ग्यास्ट्रिक : समस्या र समाधानका उपायहरु
![](https://www.nepalihealth.com/wp-content/uploads/2017/12/dr-dinesh-shrestha.jpg)
झण्डै ८० प्रतिशत नेपालीहरुलाई कुनै न कुनै बेला ग्यास्ट्रिकको समस्या हुने गरेको अनुमान छ ।
गरीव मात्रै होइन धनीलाई पनि , बेरोगगार मात्रै होइन रोजगारी गर्ने लाई पनि । अशिक्षित मात्रै होइन शिक्षितलाई पनि ।
कतिपयले यो समयमा खाना नखाएपछि अर्थात भोको बस्दा हुने रोग भन्छन तर बास्तवमा ग्यास्ट्रिक रोग भोको पेटले मात्रै लाग्ने रोग होइन ।
ग्यास्ट्रिक रोग भनेको के हो ?
मेडिकल भाषामा ग्यास्ट्राइटिस भनेर चिनिने यो रोगलाई साधारण्ँ बोलीचालीको भाषामा ग्यास्ट्रिक भनिन्छ ।
हाम्रो शरीरमा खाना पचाउनका लागि शरीरभित्र विभिन्न प्रकारका पाचन रसहरुका हुन्छन । त्यससंगै हाइडोक्लोरिक एसिड भनिने एक खालको अम्ल पनि उत्पादन भइरहेको हुन्छ । जसको उत्दादन आमाशय भित्र हुन्छ । यसको काम खाना पचाउनलाई सहयोग गर्ने हो । साथै आमाशय भित्रका किटाणुहरुलाई मार्ने काम पनि गर्छ ।
उता आमासय भित्र हेलिकोव्याक्टर पाइलोरी भन्ने एक खाले किटाणुहरु हुन्छ । अम्ल र कीटाणुविचको तालमेल नमिल्दा ग्यास्ट्रिक हुने गर्छ ।
यो रोग लागेपछि पेटको माथिल्लो भाग पोल्ने, दुख्ने, वान्ता होला जस्तो हुने, खाना नरुच्ने , पेट ढुस्स फुलेको, भरिएको जस्तो लाग्ने हुन्छ । यो अम्ल धेरै बढेको बेलामा सहन नसकिने गरी पेट दुख्न सक्छ । ग्यास्ट्रिक हुदा कालो दिशा हुने तथा कहिलेकाही पेट तथा आमासयमा प्वाल परी त्यसको असरले मानिसको मृत्यु समेत हुनसक्छ ।
अर्को कारण आमासयमै उत्पादन हुने अम्लबाट आमाशयलाई बचाउन शरीरमा विभिन्न प्रकृयाहरु हुन्छन ।
जस्तैः आमाशयका भित्री सतहका कोषहरुले बाक्लो जेली जस्तो अर्धतरल पदार्थ म्युकस निकालिरहेको हुन्छ , जसले उक्त अम्लबाट आमाशयलाई बचाउने काम गरिरहेको हुन्छ । त्यस्तै सो अम्लको असरलाई कम गर्नको लागि बाइकारबोनेट एक प्रकारको क्षार पनि उत्पादन भइरहेको हुन्छ ।
यी ग्यास्ट्राइटिस गराउन सक्ने र त्यसबाट बचाउने प्रकृयाहरुको सन्तुलनमा गडबडीका कारण ग्याष्टिक हुने गर्छ । नेपालमा हेलिकोब्याक्टर पाइलोरी भन्ने किटाणुको संक्रमण ग्यास्ट्रिक रोग लाग्नुको मुख्य कारण भन्ने गरिन्छ ।
त्यस्तै धुम्रपानको, मानसिक तनाव, अनावश्य औषधिको सेवनले पनि यो समस्या देखिन सक्छ । जस्तै हामीले टाउको दुखेर खाने सिटामोल, ब्रुफेन , ब्रुसेट जस्ता औषधि धेरै खाइयो भने पनि यो समस्याहुने प्रवल सम्भावना रहन्छ ।
ग्यास्ट्रिक रोग कसरी थाह पाउने ?
साधारणतया यो रोग बिरामीको समस्या सुनेर शरीरको जाँच गरेर नै पत्ता लाग्छ । त्यसको लागि इन्डोस्कोपि गर्नुको विकल्प छैन ।
लक्षणहरु, जस्तै : पेट पोल्ने, छाति पोल्ने, पेट फुलेको जस्तो हुने, खाना अरुची हुने आदी छन् र शरीरको जाँचमा अरु खराबी देखिएनन् भने ग्यास्ट्रिक हुन सक्छ ।
तर कहिलेकाही अरु रोगको लक्षण पनि यो संग मिल्न सक्छ । त्यसैले इन्डोस्कोपी जाँच गर्नुपर्छ । कहिलेकाही छाति पोल्ने र दुख्ने पनि हुन्छ यसले मुटुरोगका समस्या देखिएको हो कि भन्ने पनि हुन्छ । किनकी लक्षण लगभग समान हुन्छ । त्यतिवेला मुटुरोग सम्वन्धी जाँचहरु जस्तै: इसिजी, मुटुका इन्जाइमहरुको जाँच गर्नुपर्छ ।
त्यस्तै कहिलेकाहीं पेटका अन्य रोगहरु जस्तै प्यान्क्रियाटिटिस , एपेन्डेसाइटिस, कोलेसिस्टाइटिस र पित्तथैलीको ईन्फ्लामेसनले पनि यस्तै लक्षण देखाउछ ।
त्यसैले रगतका विभिन्न जाँचहरु, पेटको भिडियो एक्स–रे आदि गर्नुपर्ने हुन्छ ।
त्यस्तै हेलिकोब्याक्टर पाइलोरी किटाणुले गर्दा भएको हो की भन्ने शंका लागेमा त्यस सम्बन्धि जाँचहरु पनि गर्न सकिन्छ ।
रोगबाट बच्न के गर्ने ?
साधारणतया ठिक समयमा खाना खाने, पेट खालि नराख्ने, चिल्लो, पिरो अमिलो धेरै नखाने, पानी प्रशस्त मात्रामा पिउने आदि गर्नाले यो रोगबाट बच्न सकिन्छ ।
रक्सी चुरोटको सेवन कम गर्ने, मानसिक चिन्ता कम लिने गर्नाले पनि यो समस्याबाट बच्न सकिन्छ ।
साथै दुखाइ कम गर्ने औÈधीहरुको अनावश्यक र अत्यधिक सेवन गर्नुहुदैन ।
त्यसबाट समेत समस्या समाधान भएन भने नजिकको स्वास्थ्य केन्द्रमा जाने र सम्बन्धित चिकित्सकसंग जाँच गराउने । किनकी यसको उपचारमा हेलचेक्रयाई भयो भने त्यसबाट अल्सर तथा क्यान्सर समेत हुनसक्छ ।
सम्पर्क इमेल : [email protected]