औषधी भनेको पिठोको डल्लो होइन गुणस्तरमा ध्यान दिनुहोला : स्वास्थ्य मन्त्री पौडेल
काठमाडौँ, ५ फागुन । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले औषधीको गुणस्तरमा कुनै सम्झौँता नहुने बताएका छन् । आइतबार नेपाल औषधी थोक ब्यवसायी संघको दोस्रो राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रलाई सम्वोधन गर्दै यस्तो बताएका हुन् ।
‘नागरिकलाई कसरी सेवा पुर्याउन सकिन्छ, कसरी गुणस्तरीय औषधी दिन सकिन्छ, महँगो होइन सस्तो औषधी कसरी दिन सकिन्छ त्यतातर्फ म केन्द्रित भएको छु, नागरिकका पक्षमा काम गर्दै गर्दा कसैलाई अप्ठ्यारो पर्यो भने माफी पाउँ, म जनताको निम्ति मन्त्री भएको हो, मेरो पहिलो काम जनताको पक्षमा काम गर्ने हो,’ मन्त्री पौडेलले भने।
मन्त्री पौडेलले औषधीहरु कम गुणस्तरीय छ भन्ने गरेको सुनिएको भन्दै औषधीमा गुणस्तरीय भन्ने शब्द प्रयोग नै नगर्ने अवस्था हुनु पर्ने बताए।
‘गुणस्तरीययतामा सम्झौँता गर्ने अवस्था हुनुहुँदैन, औषधी भनेको पिठोको डल्लो होइन, औषधी दिएपछि काम नगर्ने अबस्था हुनुहुँदैन, औषधी नाम दिने अनि गुणस्तरीय छ कि छैन भन्ने ? औषधी भनेपछि गुणस्तरीय हुनैपर्छ, यसमा गुणस्तरीय भन्ने शब्द प्रयोग नै नगर्ने अवस्था हुनु पर्छ,’ स्वास्थ्यमन्त्री पौडेलले भने।
उनले औषधीका थोक बिक्रेतालाई नागरिकलाई कसरी सेवा पुर्याउन सकिन्छ भनेर सोच्न आग्रह गरे।
‘उपभोक्ता खुसी हुने, समाजलाई योगदान गर्ने गरेर काम गरिदिनुस,’ पौडेलले ब्यवसायीहरुलाई आग्रह गर्दै भने।
उनले औषधी सुशासन कायम गर्ने दिशामा मिलेर काम गर्न तथा नियम कानुन भित्र बसेर काम गर्न र सकेसम्म कम मूल्यमा नागरिकलाई सेवा दिने गरेर सोच्न औषधीका थोक बिक्रेतालाई आग्रह गरे।
मन्त्री पौडेलले स्वास्थ्य, शिक्षा, सार्वजनिक यातायात सरकारको लगानी हुनु पर्ने भन्दै सरकारले आफैँ ब्यवसाय गर्न भने नहुने बताए।
यस्तै उनले सरकार औषधीको मूल्य निर्धारण गर्ने काममा अघि बढेको भन्दै स्वदेशी उत्पादनलाई प्राथमिकता दिने नीति रहेको समेत उल्लेख गरे ।
कार्यक्रममा औषधी थोक व्यवसायी संघका अध्यक्ष शिवराज बाँस्कोटाले सरकारी अस्पतालहरुले सस्तो मूल्यमा औषधी दिने नाममा कम गुणस्तरका औषधी बिक्री गरिरहेको भन्दै त्यसको खोजी गरिनुपर्ने बताए।
उनले एउटै ब्यवसायीबाट राज्यले फरक फरक ढंगबाट कर लिइरहेको भन्दै करमा एकरूपता कायम गर्नुपर्नेमा समेत जोड दिए ।
सम्पर्क इमेल : [email protected]