बाल क्यान्सरको उपचारका लागि नि:शुल्क उपलव्ध हुने औषधीको पहिलो खेप आईपुग्यो

काठमाडौँ, ४ फागुन ।  नेपालले ग्लोबल प्लेटफर्म फर एक्सेस टू चाइल्डहुड क्यान्सर मेडिसिन्स अन्तर्गत बालबालिकामा हुने क्यान्सर उपचारका लागि अत्यावश्यक औषधीको पहिलो खेप प्राप्त गरेको छ । आइतबार आएको पहिलो खेपमा अत्यावश्यक औषधीहरुका २ हजार ३०० भन्दा बढी प्याकहरु समावेश रहेको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।

यो अभियानका लागि विश्व स्वास्थ्य संगठन र सेंट जुड चिल्ड्रेन्स रिसर्च हस्पिटलको संयुक्त पहलमा स्थापना गरिएको ग्लोबल प्लेटफर्ममा युनिसेफ र पाहो खरीद साझेदारका रुपमा रहेको बताइएको छ । यसले न्युन र मध्यम आए भएका देशहरुमा बालबालिकाको क्यान्सर उपचारका लागि गुणस्तरीय औषधीहरु निरन्तर रुपमा आपूर्ति गर्ने लक्ष्य लिएको छ ।

कसरी पायो नेपालले औषधी ?

सन् २०२० मा नेपाल विश्व स्वास्थ्य संगठनको ग्लोबल इनिसिएटिभ अफ चाइल्डहुड क्यान्सर को प्राथमिकतामा परेको थियो । सन् २०२२ मा नेपाल ग्लोबल प्लेटफर्ममा सहभागी हुन छनौट भएका विश्वभरका ६ देशमध्ये एक र विश्व स्वास्थ्य संगठन दक्षिणपूर्वी एशिया क्षेत्रका सदस्य राष्ट्रमध्ये पनि एक मात्र राष्ट्र बन्यो ।

त्यसपछि सन् २०२४ को मार्चमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा यो कार्यक्रम सञ्चालन गर्नका लागि विश्व स्वास्थ्य संगठनसंग सहमति पत्रमा हस्ताक्षर गरेको थियो । यस प्लेटफर्मको सदस्यका रुपमा अब नेपालले पाँच वर्षसम्म निरन्तर बालबालिकाको क्यान्सर उपचारका लागि प्रयोग हुने ३५ प्रकारका अत्यावश्यक गुणस्तरीय औषधीहरु प्राप्त गर्ने बताइएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आएका यी ३५ प्रकारका औषधीहरु अहिले देशका चारवटा सरकारी अस्पतालमा उपचार गराईरहेका बालबालिकाहरुले प्राप्त गर्नेछन् । भक्तपुर क्यान्सर अस्पताल, कान्ति बाल अस्पताल, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान र भरतपुर क्यान्सर अस्पतालमा उपचार गराईरहेका १४ वर्ष मुनिका बालबालिकाहरुले यो औषधि पाउने छन् ।

नेपालमा हरेक वर्ष करीव ९०० जना नयाँ बाल क्यान्सरका बिरामीहरु देखा पर्ने गरेका छन् । विगतमा औषधीको अभाव र अन्य विभिन्न चुनौतीको कारण एक तिहाई बालबालिकाले मात्रै उचित उपचार प्राप्त गर्न सकेको विश्व स्वास्थ्य संगठनले उल्लेख गरेको छ ।

यसैबीच स्वास्थ्य मन्त्री प्रदीप पौडेलले बाल क्यान्सर उपचारलाई प्रभावकारी बनाउन प्राप्त सहयोगका लागि दातृ निकायप्रति आभार प्रकट गरेको बताएका छन् । उनले क्यान्सरको उपचारलाई सबै प्रदेशमा पुरयाउने काम अघि बढेको समेत बताए ।

यता डब्लुएचओका नेपालस्थित कार्यालय प्रमुख डा राजेश सम्भाजीराव पाण्डवले ग्लोबल प्लेटफर्मको सहयोगले नेपालका क्यान्सर पीडित बालबालिकाको समग्र उपचार सेवालाई दिगो रुपमा सुधार गर्ने बताए ।

नेपालका लागि युनिसेफका प्रतिनिधि डा एलिस अंकुरले नेपालले बालबालिकामा हुने क्यान्सर उपचार सुधार गर्न विभिन्न पहल मार्फत दृढ प्रतिवद्धता जनाएको भन्दै जसमा बाल क्यान्सर सम्वन्धी ऐतिहासिक धुलिखेल घोषण पनि समावेश भएको बताए ।

नेपालमा क्यान्सर पीडित बालबालिकाहरुको बाँच्ने सम्भावना दर हाल ३० प्रतिशत भन्दा कम रहेको छ । जवकी उच्च आय भएका देशहरुमा यो दर ८० प्रतिशत भन्दा बढी छ ।

सेंट जुड चिल्ड्रेन्स रिसर्च हस्पिटल र विश्व स्वास्थ्य संगठनको संयुक्त पहलमा संसारभरका क्यान्सरपिडित बालबालिकाको जीवन रक्षक औषधीहरुमा पहुँच सुनिश्चित गर्न ग्लोबल प्लेटफर्म फर एक्सेस टु चाइल्डहुड क्यान्सर मेडिसिन्स सन् २०२१ मा स्थापना भएको हो ।

यस ग्लोबल प्लेटफर्मले सन् २०२३ देखि २०२७ सम्म करीव एक लाख २० हजार बालबालिकालाई क्यान्सर उपचारका लागि गुणस्तरीय औषधी उपलव्ध गराउने लक्ष्य राखेको छ ।

सेंट जुड चिल्ड्रेन्स रिसर्च हस्पिटलले यस कार्यक्रमलाई सहयोग गर्न पाँच वर्षसम्म २० करोड अमेरिकी डलर प्रदान गर्ने प्रतिवद्धता जनाएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *