स्वास्थ्य सेवामा सबैको पहूँच हुनुपर्दछ : उपराष्ट्रपति यादव
बारा, १३ फागुन । उपराष्ट्रपति रामसहाय प्रसाद यादवले नेपालको संविधानले आधारभूत स्वास्थ्य सेवा नागरिकको मौलिक हकका रूपमा स्थापित गरेकोले यसमा सबैको पहूँच हुनुपर्ने बताएका छन् ।
उनले मौलिक हक पूरा गर्न सरकारी तथा नीजि स्वास्थ्य क्षेत्रको थप सक्रिय भूमिका र सेवा भाव अपरिहार्य आवश्यकता रहेको समेत औल्याएका छन् ।
बारा जिल्ला परवानीपुर–४ स्थित रामकुमार महावीरप्रसाद केडिया आँखा अस्पतालको स्वर्ण महोत्सव अवसरमा सोमबार अस्पताल परिसरमा आयोजना गरेको विशेष समारोहलाई सम्बोधन गर्दै उक्त विषय औल्याएका हुन् ।
उपराष्ट्रपति यादवले नेपालको संविधानले आधारभूत स्वास्थ्य सेवा नागरिकको मौलिक हकका रूपमा स्थापित गरेको र यसलाई पूरा गर्न सरकारले आफ्नो नीति, योजना तथा कार्यक्रमहरूलाई प्राथमिकतामा राखेको छ भन्दै उनले भने ‘मधेश प्रदेशको मात्र नभई सिंगो नेपालकै एक ऐतिहासिक, सांस्कृतिक, आर्थिक र औद्योगिक नगरी वीरगंजको प्रवेश द्वारमा अवस्थित यो अस्पतालले आफ्नो स्थापना कालदेखि नै उच्चस्तरीय आँखा उपचार सेवा उपलब्ध गराउँनु प्रशंसनीय छ ।’
उपराष्ट्रपति यादवले अस्पतालका संस्थापक सदस्यमध्येका सुन्दरमल केडिया र उहाँका परिवारको योगदानको स्मरण गर्दै केडिया आँखा अस्पतालले आँखाको उपचार क्षेत्रमा ठूलो फड्को मारेको र यसले सिंगो मुलुककै गौरव बढाएको बताए ।
उनले अस्पताललाई यो उचाईमा पुर्याउन सहयोग गर्ने नेपाल नेत्र ज्योति संघ, एशियामा आँखा उपचार सम्बन्धी क्षेत्रमा सहयोग गर्ने संगठन (एओसीए), स्थानीय लायन्स क्लब, ओर्बिस इन्टरनेसनल, चिकित्सक, कर्मचारी र दाता केडिया परिवार सहित सम्पूर्ण सहयोगी हातहरूलाई धन्यवाद व्यक्ति गरे ।
उनले अस्पतालले मधेश प्रदेशका विभिन्न जिल्लाहरू र छिमेकी भारतका बिहार एवम् उत्तर प्रदेशका जनसमुदायलाई सेवा प्रदान गर्नु सकारात्मक भएको बताए ।
सम्पर्क इमेल : [email protected]