बीएम फाउण्डेशनले गर्यो ३८ जना जेष्ठ नागरिकको मोतिविन्दुको शल्यक्रिया
काठमाडौँ, १० फागुन । गाउँपालिका संगको सहकार्यमा गत कात्तिकमा बृहत निशुल्क आँखा शिविर सञ्चालन गरेको बीएम फाउण्डेशनले त्यसबेला मोतिविन्दुको शल्यक्रिया गर्नु पर्ने अवस्थामा भेटिएकामध्ये ३८ जनाको शुक्रबार निशुल्क शल्यक्रिया गरिदिएको छ ।
कालीगण्डकी गाउँपालिका ७ मिर्मीमा रहेको कालीगण्डकी अस्पतालमा हिमालय आँखा अस्पतालबाट आएका स्वास्थ्यकर्मीको सहयोगमा मोतिविन्दुको शल्यक्रिया भएको फाउण्डेशनका अध्यक्ष डा बुद्धिमान श्रेष्ठले बताए ।
उनले भने, ‘गत कात्तिकको शिविरमा स्क्रिनिङ गर्दा मोतिविन्दु देखिएका ३८ जनाको हिजो (शुक्रबार) शल्यक्रिया भयो, आज उहाँहरुको आँखाको पट्टी खोलियो । सबै जनाको शल्यक्रिया सफल भएको छ ।’
त्यसबेला ४ देखि १० कात्तिकसम्म चलेको सप्ताहव्यापी शिविरमा २ हजार ६२ जनाले निशुल्क आँखा जाँच गराएका थिए । उक्त शिविरमा गाउँपालिकासंगै मुक्तिनाथ विकास बैंक, ताइवान प्रिभेन्ट व्लाइन्डनेश फाउन्डेशन, केडीसी जनरल अस्पताल र हिमालय आँखा अस्पतालको सहकार्य थियो ।
त्यसबेला शिविरमा उमेरसंग सम्बन्धित मोतिविन्दु ११८ जनामा, प्रारम्भिक बृद्धावस्थाको मोतिविन्दु १३६ जनामा र पूर्ण बृद्धावस्थाको मोतिविन्दु ३९ जनामा पाइएको फाउण्डेशनकी सुदीक्षा लोहनीले बताएकी थिईन् ।
‘अहिले पूर्ण बृद्धाबस्थाको मोतिविन्दु भएकाहरुलाई स्थानीय ठाउँमै पुगेर शल्यक्रिया गरिएको हो । यसले ग्रामिण क्षेत्रका जेष्ठ नागरिकलाई सेवा लिन पनि सजिलो भयो,’ डा. श्रेष्ठले भने ।
सम्पर्क इमेल : [email protected]