अब सुर्तीजन्य पदार्थको प्याकेटको सम्पूर्ण भाग छोपिने छ चेतावनी सन्देशसहितको घिनलाग्दो कलरको घातक चित्रले
नयाँ व्यवस्था १ भदौ २०८२ देखि कार्यान्वयनमा आउने
काठमाडौ, २३ माघ । नेपालमा अब हरेक खालको सुर्तीजन्य पदार्थको प्याकेट, बट्टा तथा र्यापर्सको सत प्रतिशत भाग चेतावनीमुलक रंगिन चित्र तथा सन्देशले ढाकिएको हुनु पर्ने छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विश्व क्यान्सर दिवसको अवसर पारेर गत सोमबार (२१ माघ)मा जारी गरेको नयाँ निर्देशिकाले यस्तो व्यवस्था गरेको हो ।
स्वास्थ्य मन्त्री प्रदीप पौडेलले गत सोमबार मन्त्री स्तरीय निर्णय गर्दै ‘सुर्तीजन्य पदार्थको बट्टा, प्याकेट,र्यापर्स पेटी तथा पार्सल प्याकेजिङमा चेतावनीमूलक सन्देश र चित्र छाप्ने तथा अंकित गर्ने निर्देशिका-२०८१’ जारी गरेका छन् । यो निर्देशिका जारी भएको १८० दिन पछि पूर्ण कार्यान्वयनमा आउने बताइएको छ ।
नयाँ निर्देशिकामा चुरोटको बट्टा प्याकेट र र्यापर्सको मुख्य भागको अगाडी र पछाडीको शत प्रतिशत भाग मध्ये ८० प्रतिशत भागमा खतराका चित्र र २० प्रतिशत भागमा चेतावनीमुलक सन्देश राख्नुपर्ने व्यवस्था गरिएको छ ।
यस्तै स्मोकलेस टोबाकोमा बीचको ६० प्रतिशत भाग रंगिन चित्र तथा माथिल्लो २० प्रतिशत र तल्लो भागको २० प्रतिशतमा चेतावनीमुलक सन्देश छाप्नुपर्ने व्यवस्था राखिएको छ ।
निर्देशिका जारी गरेपछि मन्त्री पौडेलले नसर्ने रोगको प्रमुख कारकमध्येको एक सुर्तीजन्य पदार्थको प्रयोगलाई निरुत्साहित गर्न यस्तो निर्णय गरिएको बताए । उनले भने, ‘हामी निरोगी नेपालको अभियानमा अघि बढेका छौँ, बिरामी हुँदा उपचार गर्ने राज्यको दायित्व हो । तर बिरामीको संख्या बढ्दै जाँदा सबैको निशुल्क उपचार गर्न नसकिने अवस्था पनिहुन्छ । नागरिकलाई कसरी निरोगी बनाउने तथा रोग लागेको अवस्थामा पनि कम खर्चमै उपचार सेवा कसरी दिने भन्ने मुख्य कुरा हो । सोही प्रयासको एउटा नतिजा यो निर्देशिका रहेको छ ।’
अहिलेसम्म सुर्तीजन्य पदार्थको प्याकेटमा ९० प्रतिशत भाग चेतावनीमुलक चित्र तथा सन्देश रहँदै आएको छ ।
स्वास्थ्य सचिव डा. रोशन पोखरेलले सत प्रतिशत चित्र तथा सन्देशले यसको सेवन दर घटेको विश्वका विभिन्न देशमा भएका अनुसन्धानले पुष्टि गरेको भन्दै नेपालले पनि त्यसको अनुसरण गर्दै नयाँ निर्देशिका जारी गरेको बताए । ‘यो घातक रंगिन चित्रले नयाँ पुस्ता यसमा अग्रसर हुन नसकोस र प्रयोगकर्ताहरुमा पनि छाड्ने दर बढेस भनेरै नयाँ निर्देशिका ल्याएका हौँ, आशा छ यसले पक्कै पनि राम्रो प्रभाव पार्नेछ,’ उनले भने ।
मन्त्रालयका कानून उपसचिव गोपिकृष्ण रेग्मीले सुर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमन नियमावली २०६८ को दफा २३ अनुसार अनुसार निर्देशिका बनाईएको बताए । त्यसो त सुर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमन गर्ने ऐन २०६८ ले पनि कम्तिमा पनि ७५ प्रतिशत भन्दै त्यो भन्दा बढी पनि चेतावनीमुलक चित्र तथा सन्देश छाप्नुपर्ने कानून बनाउने अधिकार मन्त्रालयलाई दिएको छ ।
सिंगापुरस्थित भाइटल स्ट्राटेजी, एशिया प्यासिफिक टोबाको कन्ट्रोल अफिसका निर्देशक डा. तारासिंह बमले सुर्तीजन्य पदार्थको प्याकेटमा १०० प्रतिशत चित्रअंकित चेतावनीमुलक सन्देश छाप्ने निर्णय गरेर विश्वव्यापी नयाँ बेन्चमार्क स्थापित गरेको बताए ।
उनले यो नयाँ व्यवस्थाले युवा र बालबालिकामा धूमपान रोक्न, सुर्तीजन्य पदार्थ प्रयोगकर्ताहरुलाई लतबाट निस्कन प्रोत्साहित गर्नुका साथै सुर्तीजन्य पदार्थको प्रयोगबाट हुने खतराहरुबारे जनचेतना जगाउने शक्तिशाली उपाय भएको बताए । उनले नयाँ निर्देशिकालाई अत्यधिक लागत प्रभावि हस्तक्षेप भन्दै जीवन बचाउने र स्वास्थ्य सेवा लागत घटाउन समेत बताए । उनले नयाँ निर्देशिका जारी गर्नका लागि मन्त्रालयमा बलियो राजनीतिक प्रतिवद्धता समेत टिप्पणी गरे ।
यता सुर्तीजन्य पदार्थ नियन्त्रण सम्बन्धी कार्यमा निरन्तर पैरवी गर्दै आएको संस्था एक्सन नेपालले नयाँ निर्देशिका जारी हुनु महत्वपूर्ण उपलव्धी हो भन्दै यसको पूर्ण कार्यान्वयनका लागि अबको ध्यान केन्द्रीत रहने बताएको छ । एक्सन नेपालका रिसर्च प्रमुख पामिर गौतमले जारी गरेको विज्ञप्तीमा भनिएको छ, ‘नेपालमा सुर्तीजन्य पदार्थ नियन्त्रण र नियमन गर्ने विषयमा कटिवद्ध यस संस्था आफ्नो उदेश्य हासिल गर्न नेपाल सरकार, राष्ट्रिय तथा अन्तराष्ट्रिय गैरसरकारी संस्थाहरु र समान बिचार भएका नागरिक समाज र व्यवसायिक संस्थाहरुसंग समन्वय र सहकार्य गर्न सधै अग्रसर रहने छ ।’
१०० प्रतिशत चेतावमुलक सन्देश तथा चित्रमा प्रयोग गरिदैछ सबैभन्दा घिनलाग्दो कलर
शत प्रतिशत भाग रंगिन चित्र तथा सन्देशले छोपिनु पर्ने नयाँ निर्देशिकामा यसपटक कलर भिन्न प्रकारको छ । संसारमै सबैभन्दा नराम्रो र घिनलाग्दो मानिने कलर (रंग) प्यान्टोन ४४८ सी तोकिएको छ । यसले प्याकेट हेर्दा नै घिनलाग्दो देखिदाँ नयाँलाई आकर्षण नहुने अधिकारीहरुको विश्वास छ । प्लेन प्याकेजमा गएका विश्वका थुप्रै देशहरुले प्यान्टोन ४४८ सी कलरको प्रयोग गर्ने गरेका छन् ।
१० वर्ष पछि फेरियो संसोधन भयो चित्र छाप्ने निर्देशिका
सुर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमन ऐन २०६८ ले उल्लेख गरेको ७५ प्रतिशत भागमा चेवानीमुलक सन्देश सहितको घातक रंगिन चित्र छाप्नुपर्ने व्यवस्थालाई २०७१ कात्तिक १३ गते तत्कालीन स्वास्थ्य मन्त्री खगराज अधिकारीले नयाँ निर्देशिका जारी गर्दै संसोधन गरी ९० प्रतिशत भागमा चेतावनीमुलक सन्देश सहितको घातक रंगिन चित्र छाप्नुपर्ने व्यवस्था राख्ने निर्णय गरेका थिए ।
त्यसबेला सुर्तीजन्य पदार्थको बट्टा, प्याकेट, ¥यापर्स, पेटी तथा पार्सल, प्याकेजिङ्गमा चेतावनीमूलक सन्देश र चित्र छाप्ने तथा अंकित गर्ने निर्देशिका, २०६८ लाई संसोधन गरि तयार गरिएको सुर्तीजन्य पदार्थका बट्टा प्याकेट, पेटी तथा पार्सल प्याकेजिङमा चेतावनीमुलक सन्देश र चित्र छाप्ने तथा अंकित गर्ने निर्देशिका- २०७१ अनुसार चित्रअंकित स्वास्थ्य सन्देश ७५ बाट बढाएर ९० प्रतिशत पुरयाएको थियो । र संसोधित सो निर्देशिका १ जेठ २०७२ बाट लागूहुने बताएको थियो ।
त्यसबीचमा परेको मुद्धाको छिनोफानो हुन साढे ८ बर्ष लाग्यो । २०७९ को भदौ दोस्रो साता सर्बोच्चले सरकारको पक्षमा फैसला आएपछि मात्रै यसको पूर्ण कार्यान्वयन भएको हो । सो कार्यान्वयनमा आएको झण्डै दुई वर्षमा नयाँ निर्देशिका जारी भएको छ ।
यस्तो छ,
‘सुर्तीजन्य पदार्थको बट्टा, प्याकेट,र्यापर्स, पेटी तथा पार्सल प्याकेजिङमा चेतावनीमूलक सन्देश र चित्र छाप्ने तथा अंकित गर्ने निर्देशिका-२०८१’
सम्पर्क इमेल : [email protected]