डब्लुएचओे दक्षिण पूर्वी एशिया क्षेत्रको आपतकालीन कोषमा नेपालको तर्फबाट १५ लाख रुपैयाँ सहयोग

काठमाडौँ, २८ माघ । नेपालले विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले स्थापना गरेको दक्षिण पूर्वी एशिया क्षेत्रीय आपतकालीन कोषमा १५ लाख रुपैयाँ सहयोग गरेको छ ।

यस क्षेत्रका सदस्य देशहरुलाई स्वास्थ्य आपतकालीन अवस्थाको तयारी तथा प्रतिकार्यका लागि स्थापित कोषमा नेपालले सो रकम सहयोग गरेको हो ।

डब्लुएचओ दक्षिणपूर्वी एशिया क्षेत्रका निर्देशक साइमा वाजेदले स्वास्थ्य मन्त्री प्रदीप पौडेललाई पत्र लेख्दै कोषमा नेपालको तर्फबाट भएको योगदान प्रति धन्यवाद व्यक्त गरेकी छन् । उनले पत्रमा नेपालले विभिन्न मञ्चमा क्षेत्रीय स्वास्थ्य आपतकालीन कोषको कुशलतापूर्वक नेतृत्व गरेको भन्दै प्रशंसा समेत गरिन ।

सन् २००७ ताका हिन्द महासागरमा आएको सुनामीले यस क्षेत्रका धेरै देशलाई असर पारेपछि डब्लुएचओको अगुवाईमै आपतकालीन कोष स्थापना गरिएको थियो । हालसम्म यो कोषबाट यस क्षेत्रका १० देशमा ४९ वटा आपतकालीन अवस्थाहरुका लागि ८ मिलियन अर्थात ७० करोड रुपैयाँ भन्दा बढी खर्च गरेको डब्लुएचओले जनाएको छ ।

नेपालले सन् २००८ मा कोशीमा गएको बाढी, सन् २०१५ मा गोखराको बारपाक केन्द्रविन्दु भएर गएको ठूलो भूकम्प र सन् २०२३ मा जाजरकोटमा गएको भूकम्प प्रतिकार्यका लागि सो कोषबाट सहयोग प्राप्त गरेको थियो ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *