वीर अस्पतालले पायो ‘रिजनल फार्माकोभिलेन्स सेन्टर’को मान्यता
काठमाडौँ, २१ माघ । औषधी व्यवस्था विभागले वीर अस्पताललाई रिजनल फार्माकोभिजिलेन्स सेन्टरको मान्यता दिएको छ ।
औषधिय सतर्कता (फार्माकोभिजिलेन्स) कार्यक्रमलाई थप प्रभावकारी बनाउन भिजिफ्लो सफ्टवेरबाट आवधिक रुपमा विभागमा एडीआर रिपोर्टिङ गर्ने गरी वीरलाई रिजनल फार्माकोभिजिलेन्स सेन्टरको मान्यता दिइएको विभागले जनाएको छ ।
वीर अस्पतालका निर्देशक डा सन्तोष पौडेलले फार्माकोभिजिलेन्स सेन्टर बन्नु बिरामी, चिकित्सक र अस्पतालका लागि महत्वपूर्ण हुने बताए ।
‘अब बिरामीलाई प्रयोग भइरहेको औषधीको गुणस्तर, यसका साइड इफेक्टहरुलाई नजिकबाट हेर्न सकिने, चिकित्सकले पनि आफ्ना औषधीले काम गरेको नगरेको हेर्ने र असर देखिए तत्काल रिपोर्ट गर्न सकिन्छ,’ उनले भने ।
वीरका फार्मेसी प्रमुख मानबहादुर महराले बिरामीको लागि औषधी प्रयोग गर्दा कहिलेकाँही नराम्रो असर पनि देखिन सक्ने भन्दै यस्ता असरहरुबारे औषधी व्यवस्था विभागलाई समयमै रिपोर्टिङ गर्ने काम गर्ने बताए ।
औषधी प्रयोग गर्दा नराम्रो असर पनि हुनसक्छ । यो सेन्टरले त्यस्ता असरलाई मोनिटर गर्ने हो । कुन औषधीके कस्तो असर देखियो भनेर औषधी विभागलाई रिपोर्ट गर्ने हो । विभागले डब्लुएचओलाई गर्छ ।
वीरले सञ्चालनमा ल्याएको ड्रग इन्फरमेशन सेन्टरको टीमले यस कार्यमा सघाइरहेको समेत उनले बताए ।
औषधी व्यवस्था विभागले यसअघि नै नेपालका १९ वटा अस्पताललाई रिजनल फार्माकोभिलेन्स सेन्टर मान्यता दिईसकेको छ । वीर यो मान्यता पाउने २० औँ सेन्टर हो ।
सम्पर्क इमेल : [email protected]