निरोगी नेपाल अभियानको एउटा पाटो हो एचपीभी खोप अभियान: प्रधानमन्त्री ओली
काठमाडौँ, २२ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले महिलाको पाठेघरको क्यान्सर विरुद्धको एचपीभी खोप अभियान निरोगी नेपाल अभियानको एउटा पाटो भएको बताएका छन् ।
मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले खोप अभियानको शुभारम्भका अवसरमा आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्रीले सरकारले नयाँ कामको थालनी गरेको बताए ।
‘एचपीभी खोप अभियान निरोगी नेपाल अभियानको एउटा पाटो हो । हामीले नयाँ काम थालेका छौं,’ प्रधानमन्त्रीले भने । यसले साधारण होइन् क्यान्सर जस्तो लाग्नै नदिने उनको भनाइ थियो। ‘अब खुसी र सुरक्षित भविष्यतर्फ जादैछौं,’ उनले थपे ।
प्रधानमन्त्रीले सुखमय र रोगब्याधिबाट मुक्त समाज बनाउन चाहेको उल्लेख गर्दै ६ फागुनसम्म देशव्यापी रुपमा सञ्चालन हुने खोप अभियानमा १० वर्षदेखि १४ वर्षसम्मका विद्यालय भित्र र बाहिर रहेका किशोरीहरुलाई सहभागी हुन आग्रह गरे ।
‘मानिसले रोगलाई जित्न सक्छ भन्ने मान्यतालाई यो खोपले स्थापित गर्छ,’ उनले भने, ‘मानिस निरोगी होस रोग नलागोस् भन्ने हाम्रो ध्येय हो ।’ उनले स्वस्थ जीवनका लागि स्वस्थ आहार—विहार र आराममा ध्यान दिन समेत सुझाव दिए ।
प्रधानमन्त्रीले बिरामी भएकाले सहज उपचार पाउनका लागि अस्पताल जानुपर्ने बताउँदैं आकस्मिक उपचार, प्रजनन अधिकार र ट्रमाजस्ता समस्याका लागि अनिवार्य अस्पताल आवश्यक पर्ने बताए ।
प्रधानमन्त्रीले बिफरबाट आमा गुमाएको स्मरण गर्दै अहिले विफर उन्मुलन भएको बताए । बिफरबाट मेरी आमा मर्नुभएको हो । त्यही भएर बिफरको खोप आउँदा म खोप सबैले लगाउन भनेर गाउँ—गाउँ कुद्थे,’ उनले स्मरण गरे, ‘अहिले बिफर उन्मुलन भयो । मलेरिया उन्मुलन भयो । अभियान चलायौं पोलियो उन्मुलन भयो । कोभिडले तीन पटक भेट्यो तर गाह्रो परेन ।’ उनले खोपकै कारण बाल मृत्युदर र मातृ मृत्युदर घटेको र औसत आयु बढेको बताए । ‘सबै सरकारका कार्यक्रम प्राथमिकताका कार्यक्रम हुन्,’ प्रधानमन्त्रीले थपे, ‘एचपीभी खोप अभियान विश्वको एजेन्डा हो, नेपालको मात्र होइन ।’
सो कार्यक्रममा बोल्दै स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले खोप अभियानमा २७ हजार स्वास्थ्य कार्यकर्ता र ५२ हजार स्वास्थ्य स्वयंसेविका खटिएको बताए ।
उनले देशभरका ८ हजार खोप केन्द्र स्थापना गरेर खोप अभियान अगाडि बढाइएको उल्लेख गर्दै खोप जोखिम रहित रहेको बताए । ‘खोपले स्वास्थ्यमा प्रतिकूल असर गर्दैन्,’ उनले भने ।
उनले नेपालको भविष्यलाई पाठेघरको क्यान्सर नहोस् भनेर यो अभियान चलाइएको बताए ।
अहिलेकै जसरी बिरामी बढ्दै गएमा क्षमताभन्दा बढीको उपचार सम्भव नहुने बताउँदैं मन्त्री पौडेलले निरोगी बनाउने उपाय अवलम्वन नगरे गाह्रो अवस्था सिर्जना हुनेमा जोड दिए । ‘नेपालीलाई स्वस्थ बनाउने अभियान चलाउनु आवश्यक छ,’ उनले भने ।
सम्पर्क इमेल : [email protected]