पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपीभी खोप अभियान आजबाट प्रारम्भ, के कस्तो छ तयारी ?

काठमाडौँ, २९ पुस । सरकारले पाठेघरको मुखको क्यान्सर रोकथामका लागि आज देखि देशव्यापी खोप अभियान सुरु गर्दैछ ।

अभियान अन्तर्गत विद्यालयका कक्षा ६ देखि १० सम्मका र विद्यालय बाहिर रहेका १० देखि १४ वर्ष उमेर समूहका किशोरीहरुलाई ह्युमन प्यापिलोमा भाइरस (एचपीभी) खोप दिईदैछ ।

यसको औपचारिक आरम्भ प्रधानमन्त्री केपी शर्मा ओलीले आज ११ बजे बालुवाटारस्थित शिभपुरी माध्यमिक विद्यालयबाट गर्दैछन् । यो अभियान आगामी ६ फागुनसम्म चल्नेछ ।

अभियानमा १६ लाख ८८ हजार ७६८ किशोरीलाई खोप दिने राखिएको स्वास्थ्य सेवा विभाग बाल तथा खोप शाखा प्रमुख डा अभियान गौतमले बताए ।

यो खोप अभियानका लागि ‘ग्लोबल एलायन्स फर भ्याक्सिन एण्ड इमुनाइजेसन’ (गाभी) को सहयोग रहेको छ । उसले चिनियाँ कम्पनी इनोभ्याक्सले उत्पादन गरेको सिकोलिन ब्राण्डको १७ लाख ७० हजार ४०० भाइल खोप उपलव्ध गराएको छ ।

ती खोपहरु स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखा अन्तर्गत आपूर्ति शाखाले प्रदेश तथा स्थानीय तहसम्मका खोप केन्द्रमा पुगिसकेको जनाएको छ ।

खोप कार्यक्रमका लागि जनशक्तिको परिचालन कसरी हुँदैछ ?

किशोरी लक्षित यो कार्यक्रम विद्यालय केन्द्रीत हुने छ । डा गौतमका अनुसार अभियानका लागि १८ हजार ९०० वटा विद्यालयलाई यो खोपका लागि केन्द्र तोकिएको छ । ‘विद्यालय बाहेकका स्वास्थ्य संस्थाहरुमा पनि खोप चल्छ । थप ८ हजार २०० वटा यस्ता केन्द्र तोकिएका छन्,’ उनले भने ।

डा. गौतमले खोप अभियानमा २७ हजार ८० जना स्वास्थ्यकर्मी, ५४ हजार १६० जना स्वयंसेवक, १५ हजार ६७४ जना सुपरीवेक्षक परिचालन गरिएको बताए । यस्तै उनले अभियानका लागि १७ हजार ८४३ वटा सेफ्टी बक्स प्रयोग हुने समेत जानकारी दिए ।

विभिन्न अनुसन्धानले बार्षिक करीव २ हजार नेपाली महिलाको ज्यान पाठेघरको मुखको क्यान्सरबाट जाने गरेको छ ।

एचपीभी खोप किन आवश्यक ?

पाटन अस्पतालका मेडिकल अंकोलोजिष्ट डा अरुण शाही किन आवश्यक छ भनेर प्रश्न गर्नु अघि एचपीभीबारे जान्न जरुरी रहेको बताउँछन् । उनी भन्छन्, ‘पाठेघरको मुखको क्यान्सरको मुख्य कारण ह्युमन प्यापीलोमा भाइरस (एचपीभी) लाई मानिएको छ । जुन यौन क्रियाकलापको माध्यमबाट महिला वा पुरुषमा सर्दछ । एचपीभी भाइरसहरुको समूह हो ।

यो भाईरस १७० भन्दा बढी प्रकारको हुन्छ । यो संसारभर पाइन्छ ।

यीमध्ये १४ प्रकारका एचपीभी भाईसरको संक्रमणले पाठेघरको मुखको क्यान्सर, योनी, लिंग, गुदद्धार र घाँटीको समेत क्यान्सर गराउन सक्दछ ।

एचपीभी १६ र एचपीभी १८ ले मात्रै ७१ प्रतिशत भन्दा बढी क्यान्सर गराउँछ । त्यसैले बालिकाहरुको सक्रिय यौन जीवन शुरु हुनु भन्दा अघि नै अर्थात ९ देखी १४ बर्ष उमेरको बीचमा एचपीभीको संक्रमणबाट हुने क्यान्सरबाट जोगाउन एचपीभी विरुद्धको खोप दिइनु पर्दछ भनिएको हो ।,’

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *