आवासीय चिकित्सकको माग समाधान गर्न प्रधानमन्त्री ओलीले डाके आयोगको इमरजेन्सी बैठक

काठमाडौँ, २५ माघ । निर्वाह भत्ताका विषयमा आन्दोलनरत आवासीय चिकित्सकहरुको माग समाधान गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले आज चिकित्सा शिक्षा आयोगको आकस्मिक बैठक बोलाएका छन् ।

चिकित्सा शिक्षा आयोगको अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले अहिले विहान ११ बजे बालुवाटारमा आयोगको आकस्मिक बैठक बोलाएका हुन् ।

यो बैठकले आवासीय चिकित्सकहरुको निर्भाह भत्ता तथा वर्किङ आवरको विषयमा निर्णय लिने बताइएको छ ।

दुई दिन अघि मात्रै प्रधानमन्त्री ओलीसंग आन्दोलनरत आवासीय चिकित्सकका प्रतिनिधि, राष्ट्रिय चिकित्सक संघका प्रतिनिधि लगायतको टोलीले भेटेर आफ्ना मागका विषयमा प्रस्तुत गरेका थिए ।

‘राती ३ बजेसम्म छलफल भयो, यसमा प्रधानमन्त्री, अर्थमन्त्री, स्वास्थ्य मन्त्री शिक्षा मन्त्री सहित हामी प्रतिनिधिहरु थियौँ,’ एक जना चिकित्सकले भने, ‘त्यसमा आवासीय चिकित्सकको मागको विषयमा मिहिन ढंगले कुरा भएको छ । यसबारेमा ठोस निर्णय गर्न प्रधानन्त्री ज्यूले आजको बैठक बोलाउनु भएको हो ।’

दुई दिन अघिको छलफलमा प्रधानमन्त्री र आवासीय चिकित्सकहरु दुईवटा विकल्पमा सहमति नजिक पुगेका छन् । पहिलो, निजी मेडिकल कलेजमा अध्ययन्रत आवासीय चिकित्सकले पनि निशुल्क पढ्न पाउनुे तर दुई वर्ष बोण्ड गरेमा सरकारी मेडिकल अधिकृत सरह निर्वाह भत्ता पाउने, दोस्रो विकल्पमा निजी मेडिकल कलेजमा अध्ययन्रत आवासीय चिकित्सकले पनि सरकारी सरह निर्वाह भत्ता पाउने तर बोण्ड नगर्दा २३ लाख रुपैयाँ तिनुपर्ने लगायतका छन् । यस्तै सातामा ७२ घण्टा भन्दा बढी काम नलगाउने भन्ने विषयमा पनि प्रधानमन्त्री पोजेटिभ रहेका छन् ।

‘प्रधानमन्त्री एक कदम अघि बढेर यो विषयमा कन्भिन्स हुनु भएको छ । यसले आवासीय चिकित्सकहरुको मागको साथसाथै चिकित्सा शिक्षामा दुरगामी प्रभाव पार्नेछ,’ ती चिकित्सकले भने ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *