प्राथमिक अस्पतालहरु मध्ये बझाङ अस्पताल बन्यो देशभरकै पहिलो

बझाङ ६ फागुन । देशभरका प्राथमिक अस्पतालहरुमध्ये न्यूनतम सेवा मापदण्डका आधारमा सुदूरपश्चिम प्रदेशको बझाङ अस्पताल पहिलो भएको छ । सुदूरपश्चिम प्रदेश स्वास्थ्य सेवा निर्देशनालयले गरेको अनुगमन मुल्यांकनमा बझाङ अस्पतालले ९४ प्रतिशत अंक पाएको हो ।

सो अंक देशभरकै प्राथमिक अस्पतालहरुमा सबैभन्दा बढी रहेको अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा नवराज जोशीले बताए । न्यूनतम सेवा मापदण्डमा अस्पतालको व्यवस्थापन, क्लिनिकल सेवा र सहयोगात्मक सेवाहरुको मुल्यांकन गरिन्छ । पछिल्ला केही वर्षदेखि बझाङ अस्पताल न्यूनतम सेवा मापदण्डमा राम्रो अंक प्राप्त गरिरहेको अस्पताल हो । यसअघि पनि सो अस्पतालले न्यूनतम सेवा मापदण्डमा ९३ प्रतिशत अंक पाएको थियो । बझाङसँगै बैतडी अस्पतालको पनि ९३ प्रतिशत अंक नै रहेको थियो ।

‘अस्पतालले व्यवस्थापन, क्लिनिकल सेवा र सहयोगात्मक सेवामा हुने यस्तो मुल्यांकनले दिनरात नभनी खटिने अस्पतालका चिकित्सक, नर्स, स्वास्थ्यकर्मी र कर्मचारीहरुको मुल्यांकन भएको छ,’ मेसु डा. जोशी भन्छन्, ‘यस्ता मुल्यांकनले काम गर्ने मानिसको मनोबल बढ्छ ।’ प्राथमिक अस्पतालहरुको प्राथमिक सेवा मापदण्डअनुसारको सेवा प्रवाह भए—नभएको सम्बन्धित प्रदेश स्वास्थ्य निर्देशनालयले अनुगमन र मुल्यांकन गर्ने गर्छ । केन्द्रीय अस्पतालहरुको हकमा भने स्वास्थ्य सेवा विभाग उपचारात्मक महाशाखाले गर्ने गर्छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *