आयुर्वेदिक औषधी उत्पादक कम्पनी क्लासिक हर्बलका थप उत्पादन बजारमा
काठमाडौँ, १८ माघ । आयुर्वेदिक औषधी उत्पादन गर्दै आएको कम्पनी क्लासिक हर्बल प्रोडक्ट प्रालिले आफ्ना नयाँ उत्पादन बजारमा ल्याएको छ ।
सो कम्पनीले विश्व स्वास्थ्य संगठनको असल उत्पादन अभ्यास प्रक्रियामा लैजाने तयारीका साथ ट्याब्लेट, क्याप्सुल र सिरफ फर्मका औषधीहरु बजारमा ल्याएको अध्यक्ष डा. बद्री कोइरालाले जानकारी दिए ।
कम्पनीका प्रबन्ध निर्देशक विनोद अधिकारीकाअनुसार अहिले थप गरिएका औषधीहरुमा ९ वटा ट्याव्लेट, १० वटा क्याप्सुल र ५ वटा सिरप आइटम रहेका छन् ।
औषधीको प्रभावकारिता र गुणस्तरलाई ध्यान दिएर पूर्ण परीक्षण गरी डब्लुएचओ जिएमपी मापदण्डअनुसार औषधीहरुको बजारीकरण गरिएको कम्पनीका फर्मासिष्ट सपना भण्डारीले बताइन् ।
बिहिबार नयाँ प्रोडक्टहरुको लन्चिङ औषधी व्यवस्था विभागका महानिर्देशक नारायण ढकालले गरेका थिए । उनले लन्च गरिएका प्रोडक्टहरु औषधी व्यवस्था विभागबाट स्वीकृत भएको बताउँदै आयुर्वेद औषधीको गुणस्तरमा ध्यान दिन सुझाएका थिए ।
आयुर्वेदका विज्ञ प्राडा श्याममणि अधिकारीले ठूलो र अत्याधुनिक बजार भएको भारतीय उत्पादनसँग प्रतिस्पर्धा गर्न सक्ने औषधि निर्माण गर्नु कम्पनीको चुनौती रहेको बताए । कम्पनीका चिकित्सक डा. रिसव कोइरालाले आयुर्वेदिक औषधि भनेर चिकित्सकको सिफारिस बिना पनि सेवन गर्ने गरिएको भन्दैं त्यसो नगर्न सुझाए ।
उनले जुनसुकै औषधी पनि चिकित्सकीय सल्लाहमा निश्चित मात्र सेवन गर्नुपर्ने जानकारी दिएका थिए ।
२४ वर्षअघि आयुर्वेदिक चिकित्सक स्वर्गीय डा। ऋषिराम कोइरालाले स्थापना गरेको सो कम्पनीले यसअघि चुर्ण वर्गका औषधी उत्पादन गर्दै आएको थियो ।
सम्पर्क इमेल : [email protected]