पाँच मध्ये एक जनालाई सुनाई सम्बन्धि समस्या !

काठमाडौँ, २० फागुन ।  राम्रोसंग सर्वेक्षण नभएका कारण नेपालको सन्दर्भमा एकीन तथ्यांक भन्न त सकिन्न तर विश्वको तथ्यांकले अहिले कम्तिमा पाँच मध्ये एक जनालाई सुनाई सम्वन्धी समस्या भएको देखाएको छ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले यो पनि भनेको छ कि यस्तै अवस्थामा जारी रहे सन् २०५० सम्ममा हरेक चार मध्ये एक जनालाई यो समस्या देखिन सक्छ ।

सोमबार विश्व श्रवण दिवसको अवसरमा नेपालका नाक कान घाँटी रोग विशेषज्ञ चिकित्सकहरुको संस्था ‘सोसाइटी अफ अटोल्यारोनजोलोजिष्ट अफ नेपाल’ (सोल नेपाल) ले आयोजना गरेको अन्तरक्रिया कार्यक्रम (सीएमई)मा विज्ञहरुले अवस्था भयावह रहेको भन्दै यसबारेमा सरकारले विशेष ध्यान दिनु पर्ने बताए । उनीहरुले सचेतनाको कमि, समयमै समस्याको पहिचान र उपचार हुन नसक्ने, ग्रामीण क्षेत्रमा उपचार पहुँचको अभाव जस्ता कारणहरुले बहिरोपना सम्वन्धी समस्या बढ्दै गएको बताए ।

कार्यक्रममा सोल नेपालका नव निर्वाचित अध्यक्ष डा रविन्द्रभक्त प्रधानाङ्गले भर्खरै जन्मेको नवजात शिशु देखि विद्यालय तहका बालबालिकाहरुमा सुनुवाई परीक्षण आवश्यक रहेको बताए । ‘सुरुमै थाहा पाएर उपचार गर्न सकियो भने यस्तो समस्या घटाउँदै लैजान सकिन्छ,’ उनले भने ।

त्यसअघि डा योगेश न्यौपाने, डा ऋषि भट्ट र डा दीपेश शाक्यले श्रवणशक्तिमा के कारणले समस्या हुँदैछ ? राज्यले गर्नु पर्ने दायित्व के ? आम नागरिकले ध्यान दिनुपर्ने कुराहरु के के छन् भनेर प्रस्तुतिकरण दिएका थिए ।

डा न्यौपानेले नेपालमा एकीन तथ्यांक नभए पनि करीव ६० लाख व्यक्तिमा श्रवण समस्या भएको अनुमान गरे । उनले काठमाडौँ सहित केही जिल्लामा गरिएका स साना अनुसन्धानले सो कुरालाई पुष्टी गर्ने बताए ।

अहिले विश्वका एक अर्व ५० करोड मानिसलाई श्रवणशक्ति सम्वन्धी समस्या रहेको भन्दै आगामी २५ वर्षमा यहि गतिमा रहे २ अर्व ५० करोड मानिस यसको समस्याबाट गुज्रने बताए । उनले जनचेतना अभिबृद्धिमै जोड दिन सके पनि ६० प्रतिशत रोकथाम हुने दावी गरे ।

अर्का डा ऋषि भट्टले बहिरोपनालाई अदृश्य खालको अपांगताको रुपमा लिइएको भन्दै बाहिरबाट हेर्दा ठिक ठाक जस्तो देखिएको व्यक्तिलाई सुनुवाईमा समस्या आउँदा त्यसले जीवनमा ठूलो समस्या खेप्नुपर्ने बताए । उनले श्रवणशक्ति कमजोर हुनु वा समस्या आउनुका कारणहरुबारे समेत बताए ।

यसैगरी अर्का डाक्टर दीपेश शाक्यले संक्रमणका कारण पनि कानमा समस्या आउने गरेको भन्दै कानमा तेल लगायतका पदार्थहरु राख्न नहुने बताए । उनले मनको कुरा भन्नलाई र सुन्नलाई सुनुवाई आवश्यक रहेको भन्दै विद्यालय तह देखि नै स्क्रिनिङ गर्नु पर्ने बताए ।

सोही अवसरमा गत माघको पहिलो साता निर्वाचित ‘सोसाइटी अफ अटोल्यारोनजोलोजिष्ट अफ नेपाल’को नयाँ कार्यसमितिलाई जिम्मेवारी हस्तान्तरणको कार्यक्रम समेत सम्पन्न भएको छ । सो अवसरमा नवनिर्वाचित अध्यक्ष डा प्रधानाङ्गले आफ्नो कार्यकाललाई उकृष्ठ बनाउन कार्ययोजना सहितका गतिविधिहरु अघि बढाउने बताएका थिए ।

विश्व स्वास्थ्य संगठनको आव्हानमा हरेक वर्ष ३ मार्चलाई विश्व श्रवण दिवसको रुपमा मनाउने गरिन्छ ।

‘सोसाइटी अफ अटोल्यारोनजोलोजिष्ट अफ नेपाल’मा नयाँ कार्यसमिति

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *