मेडिकल उपकरण दर्ताका लागि छुट्टै विभाग बनाउन अहिले सम्भव नहोला : स्वास्थ्य मन्त्री पौडेल
काठमाडौँ, १५ फागुन । स्वास्थ्य मन्त्री प्रदीप पौडेलले प्रविधिजन्य स्वास्थ्य सामग्री (मेडिकल उपकरण) दर्ता गर्ने निकाय छुट्टै बनाउन अहिलेको अवस्थामा नसकिने बताएका छन् । बिहीबार देखि काठमाडौँको भृकुटी मण्डममा सुरु भएको ‘मेडिकल तथा ल्याब एक्स्पो -२०२५’ को उद्घाटन सत्रमा बोल्दै उनले यस्तो बताएका हुन् ।
त्यसअघि रसायन तथा मेडिकल आपूर्ति संघ नेपाल (केमसान) का अध्यक्ष भक्त हमालले औषधी व्यवस्था विभागमा दर्ता हुन तत्काल सम्भव नभएको भन्दै आफूहरुका लागि बरु छुट्टै विभाग खोलिदिन आग्रह गरेका थिए । जवाफमा मन्त्री पौडेलले अहिले थप विभाग खोल्ने क्षमता सरकारसंग नभएको बताए । ‘तपाईँहरुले चाहे जस्तै छुट्टै विभाग खोल्न पाए राम्रै हुन्थ्यो होला तर राज्यसंग त्यो क्षमता यतिवेला छैन,’ उनले भने ।
सम्वोधनका क्रममा भन्सार तथा मूल्य अभिबृद्धि कर (भ्याट)का बारेमा सरोकारवाला मन्त्रालयसंग समेत बसेर छलफल गर्न सकिने बताए । हमालले मेडिकल उपकरणको भन्सार शुल्क चर्को भएको भन्दै १ प्रतिशतमा झार्न आग्रह गरेका थिए ।
मन्त्री पौडेलले मेडिकल उपकरण व्यवसायीलाई नाफा भन्दा पनि उपभोक्तालाई हेरेर काम गर्न अनुरोध समेत गरे । ‘उपभोक्तदलाई सन्तुष्ठ बनाउन तपाईँहरुसंग सरकार सहकार्य गर्न तयार छ । सहकार्य गरौँ, पेशालाई झन्झटमुक्त बनाउन नीतिगत र व्यवसायिक सहजीकरण गरौँ । त्यसका लागि यहाँहरु नै विज्ञ हुनुहुन्छ ? सरकारले कहाँ निर के गर्नुपर्छ सुझाव पाउँ म यसमा सकारात्मक छु,’ उनले भने ।
व्यवसायीहरुको बक्यौँता तिर्न नसकेको प्रसंग झिक्दै उनले स्वास्थ्य बीमा कार्यक्रम व्यवस्थित हुन नसक्दा समस्या भएको बताए ।
तीन दिनसम्म चल्ने एक्स्पोको मन्त्री पौडेलसंगै केमसान अध्यक्ष हमालले रिवन काटेर उद्घाटन गरेका थिए ।
सम्पर्क इमेल : [email protected]