अन्तत: ‘नेपाल लिटरेचर फेस्टिबल’बाट ‘आउट’ भयो सूर्य नेपाल

काठमाडौँ, १५ फागुन । नेपाल लिटरेचर फेस्टिवलको फेसबुक पेजमा पाँच दिन अघिसम्म ‘इभिनिङको म्युजिकल सेसन’को स्पोन्सर नेपालकै प्रमुख चुरोट उत्पादक कम्पनी सूर्य नेपाल भएको उल्लेख थियो ।

तर, नेपाली हेल्थ सहितका स्वास्थ्य सम्वद्ध सञ्चारमाध्यमहरुले त्यसमा आपत्ति जनाएपछि फेसबुक पेजबाट हटाइएको थियो ।

सञ्चारमाध्यममा निरन्तर निगरानी र खबरदारी पछि नेपाल लिटरेचर फेस्टिवलको आयोजक बुकवर्म फाउण्डेशनले यसपटक सहयोगी संस्थाको सूचीमा सूर्य नेपाल नभएको स्पष्ट पारेको छ । आज अपरान्ह फेस्टिवलका लागि सहयोगीहरुको सूची सार्वजनिक गर्दा सूर्य नेपाल उल्लेख छैन ।

आज विहान मात्रै संघीय सरकारका पूर्व स्वास्थ्य एवं गृह मन्त्री समेत रहेका गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्री खगराज अधिकारीले यसपटक सूर्य नेपालको प्रायोजन नभएको आफूलाई आश्वस्त पारेपछि सहभागी हुन लागेको बताएका थिए ।

नेपाल लिटरेचर फेस्टिवलमा वक्ता रहेका अधिकारीलाई प्रश्न : ‘तपाईँ कार्यक्रममा सहभागी हुनुहुन्छ ?’

उनी मात्रै होइन अहिलेका स्वास्थ्य मन्त्री प्रदीप पौडेल, पहिलेका स्वास्थ्य मन्त्री गगन थापा लगायतले पनि यसपटक चुरोट कम्पनीको प्रायोजन छ कि छैन भनेर आयोजकसंग प्रष्ट जवाफ मागेका थिए ।

त्यस अघि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पनि मेला महोत्सवमा सुर्तीजन्य पदार्थको प्रायोजन कानून विपरित हुने भन्दै त्यसो गरिएको खण्डमा कानून बमोजिम कार्वाही गर्ने बताएको थियो ।

महोत्सवका नाममा हुने सुर्तीजन्य पदार्थ उत्पादकको कुनै पनि संलग्नता कानून विपरित : स्वास्थ्य तथा जनसंख्या मन्त्रालय

सुर्तीजन्य पदार्थ विरुद्धको अभियानमा क्रियाशिल संस्थाहरु एक्सन नेपाल, नेपाल अर्वुदरोग निवारण संस्था तथा नेपाल अनुसन्धान विकास प्रतिष्ठानले पनि यसबारेमा आयोजकलाई सचेत गराउँदै विज्ञप्ती जारी गरेका थिए ।

‘सबैको दवावले काम गर्‍यो होला । पहिले लोगो सहित प्रायोजक बनेको भने पनि अहिले फेस्टिवल आयोजकले सहयोगीको सूचीमा नाम नराख्नु सकारात्मक कुरा हो । यसले गैरकानूनी काम गर्नका लागि सधै अनुकुल समय हुँदैन भन्ने पनि पुष्टि गरेको छ । सबैले कानूनको पालना गर्नुपर्छ भन्ने पनि सन्देश दिएको छ,’ एक्सन नेपालका पामिर गौतमले भने ।

दवावमा यसरी परेको थियो आयोजक

नेपाल लिटरेचर फेस्टिवलको फेसबुक पेजमा पाँच दिन अघि राखेको पोष्टर

अघिल्लो वर्ष सूर्य नेपालको टाइटल स्पोन्सर नै लिएर कार्यक्रम गरेको बुकवर्म फाउण्डेशनले यसपटक एउटा सेसनका लागि प्रायोजन गराउँन लागेको फेसबुकबाट सार्वजनिक गरेको थियो ।

त्यस लगत्तै नेपाली हेल्थ लगायतका स्वास्थ्य सम्वद्ध सञ्चारमाध्यमले यसपटक पनि कानून विपरितको गतिविधि गर्न लागेको भन्दै निरन्तर समाचार पस्केका थिए ।

‘सरोगेट’ विज्ञापनमार्फत सुर्ती र मदिरा उद्योगहरूले कानूनी छिद्रको फाइदा कसरी उठाउँदै छन्?

फेस्टिवल फेरी पनि विवादमा पर्ने भन्दै कतिपय अतिथिहरुले कार्यक्रममा सहभागिता जनाउन अनिच्छा प्रकट गर्न थालेपछि आयोजक थप दवावमा परेका थिए ।

पूर्व स्वास्थ्य मन्त्री अधिकारी, थापा र हालका स्वास्थ्य मन्त्री पौडेलले चुरोट कम्पनीको प्रायोजक हो भने आउन नसक्ने बताएका थिए । यस्तै डा भगवान कोइराला, बरिष्ठ पत्रकार उमेश चौहानले चुरोट कम्पनीको प्रायोजन हो भने सहभागिता नहुने भन्दै आएका थिए ।

चौतर्फी दवाव आउन थालेपछि आयोजकले आज अपरान्ह सहयोगी संस्थाहरुको नाम सार्वजनिक गरेको हो ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *