नसर्ने रोग पहिचानका लागि एक महिने अभियान सुरू
चार प्रकारका परीक्षण निशुल्क
काठमाडौँ, १ फागुन ।आजबाट एक महिनासम्म देशभर नसर्ने रोगहरूको ‘स्क्रिनिङ’ (पहिचान गर्ने) अभियान सुरु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले फागुन महिनालाई नसर्ने रोगहरुको पहिचान गर्ने महिनाको रुपमा मनाउने निर्णय गरेसंगै आजबाट यो अभियान सुरु भएको हो ।
यो अभियान अन्तर्गत ३० वर्ष माथिका सबै नागरिकलाई मधुमेह (रगतमा चिनीको मात्रा परीक्षण) रक्तचाप (ब्लड प्रेसर) मापन, मिर्गौला सम्वन्धी रोग, उचाई र तौलको आधारमा (बीएमआई) मापन हुनेछ ।
मन्त्रालयले यो जाँच देशभरका स्थानीय तह अन्तर्गतका सबै स्वास्थ्य संस्थाहरुमा निशुल्क रुपमा उपलव्ध हुने जनाएको छ ।
यसैबीच काठमाडौँमा अभियानको शुभारम्भ गर्दै स्वास्थ्य मन्त्रालयका सचिव डा. रोशन पोखरेलले कसैलाई नसर्ने रोग छ कि छैन भनेर जानकारी लिनका लागि अभियान गर्न लागिएको बताए । उनले भने, ‘कसैलाई रोग छैन भने त राम्रो भइहाल्यो । सकेसम्म रोग लाग्न नदिऔँ’, ‘तर रोग लागिसकेपछि उपचार गर्नुपर्छ । समयमै पहिचान गरौँ ।’
सचिव डा. पोखरेलले एलोपेथी वा आयुर्वेद जुनसुकै माध्यमबाट भएपनि मधुमेह निको भएमा उपचार गर्नुपर्ने बताए । ‘निको हुन्छ भने त आयुर्वेदिक होस् वा एलोपेथी जुनसुकै माध्यमबाट पनि उपचार गर्न हामी खुल्ला छौँ’, उठेको प्रश्नको जवाफ दिँदै उनले भने, ‘तर एलोपेथीमा अहिलेसम्म उपचार हुँदैन नियन्त्रण मात्र हुन्छ भन्ने बुझेका छौँ ।’
नसर्ने रोग जीवनशैली परिवर्तनबाट रोकथाम गर्न सकिने सचिव डा. पाखरेलको भनाइ छ । यद्यपि जीवनशैली परिवर्तन गर्न गाह्रो हुने भन्दै सकेसम्म परिवर्तन गर्न आग्रह गर्नुभयो । ‘अरूलाई ज्ञान बाँड्न सजिलो छ, तर जीवनशैली आफूबाट परिवर्तन गर्न गाह्रो हुन्छ । तर बिस्तारै परिवर्तन गर्न जरुरी छ’, उनले भने ।
पढेलेखेकाहरूमा आफूमा रोग छैन भन्ने घमण्ड हुने गरेको र त्यो घमण्ड चिर्नलाई पनि परीक्षण गर्न आवश्यक भएको उनले बताए ।
स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा यदुचन्द्र घिमिरेले नसर्ने रोगहरूको स्क्रिनिङ सबै स्थानीय तहमा रहेका स्वास्थ्य संस्थाबाट निशुल्क रुपमा हुने बताए ।
उनले भने, ३० वर्षभन्दा माथिका सबै नागरिकको स्वास्थ्य जाँच गरिने छ । ‘स्थानीय तह अन्तर्गतका स्वास्थ्य संस्थाहरूबाट फागुन महिनाभर नसर्ने रोगको अवस्था पहिचान गर्न लक्षित उमेर समूहका व्यक्तिहरूको स्वास्थय परीक्षणका साथै स्वास्थ्य प्रवद्र्धन तथा जोखिम न्यूनीकरणका लागि बृहत् क्रियाकलापहरू सबै प्रदेश र स्थानीय तह मार्फत् सञ्चालन हुँदैछ ।’,
सम्पर्क इमेल : [email protected]