‘नेपाल चाइल्डहुड क्यान्सर एलायन्स’ स्थापना
काठमाडौँ, ६ फागुन । बालबालिकामा देखिने क्यान्सर रोगको सहज उपचारका लागि सहयोग गर्न नेपाल चाइल्डहुड क्यान्सर एलायन्सको स्थापना भएको छ । गत आइतबार राजधानीमा एक कार्यक्रम गरी एलायन्सको स्थापना गरिएको छ ।
यलायन्समा रमेश गुप्ता मेमोरियल ट्रष्ट, लियोनार्डो एडबर्ड श्रेष्ठ फाउण्डेशन, टुगेदर अगेन्स्ट चाइल्डहु क्यान्सर र बल्र्ड चाइल्ड क्यान्सर युके आवद्ध छन् ।
एलायन्स गठन भएपछि बाल क्यान्सरको उपचार, बिरामी र परिवारलाई आवश्यक सहयोग, तथा लामो समयसम्मको पुनःस्थापना सेवालाई मजबुत बनाउन कार्य गर्ने संयोजक सम्राट रायमाझीले बताए ।
यसैबीच एलायन्स स्थापनाको अवसरमा आयोजित कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. हरि प्रसाद मैनालीले बाल क्यान्सरको उपचारलाई सहयोग पुरयाउन छरिएका संस्थाहरु एकतावद्ध भएर काम अघि बढाउनु सुखद कुरा भन्दै खुशी व्यक्त गरे । उनले सरकारले समेत बाल क्यान्सरको उपचारका लागि ३५ प्रकारका औषधिहरु निशुल्क वितरण गर्ने योजना गरिरहेको बताए ।
कार्यक्रममा विभिन्न अस्पतालका बालरोग विशेषज्ञ चिकित्सकहरू, विश्व स्वास्थ्य संगठन, युनिसेफ तथा अन्य विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैर–सरकारी संस्थाहरूको सहभागिता रहेको थियो ।
कार्यक्रमको एक विशेष प्यानल छलफलमा डा. बिश्वनाथ अधिकारी (कान्ति बाल अस्पताल), डा. ऋतु लामिछाने (भक्तपुर क्यान्सर अस्पताल), डा. सुचरिता तुलाधर (पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान), डा. कृष्ण सागर शर्मा (वी.पी. कोईराला मेमोरियल क्यान्सर अस्पताल) र डा.सानी सिपाइ (कान्ति बाल अस्पताल) सहभागी थिए ।
कार्यक्रममा रमेश गुप्ता मेमोरियल ट्रष्टका रोहित गुप्ताले एलायन्सको महत्वलाई स्पष्ट पार्ने क्रममा नेपालमा बाल क्यान्सरको उपचारका प्रयासहरू बिखण्डित रूपमा भइरहेका थिए भन्दै यो गठबन्धनले स्रोत, विशेषज्ञता, र वकालतलाई एउटै प्रभावकारी मञ्चमा ल्याउने बताए ।
नेपालमा बाल क्यान्सर उपचारलाई आधुनिक र प्रभावकारी बनाउने उद्देश्यले सरकार, स्वास्थ्य संस्थाहरू र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय साझेदारहरूको सहकार्य आवश्यक रहेको बताउँदै एलायन्सले सबै सरोकारवालाहरूलाई यस अभियानमा सामेल हुन आग्रह गरेको छ ।
नेपालमा १४ वर्षमुनिका बालबालिकाहरूको लागि निःशुल्क क्यान्सर उपचारको सरकारी घोषणा भएको बेला, यो एलायन्सले उपचारबाहेकका चुनौतीहरू सम्बोधन गर्ने लक्ष्य राखेको छ ।
सम्पर्क इमेल : [email protected]