आँखामा लाग्ने सापू रोग रोकथाम गर्न नेपाल अफ्थाल्मिक सोसाइटीको माग
काठमाडौँ, ५ फागुन । आँखामा लाग्ने सापू नामक रोगको रोकथामका लागि आँखा विशेषज्ञहरुको समाज नेपाल अफ्थाल्मिक सोसाइटीले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको ध्यानाकर्षण गराएको छ ।
सोसाइटीका अध्यक्ष डा. पुरुषोत्तम जोशी, महासचिव डा. तेजसु सिंह मल्ल लगायत पदाधिकारीले मन्त्रालयका सचिव डा. रोशन पोखरेललाई ज्ञापनपत्र बुझाउँदै सापू रोग रोकथामका लागि मन्त्रालयलाई अनुरोध गरेका हुन् ।
सोसाइटीले सिजनल हाइपरएक्युट प्यानुभाइटिस (सापू) रोगलाई उपेक्षित उष्णकटिबन्धीय रोगको सूचीमा समावेश गर्न पनि माग गरेको छ ।
सोसाइटीको कार्यसमितिको २०२५ फेब्रुअरी १ मा बसेको बैठकले सापू रोगलाई उपेक्षित उष्णकटिबन्धीय रोगको सूचीमा राख्न सरकारसमक्ष अनुरोध गर्ने निर्णय गरेको थियो । पाँच दशकदेखि नेपालका विभिन्न क्षेत्रमा देखिँदै आएको यो आँखाको गम्भीर रोग विशेष गरी कमजोर तथा सीमान्तकृत समुदायमा बढी प्रभाव पार्ने गरेको छ ।
स्वास्थ्य मन्त्रालयअन्तर्गतको महामारी तथा रोग नियन्त्रण महाशाखाले २०७९ देखि सापू रोगबारे जनचेतना अभिवृद्धि गर्दै आएको छ ।
सन् २०२३ मा सापूको प्रकोप देखिएपछि यसलाई राष्ट्रिय निगरानी प्रणाली तथा प्रकोप प्रतिकार्य व्यवस्थापन प्रणालीमा समावेश गरिएको थियो ।
नेपाल अफ्थाल्मिक सोसाइटीका अनुसार सापू रोगको थप अध्ययन, रोकथाम र उपचारका लागि यसलाई उपेक्षित उष्णकटिबन्धीय रोगको रूपमा प्राथमिकतामा राख्न आवश्यक छ ।
सोसाइटीले सापू रोगको कारण, संक्रमणको स्वरूप तथा रोकथामका उपायहरूको गहिरो अनुसन्धान गर्नुपर्ने, स्वास्थ्यकर्मीहरूको क्षमता अभिवृद्धि गर्नुपर्ने र अन्तर्राष्ट्रिय स्वास्थ्य तथा अनुसन्धान संस्थाहरूसँग सहकार्य गर्नुपर्ने बताएको छ ।
नेपाल सरकारले यस रोगलाई उचित प्राथमिकता दिएमा सापूको प्रभावकारी रोकथाम र उपचार सहज हुने भन्दै सोसाइटीले सरकारलाई ‘वन हेल्थ’ अवधारणाअन्तर्गत बहुपक्षीय सहयोगमार्फत समाधान खोज्न आग्रह गरेको छ ।
सम्पर्क इमेल : [email protected]