धुलिखेल अस्पतालको मानसिक विभागका प्रमुख सहित चार चिकित्सकमाथि कार्वाही
'तीन दिन भित्र उपस्थित हुनु' भन्दै बयानका लागि काउन्सिलले बोलायो
काठमाडौँ, १६ फागुन । धुलिखेल अस्पतालका आवासीय चिकत्सकसंग जोडिएको करीव दुई साता अघिको घटनाका विषयमा नेपाल मेडिकल काउन्सिलले त्यहाँका मानसिक रोग विभागका प्रमुख सहित चार जना चिकित्सकमाथि थप अनुसन्धान प्रक्रिया अघि बढाएको छ ।
काउन्सिलको गत १२ फागुनमा बसेको पूर्ण बैठकले धुलिखेल अस्पतालका मानसिक रोग विभाग प्रमुख डा अजय रिसाल, फ्याकल्टीमा कार्यरत चिकित्सकरु डा दीपक कुँवर, डा वर्षा श्रेष्ठ र डा रिका रिजाललाई चिकित्सकीय काम कारवाहीमा सम्लग्न नहुनका लागि पत्राचार गर्ने निर्णय गरेको छ ।
दुई साता अघि एमडी साइक्याट्री विषयको प्रथम वर्षमा अध्ययनरत एक जना छात्राले आत्महत्याको प्रयास गरेको र त्यसका पछाडी सोही विभागमा शिक्षक तथा प्राध्यापकको व्यवहार प्रमुख कारण रहेको भन्दै विद्यार्थीहरुले विरोध जनाएका थिए ।
‘विभिन्न सञ्चारमाध्यममा समाचार तथा उजुरी परेपछि काउन्सिलले सदस्य डा कालुसिंह खत्री र पुण्यरत्न शाक्यलाई अनुसन्धानका लागि धुलिखेल पठाएको थियो । प्रारम्भिक प्रतिवेदन समेतको आधारमा काउन्सिल ऐन २०२० तथा काउन्सिल नियमावली २०२४ को नियम २२ को २ (क)को व्यवस्था अनुसार हाललाई एक सातासम्म चिकित्सकीय काम कारवाहीमा सम्लग्न नहुनका लागि पत्र काटिएको छ,’ काउन्सिल स्रोतले भन्यो ।
यस्तै काउन्सिलले विभागीय प्रमुख डा रिजालसहित अनुसन्धानमा परेका चार चिकित्सकलाई पनि पत्र पाएको तीन दिन भित्र काउन्सिलमा बयानका लागि काउन्सिलमा उपस्थिति हुन निर्देशनात्मक पत्र पठाउने निर्णय गरेको छ ।
पछिल्लो घटना बाहिर सार्वजनिक भएपनि अघिल्ला वर्षहरुमा पनि यस्ता धेरै घटना भएका छन् । आवासीय चिकित्सकहरुमाथि मानसिक रोग विभागमा कार्यरत पदाधिकारी तथा शिक्षकहरुबाट दुर्व्यहार भइरहेको छ । यसलाई राम्ररी अनुसन्धान गरी दोषी माथि कार्वाही गर्नु पर्छ भन्दै विद्यार्थी संगठनहरुले माग गरेका थिए ।
सम्पर्क इमेल : [email protected]
“… नगर्न काठमाडौँ मेडिकल कलेज स्कुल अफ मेडिसिनलाई …” यो सच्याउनुस है।