लक्षित उमेर समूहका ९२ प्रतिशतले लगाए एचपीभी खोप
काठमाडौँ, ७ फागुन । सरकारले गत २२ माघ देखि सुरु गरेको एचपीभी खोप अभियानमा करीव ९२ प्रतिशतले खोप लगाएका छन् । स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाले ६ फागुन (हिजो)सम्म चलेको खोप अभियान १४ लाख २८ हजार ८८९ जना किशोरीले खोप लिएको जनाएको छ ।
महाशाखाले सुरुमा लक्षित उमेर समूहका किशोरीको संख्या १६ लाख ८८ हजार ७६८ भने पनि पछि सुक्ष्म योजनाले १५ लाख ६० हजार किशोरी रहेको पुष्टि गरेको थियो । सोही आधारमा अहिले ९१.६० प्रतिशत खोप कभरेज भएको हो ।
महाशाखा अन्तर्गतका बाल तथा खोप शाखा प्रमुख डा अभियान गौतमले पहिले तय गरेको २२ माघ देखि ६ फागुनसम्मको अवधीमा ७४ जिल्लामा खोप सञ्चालन भएको बताए ।
मनाङ, मुस्ताङ, हुम्ला र डोल्पामा अहिलेसम्म खोप अभियान सुरु भएको छैन् । यद्धपी ती जिल्लाहरुमा कुल ७ हजार ८८ जना जति किशोरीहरु रहेका छन् । अब फागुनको तेस्रो साता देखि ती जिल्लामा खोप अभियान चल्नेछ ।
सरकारले आगामी वर्ष देखि राष्ट्रिय खोप कार्यक्रममा समावेश गरिसकेको एचपीभी खोप यसपटक विद्यालयका कक्षा ६ देखि १० सम्मका र विद्यालय बाहिर रहेका १० देखि १४ वर्ष उमेर समूहका किशोरीहरुलाई दिइएको हो ।
यो खोप अभियानका लागि ‘ग्लोबल एलायन्स फर भ्याक्सिन एण्ड इमुनाइजेसन’ (गाभी) को सहयोग रहेको छ । उसले चिनियाँ कम्पनी इनोभ्याक्सले उत्पादन गरेको सिकोलिन ब्राण्डको १७ लाख ७० हजार ४०० भाइल खोप उपलव्ध गराएको थियो ।
सम्पर्क इमेल : [email protected]