चिकित्सक संघका ३२ अध्यक्षहरुको विषयमा लेखिएको पुस्तक राष्ट्रपति पौडेलद्वारा बिमोचन
काठमाडौँ, २० फागुन । नेपाल चिकित्सक संघमा स्थापना काल देखि हालसम्म भएका ३२ अध्यक्षहरुको विषयमा लेखिएको पुस्तक ‘चिकित्सक नेतृत्व’ राष्ट्रपति रामचन्द्र पौडेलले बिमोचन गरेका छन्।
संघको ७५ औँ स्थापना दिवसको अवसरमा मंगलबार राजधानीमा आयोजित एक कार्यक्रममा राष्ट्रपति पौडेलले पुस्तक बिमोचन गरेका हुन् ।
पुस्तकमा संघको हालसम्म नेतृत्वमा आएका ३२ जना अध्यक्षहरुको जीवनी, संघमा उनीहरुले गरेका योगदान, संघर्ष लगायतका विषयहरु समावेश छन्।
पुस्तक विमोचनपछि राष्ट्रपति पौडेलले दक्ष र विज्ञ चिकित्सकहरु नेपालमै उत्पादन हुनु र नेपालमै स्तरीय स्वास्थ्य सेवा उपचारको थालनी हुनु सुखद पक्ष रहेको बताए। उनले स्तरीय उपचार सेवाको अनुभव आफूले पनि अनुभव गरेको जानकारी दिए।
संघका अध्यक्ष डा अनिलविक्रम कार्कीले चिकित्सक संघसँगै नेपालको स्वास्थ्य क्षेत्रमा योगदान गर्ने चिकित्सकहरुको सम्मान र स्मरण दुवै हुने भन्दै संघले यो पुस्तक प्रकाशनको निर्णय लिएको हो।
दुई सयभन्दा बढी पृष्ठको उक्त पुस्तकको सम्पादक प्रवीण ढकाल हुन्।
पुस्तकबाट संघको इतिहाससँगै नेपालको चिकित्सा इतिहासको संरक्षण हुने कुरामा आफू ढुक्क रहेको सम्पादक ढकालले जानकारी दिए।
२००७ साल फागुन २० गते स्थापना भएको नेपाल चिकित्सक संघ नै नेपालको पहिलो पेशागत संघ हो।
वीर अस्पतालमा कार्यरत २० जना चिकित्सकहरुले बैठकले संघको स्थापना गर्ने निर्णय गरेका थिए।
संघको पहिलो अध्यक्ष डा सिद्धिमणि आचार्य दीक्षित हुन्।
सम्पर्क इमेल : [email protected]