र विश्वसनीयता बजारमा स्थापित भैसकेको बताए। ‘अब आउन लागेको इन्जेक्टेबल औषधिहरु देशको स्वास्थ्य क्षेत्रको लागि अत्यावश्यक औषधीहरूमा पर्दछ । यी आउन लागेको औषधिहरुले गुणस्तरमा कुनै सम्झौता नगरिकन, देशको औषधि आयात लाई प्रतिस्थापन गर्ने लक्ष्य लिएका छौँ,’ उनले भने, ‘यस अवसरमा म हाम्रो संस्थापक साथीहरु, कर्मचारी साथीहरु, सरकार, औषधि व्यवस्था विभाग तथा स्वास्थ्य क्षेत्रमा कलम चलाइरहनु भएका पत्रकार साथीहरु प्रति सहयोग र सद्भावना का लागि आभार व्यक्त गर्न चाहन्छु।’

फर्मा प्राविधिक निर्देशक सर्वोत्तम गिरिले आउँदै गरेको इन्जेक्टेबल प्लान्टको उद्घाटन नजिकिदै गर्दा आफू अत्यन्त उत्साहित र आशावादी भएको बताए। उनले थपे, ‘यो हाम्रो लागि एउटा महत्वपूर्ण क्षण हो। इन्जेक्टेबल औषधि निर्माण प्रक्रिया अत्यन्त संवेदनशील विधा भएकोले यसमा अपनाइने निर्माण प्रबिधि तथा नियमन मापदण्डहरु प्रति हामी अत्यन्त सजग तथा चनाखो छौं। नेपालको औषधि उद्योगमा यो इन्जेक्टेबल प्लान्ट एउटा कोसेढुङ्गा साबित हुने कुरामा हामी ढुक्क छौं।’ सम्पूर्ण प्राविधिक टिमले यसलाई चुनौती र अवसर दुबैका रुपमा लिएको बताए।

यसले देशको स्वास्थ्य क्षेत्रमा ठोस योगदान पुर्‍याउनुका साथै औद्योगीक विकास तथा रोजगारी सृजनामा समेत सकारात्मक योगदान पुऱ्याउने अपेक्षा गरेको उनको भनाइ छ।

वित्तिय निर्देशक विनित लोहिया उक्त प्लान्ट र अत्याधुनिक वेयरहाउस गरेर थप एक अर्ब भन्दा बढीको लगानी गरिसकेको बताउँछन्। ‘हामीले उच्च गुणस्तरको औषधि उत्पादनको लागि कुनै सम्झौता नगरिकन लगानी गरेका छौं । देशको वर्तमान सिथिल अर्थतन्त्र तथा रोजगारी प्रवर्द्धनमा थोरै भएपनि टेवा पुग्ने विश्वास लिएका छौं,’ लोहियाले भने।

बिरामीका लागि अत्यावश्यक र नयाँ उत्पादन गर्न रुचाएकै कारण छोटो अवधीमै आफूलाई सफलताको उचाईमा पुर्‍याएको म्याग्नसले नेपाली बजारमै पहिलोपटक मधुमेह सम्बन्धि रोगको उपचारमा प्रयोग हुने GLIPTIN (Sitagliptin), अल्जाइमर्सको उपचारमा प्रयोग हुने DOPEZIL (Donepezil) लगायतका औषधीहरुको  उत्पादन गरेको हो ।

त्यस्तै, हेपाटाइटिस सी र बी जस्ता रोगहरुका लागि अत्यावशयक औषधिहरु SOFUVIR (Sofosbuvir), TENOF (Tenofovir), ENTECA-B (Entecavir) जस्ता औषधीहरु नेपाली ब्रान्डमा पहिलोपटक म्याग्नस फर्माले उत्पादन गरेको हो ।

नाफा भन्दा पनि सेवाभावबाट प्रेरित भएर मिर्गौला रोगका लागि अत्यावश्यक SONATE ( Sodium bicarbonate)  र LONID (Clonidine) जस्ता औषधिहरु पनि उत्पादन गरिरहेको कम्पनीले बताएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *