पूर्व सचिव स्व. परीक्षित नर्सिंह राणाको जीवनीमा आधारित पुस्तक ‘धनबुबा’ को लोकार्पण
काठमाडौँ, फागुन १६ गते । पूर्व सचिव स्वर्गीय परीक्षित नर्सिंह राणाको जीवनीमा आधारित पुस्तक ‘धनबुबा’ लोकार्पित भएको छ । शुक्रबार काठमाडौँमा आयोजित कार्यत्रममा स्वर्गीय राणाकी धर्मपत्नी मन (कोकिला) राणाले पुस्तक सार्वजनिक गरिन ।
पुस्तकमाथि प्रकाश पार्दै पूर्वमन्त्री तथा नेपाली काँग्रेसका नेता ज्ञानेन्द्रबहादुर कार्कीले परीक्षित राणाले नेपालको प्रशासनिक क्षेत्रमा ठुलो योगदान गरेको बताए । उनले स्वर्गीय राणाले प्रशासनिक क्षेत्रमा धेरै दुर्लभमध्येका सचिव रहेको जानकारी दिदै उहाँ जस्ता प्रशासक हुने हो भने देशमा विकासको कायापलट गर्न सकिने बताए ।
कार्कीले पूर्व सचिव स्वर्गीय राणा समाज सुधार केबल भाषणमा मात्र सीमित होइन भन्नेमा प्रष्ट हुनुहुन्थ्यो भन्दै कविता पाठ गरेर मात्र विकास नहुने बताए । परीक्षित राणाले बोकेको सपना पूरा गर्न इमानदारीपूर्वक काम गर्नुपर्ने उनको भनाइ छ । नेता कार्की राणाको साइलो ज्वाइँ समेत हुन् । परीक्षितको छोरा प्रसन्न नर्सिंह राणाले बुबाको बारेमा पुस्तक प्रकाशन गरेर उदाहरणीय काम गरेको बताए ।
कार्यक्रममा स्वर्गीय सचिव राणाका छोरा प्रसन्न नर्सिंह राणाले बुबाजस्तो इमानदार व्यक्ति प्रशासक भएकोमा आफूलाई पनि गौरव लाग्ने गरेको बताए । उनले आफ्ना बुबा सामाजिक कार्यमा पनि उत्तिकै सक्रिय रहेको भन्दै सोही बाटो समातेर आफू पनि सामाजिक क्रियाकलापमा अघि बढ्ने प्रयास गरेको बताए ।
पुस्तकमाथि समीक्षा गर्दै पुस्तकका सम्पादक प्राध्यापक करणबहादुर शाहले परीक्षित नर्सिंहले जीवनमा अवलम्बन गरेका इमानदारीका पाइलाहरू सबैका लागि प्रेरणा हुने बताए । स्व. राणा अर्थ मन्त्रालयबाट अधिकृतको जागिर सुरु गरेर सचिवबाट सेवानिवृत्त हुनुभएको थियो, उहाँको जीवनीबाट इमानदारी सिक्न सकिन्छ, उहाँले प्रशासन क्षेत्रमा भ्रष्टाचारविरोधी काम गरेकाले कुनै पनि कार्यालयमा टिक्न दिनुभएन, उनले भने ।
कर्मचारी सञ्चयकोषको प्रथप प्रसाशक स्वर्गीय राणा लोकसेवामा बसेर पनि काम गरेका थिए ।
कार्यक्रममा वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले आफू २०२३ सालमा १६ वर्षको उमेर हुँदा राणाले कर्मचारी सञ्चयकोषमा जागिर लगाइदिएको स्मरण गरे । त्यो बेला १३४ रुपियाँ तलब रहेको स्मरण गर्दै राणा जहिल्यै भ्रष्टाचारविरोधी पात्र भएर उभिनुभएको बताए । उनले सचिव राणालाई राजा महेन्द्र, वीरेन्द्र, सुवर्ण शमशेरको पालामा समेत उनलाई इमानदार र निष्ठा भएका व्यक्तिका रूपमा लिइने गरेको बताए ।
वरिष्ठ साहित्यकार तथा समीक्षक विमल भौकाजीले स्वर्गीय सचिवको जिवनमा आधारित पुस्तक एक वर्ष लगाएर तयार पारिएको जानकारी दिदै स्वर्गीय परीक्षित नर्सिंङ राणाको जीवन र अनेकौँ अवरोहका पक्षमा खोजी–खोजी लेखिएको बताए । पुस्तकमा उनका बारेमा विझिन्न व्यक्तिले व्यत्त गरेका कुराहरूलाई समेटिएको भन्दै उहाँले पाँच भागमा ५० जनाको भनाईलाई स्वर्गीय राणाबारे लेखिएको बताए ।
विसं १९७३ मा जन्मिनुभएका राणा प्रजापरिषद्का समर्थक थिए । सहिद गंगालाल श्रेष्ठका सहपाठी राणा प्रजा परिषदका पक्षमा लडेका थिए । उनलाई तत्कालीन समयमा मृत्युदण्ड दिने तयारी गरिएको बेला कसैले राणा परिवारको व्यक्ति भनेपछि गोर्खाको कारावासमा राखिएको थियो ।
पत्रकार तथा समिक्षक भिम घिमिरेले ३४ वर्षअघि नै मृत्यु भएका राणाको बारेमा लेख्दा विभिन्न अध्ययन र अनुसन्धान गरेर लेखिएको बताए । पाँच खण्डमा लेखिएको पुस्तक २०७ पृष्ठको छ । यो पुस्तकमा विसं १९६५ यताका धेरैजसो राजनीतिक, सामाजिक, प्राकृतिक र प्रशासनिक इतिहास समेटिएको छ ।
लोर्कापण समारोहमा ज्वाई पूर्व एआईजी धीरु बस्नेत, भतिजी आशा राणा अधिकारी, नातिनी डा आश्मा राणा, प्रविण नर्सिह राणा, डा गौरीशंकरलाल दास, विजयलाल श्रेष्ठ लगायतले स्वर्गीय राणाकोबारेमा चर्चा गरेका थिए ।
सम्पर्क इमेल : [email protected]