जलनमा परेका उपप्रधानमन्त्री पौडेल र नगरप्रमुख आचार्यको स्वास्थ्य अवस्था बुझ्न प्रधानमन्त्री ओली कीर्तिपुर अस्पतालमा
काठमाडौँ, ४ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले कीर्तिपुर वर्न अस्पतालमा पुगी त्यहाँ उपचाररत उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेल र पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् ।
शनिबार पोखरामा भएको बेलुन आगलागीमा परेका उपप्रधानमन्त्री पौडेल र नगरप्रमुख आचार्यको स्वास्थ्य अवस्थाबारे जानकारी लिन प्रधानमन्त्री ओली र प्रथम महिला राधिका शाक्यसहित अस्पताल पुगेका हुन् ।
उपचारमा संलग्न चिकित्सकले उपप्रधानमन्त्री पौडेल र नगरप्रमुख आचार्यको स्वास्थ्य अवस्था तथा उपचार प्रक्रियाबारे जानकारी गराएका थिए ।
उपप्रधानमन्त्री पौडेल र नगरप्रमुख आचार्य पोखरामा शनिबार एक कार्यक्रमको उद्घाटनका क्रममा भएको घटनामा परी आगो लागेर घाइते भई सो अस्पतालको सघन उपचार कक्षमा शनिबार भर्ना गरी उपचार भइरहेको छ ।
सोही क्रममा प्रधानमन्त्री ओलीले केही दिनअघि कमलपोखरीस्थित शानदार मःमः सेन्टरमा ग्यास सिलिण्डर विस्फोटमा घाइते भई सोही अस्पतालमा उपचाररत घाइतेहरुको स्वास्थ्य अवस्थाबारे पनि जानकारी लिएका छन् ।
सम्पर्क इमेल : [email protected]