महोत्सवका नाममा हुने सुर्तीजन्य पदार्थ उत्पादकको कुनै पनि संलग्नता कानून विपरित : स्वास्थ्य तथा जनसंख्या मन्त्रालय

'यसरी संलग्नता भएको पाइए कानून बमोजिम कार्वाही हुन्छ'

काठमाडौँ, १४ फागुन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले महोत्सव, मेला तथा जात्राका नाममा हुने सुर्तीजन्य पदार्थ उत्पादकको कुनै पनि संलग्नता कानून विपरित हुने बताएको छ । उसले यसरी संलग्न भए कानून बमोजिम कार्वाही हुने स्पष्ट पारेको छ ।

पोखरामा १५ फागुन (भोली) देखि सुरु हुन लागेको नेपाल लिटरेचर फेस्टिबलको इभिनिङ म्युजिकल सेसनको स्पोन्सरको रुपमा नेपालकै प्रमुख चुरोट उत्पादक कम्पनी सूर्य नेपाल भएको समाचार सार्वजनिक भएपछि मन्त्रालयले मंगलबार विज्ञप्ती जारी गर्दै यस्तो चेतावनी दिएको हो ।

फेस्टिवलको अघिल्ला संस्करणमा टाइटल स्पोन्सर गरेको सूर्य नेपाल यसपटक इभिनिङ म्युजिकल सेसनको स्पोन्सर रहेको केही दिन अघि आयोजकले आफ्नो फेसबुक पेजमार्फत सार्वजनिक गरेको थियो । नेपाली हेल्थ सहित केही सञ्चारमाध्यममा यस विषयमा समाचार सार्वजनिक भएपछि भने आयोजकले पेजबाट सो पोष्ट हटाएको छ ।

मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीद्धारा जारी विज्ञप्तीमा सुर्तीजन्य पदार्थको सेवन मानव स्वास्थ्यका लागि अत्यन्त हानिकारक भएको र यस्ता पदार्थको सेवनले मानव जीवनको आर्थिक, सामाजिक र सांस्कृतिक क्रियाकलापमा समेत नकारात्मक असर पार्ने भएकोले सुर्तीजन्य पदार्थ (नियन्त्रण तथा नियमन) ऐन २०६८, नियमावली र निर्देशिका समेत जारी भएको उल्लेख छ ।

विज्ञप्तीमा यदि कहि कतै उक्त ऐन, नियमावली तथा निर्देशिकामा भएका व्यवस्थाको पालना नगरेको पाइएमा मन्त्रालयको हेल्लो स्वास्थ्य कल सेन्टर १११५,मा विहान ८ देखि बेलुका ८ बजेसम्म फोन वा ह्वाट्सएप वा भाइवर नम्बर ९८५१३३०५९२ मा सम्पर्क गर्न समेत भनिएको छ ।

नेपालमा सुर्तीजन्य पदार्थको सेवनबाट लाग्ने अनेकन दीर्घ रोगहरु, उत्पन्न रोगहरुको उपचारमा अरबौँ रुपैयाँ खर्च र बार्षिक ३७ हजार बढीको मृत्यु हुने तथ्यांक रहेको भन्दै यसका नियन्त्रणका लागि भएका कानूनी व्यवस्थाको पालना गर्नु गराउन सबैको दायित्व भन्दै अपिल समेत गरेको छ ।

हुन पनि सुर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमन गर्ने ऐन २०६८ को दफा १० मा विज्ञापन तथा प्रायोजन गर्न नपाइने सम्बन्धी व्यवस्था छ । जहाँ भनिएको छ, ‘उत्पादक लगायत कसैले पनि पत्रपत्रिका तथा रेडियो, टेलिभिजन, एफएम, इन्टरनेट, ईमेल जस्ता विद्युतीय सञ्चार माध्यम,अन्तरक्रिया कार्यक्रम, होर्डिङ्ग बोर्ड, भित्तेलेखन, लोगो, सङ्केत, लेख, दृश्य, आवाज, चिन्ह, व्यक्ति वा अन्य कुनै पनि माध्यमबाट सुर्तीजन्य पदार्थको विज्ञापन वा प्रवर्धन गर्न वा कुनै कार्यक्रम, समाचार वा सूचना सम्प्रेषण वा प्रायोजन गर्न पाउने छैन ।’

यस्तै सुर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमन निर्देशिका, २०७१ को दफा ४० मा उत्पादकलगायत कसैले पनि प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा यसको लोगो, संकेत, चिन्ह, कुनैपनि तरिकाबाट सुर्तीजन्य पदार्थको प्रबर्द्धन गर्न वा कुनै कार्यक्रम प्रायोजन तथा विज्ञापन गर्न नपाउने उल्लेख छ ।

सुर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमन निर्देशिका २०७१ को परिच्छेद ३ दफा २२ को उपदफा ६ मा भनिएको छ, ‘सार्वजनिक निकायका पदाधिकारीहरुलाई सुर्ती उद्योगबाट प्रदान गरिने कुनैपनि प्रकारका सहयोग र पुरस्कार प्राप्त गर्न, सुर्ती उद्योगबाट प्रायोजित कार्यक्रममा सहभागिता, सुर्ती उद्योगको सहयोगमा वा सुर्ती उद्योगको आमन्त्रणमा राष्ट्रिय तथा अन्तरराष्ट्रिय बैठक, भ्रमण, तालीम, गोष्ठी, सम्मेलन जस्ता कार्यक्रमहरुमा सहभागीता स्वीकार गर्नु हुदैन ।’

यी समाचारहरु पनि हेर्नुहोस्…………

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *